साप्ताहिक संवाददाता
नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र ‘साइनो’लाई पिजी सर्टिफिकेट प्रदान गरिएको छ । यहि साउन २४ गतेबाट रिलिजको तयारीमा रहेको यो चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट प्रदान गरेको हो ।
पिजी सर्टिफिकेट प्राप्त गरेसँगै यो चलचित्र हेर्नका लागि १६ वर्ष मुनिका दर्शकले अभिभावकको साथमा जानु पर्ने भएको छ । तर, यस चलचित्रका निर्देशक रमेश थापा भनेसबै उमेरका दर्शकले निर्धक्कका साथ चलचित्र हेर्न सक्ने बताउँछन् ।
चलचित्र साइनो मौलिक, सामाजिक कथावस्तु बोकेको शुद्ध नेपाली चलचित्र भएको निर्देशक थापाको दाबी छ । चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र साइनोमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, रेगन क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् ।
शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्र साइनोलाई ब्यांकेटस् इन्टरटेनमेन्टले नेपाल वितरणको जिम्मा लिएको छ ।