साप्ताहिक संवाददाता
नेपाल विश्व ट्वान्टी–२० एसिया छनौट सुरु हुनुअघि विजेताको स्पष्ट दावेदार थियो । नहोस् पनि किन ? त्यसमा सहभागी पाँच टिममध्ये नेपाल नै सबैभन्दा बलियो देखिन्थ्यो, कम्तीमा कागजमा । फेरि तमाम नेपाली क्रिकेटप्रेमीहरूको सपना पनि थियो यो वर्ल्ड ट्वान्टी–२० खेल्ने अर्थात् ट्वान्टी–२० विश्वकप । त्यहाँसम्म पुग्न नेपालले सबैभन्दा पहिले यही छनौट चरण पार गर्नुपर्ने थियो, त्यसपछि मात्र ग्लोबल क्वालिफायरको पालो आउँथ्यो ।
उक्त क्वालिफायरमा छनौट हुने एक मात्र विकल्प भनेकै विश्व ट्वान्टी–२० एसिया छनौट जित्नु थियो । जति बेला प्रतियोगिता सकियो, कागजमा मात्र होइन, मैदानमै पनि देखियो, नेपाल विजेता बन्न योग्य छैन । नेपाली क्रिकेट अझै विश्व क्रिकेटको माथिल्लो दर्जाबाट स्तरका आधारमा धेरै टाढा छ । विश्व त्रिकेटमा नेपालले केही गरेर देखाउने हो भने अझै प्रशस्त गृहकार्य गर्नुपर्ने हुन्छ अन्यथा नेपाली क्रिकेट अहिले जे देखियो, त्यही हो ।
अन्तिम खेलमा नेपाल सिंगापुरसँग पराजित भएपछि प्रशिक्षक उमेश पटवालले पनि माने, टिम ग्लोबल क्वालिफायरमा नपुगेकै राम्रो, किनभने नेपाल त्यसका लागि योग्य छैन । पटवालको नेतृत्वमा खेलिएको यो नै पहिलो प्रतियोगिता हो, उनले त्यसअघि ठूला–ठूला दाबी गरेका थिए, तर अहिले भने उनले पनि मानेका छन्, नेपाली क्रिकेटको स्तर त्यति पुगेको छैन, जसका आधारमा नेपालले ट्वान्टी–२० विश्वकप खेल्न सकोस् ।
नेपालको असफलतामा कप्तान पारस खड्का पनि उत्तिकै निराश देखिए । उनले भने— यो खराब प्रदर्शनको जिम्मेवारी म आफैं लिन्छु । त्यसको अर्थ उनी आफैं पनि मान्छन्, आफ्नै केही कमजोरी रह्यो भन्नेमा । मूल प्रश्न, नेपाल कहाँनेर चुक्यो त ? यसका केही ठोस कारण छन् । पहिलो कारण, ट्वान्टी–२० क्रिकेट जसरी खेल्नुपर्ने हो, नेपालले त्यसरी खेल्नै सकेको छैन् । नेपाली खेलाडीहरूमा अझै सुस्ती र अल्छीपन देखिन्छ ।
भलै नेपालमा केही फ्रेन्चाइज क्रिकेट हुन्छन्, तर पनि ट्वान्टी–२० क्रिकेटमा हुनुपर्ने आक्रमकता नेपाली टिममा छैन । ट्वान्टी–२० क्रिकेटका माथिल्लो दर्जाका खेल हेर्नुपर्छ, त्यसमा पाइने आक्रमकता अझै पनि नेपाली टिममा देखिँदैन, नेपाली खेलाडीले आफूलाई त्यसअनुरूप आफूलाई ढाल्न सकेका छैनन् । त्यसैले त नेपाली टिमका पूर्व कप्तान विनोद दासले खुलेरै भनेका छन्— नेपालको रणनीति नै राम्रो हुन सकेको छैन ।
दोस्रो ठूलो कारण हो, नेपालसँग यति ठूलो प्रतियोगिता खेल्न पर्याप्त खेलाडी छैनन् । नेपाली क्रिकेट भनेपछि जहिले पनि खास–खास खेलाडीको मात्र नाम आउँछ, जस्तो उनै पारसदेखि ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर । आलोचना पनि हुन्छ, जहिल्यै यिनै खेलाडी मात्र ? किन यिनै खेलाडीमा मात्र भर पर्नुपर्ने ? यसपटक के भैदियो भन्दा यी केही खेलाडी नहुने हो भने त नेपाली क्रिकेटका सम्बन्धमा केही सोच्न पनि सकिँदैन ।
नेपालका लागि सीधा–सीधा यिनै तीन पुराना खेलाडी मात्र चम्किए, अरूले खासै केही गर्न सकेनन् । यी तीन खेलाडी नचम्किएको भए, नेपालको प्रदर्शन अझ दयनीय हुने थियो । नेपालको मध्यक्रमको ब्याटिङ पूर्णतः असफल रह्यो । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध भएयता लगातार चर्चामा रहेका सन्दीप लामिछाने पनि सिंगापुरमा फिक्का नै रहे । बरु उनको तुलनामा सोमपाल कामीको प्रदर्शन धेरै अर्थमा प्रभावशाली रह्यो ।
तेस्रो कारण, नेपालले प्रतियोगितामै खराब सुरुवात लियो । आफ्नो पहिलो खेलमा नेपाल कतारसँग चार विकेटले पराजित भएको थियो र उक्त स्तब्धपूर्ण नतिजाले नेपाललाई लगातार पछ्याइरह्यो । त्यो खेलपछि नेपालले मलेसिया र कुवेतलाई हराए पनि सिंगापुरविरुद्ध फेरि पराजित हुनुपर्यो । उक्त खेलमा नेपालको हारको अन्तरले नै देखाउँछ, त्यो कति खस्किएको प्रदर्शन थियो भन्ने कुरा । वास्तवमै यो छनौट यस्तो प्रतियोगिता रह्यो, जसले उत्तर भन्दा पनि बढी प्रश्न छाडेर गएको छ ।