ताल छेउको साँगुरो बाटो भएको चट्टानमा गाडिएको काँटी हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ क्याराभान फिलिम सुटिङ गर्दा चौरी लडेको ठाउँ । बाटोमा घोडा दौडाएर हिँड्नेहरूसँग सोध्न मन लाग्यो ठिन्ले लडेको ठाउँ । पछि देखियो त्यो ठाउँ पनि । डोल्पा पुगिसकेपछि घुम्नैपर्ने ठाउँ अरू पनि छन् । ती हुन् शे गुम्बा, बगला भञ्ज्याङ, नुमला भन्ज्याङ र धो–तराप । बागमारा भन्ज्याङ काटेर जुम्ला पुग्ने पदमार्ग पनि छ त्यतैबाट ।
कर्णाली चर्चामै छ विगतदेखि वर्तमानसम्म । कहिले सिटामोल नपाएको चर्चा । कहिले विकट र दुर्गम भएको चर्चा । कहिले स्याउ र यार्साको चर्चा त कहिले सुन्दर तालहरूको चर्चा । तिनै सुन्दर तालहरूमध्ये डोल्पा जिल्लास्थित से फोक्सुन्डो ताल घुम्न असारको पहिलो साता तयार हुन्छन् एक हूल साहित्यिक मनहरू । आयोजक संस्था थियो— कन्सेप्ट नेपाल । यात्राका संयोजक थिए नेपालका अधिकांश जिल्ला घुमिसकेका लेखक तथा पत्रकार अमृत भादगाउँले । टिमका क्याप्टेन थिए देबेन्द्र बस्न्यात । समूहमा सरिक अन्य कवि लेखकहरू थिए : अभय श्रेष्ठ, भूपिन, गनेस पौडेल, हेमन यात्री, सागर उदास, चन्द्र काफ्ले, दीपेन्द्रसिंह थापा, सुरेन्द्र राना, कमल खत्री, विष्णु देवकोटा तथा कृष्ण नेपाली ।
सबैजना नेपालगन्ज पुगिसक्दा म भने एयरपोर्टमा प्लेनको पर्खाइमा थिएँ । ४.४५ को उडान भनिएको समय किस्तागत रुपमा धकेलिदै पुग्छ रातको नौ बजे । श्री एयरलाइन्सको एउटा प्लेन बिग्रिएकाले गडबड भएको रहेछ समय तालिका, तर यात्रुलाई दुई घण्टासम्म त मौसम खराब भन्दै ढाटिरहे त्यहाँका कर्मचारीहरूले । यात्रुले ढिलाइको रहस्य थाहा पाएपछि अनेक बहाना बनाउन थाले उनीहरू । ४ घण्टासम्म पर्खनुको पीडा छुट्टै थियो । भोलिपल्ट डोल्पाको प्लेन पनि पाइएन, समिट एयरले नौटंकी देखाइरह्यो । अब गाडी समात्नुको बिकल्प रहेन । नेपालगन्ज सुर्खेत हुँदै जाजरकोटकोटको तल्लु बगरस्थित कमल थापाको होटलमा बास बसेपछि दोस्रो दिन बिहान सबेरै सुरु भयो यात्रा । पाँच ठाउँमा झोलुङ्गे पुल तर्दै सानो भ्यानमा यात्रा गर्नु सबैका लागि नौलो अनुभव थियो ।
प्रसिद्ध शक्तिपीठ त्रिपुरा सुन्दरीको मन्दिर पर्छ बाटोमा । त्यहाँबाट आधि घण्टा भ्यानमा यात्रा गरेपछि पुगिन्छ भेरीनदी, रुपगाड र सुलीगाडको मिलन बिन्दुमा । दुईवटा काठेपुल र एउटा झोलुङ्गे पुल पार गरी करिव २० मिनेट हिडेपछि पुगिन्छ शुली गाड किनारमा रहेको फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय । ३ हजार ५ सय ५५ वर्गकिमि भूभाग ओगटेको उक्त निकुञ्ज नेपालको सबैभन्दा ठूलो निकुञ्ज हो । यो निकुन्जको घोषणा २०४० सालमा गरिएको हो । सिमसिमे पानीमा भिज्दै हिँड्दाको आनन्द छुट्टै थियो ।
लाग्थ्यो हामी कुनै छुट्टै मुलुकको यात्रामा छौं । दायाँ–बायाँ अग्ला न अग्ला बडेमानका नाङ्गा डाँडा । बीचमा सुसाइरहेको फोक्सुन्डो खोला । अगाडी हेर्दा पनि देखिन्थे टाढाटाढासम्म डरलाग्दा भीरहरू मात्र । यद्यपि बाटो भने सजिलै थियो । बाटोमा देखिन्थे यार्सा टिप्नेहरू फर्किदै गरेका । तिनीहरू यो वर्ष पीडा बोकेर फर्किरहेका थिए, कारण सोचेजस्तो यार्सा पाइएन । बाटोमा भेटिएकाहरूसँग सोध्दा सबैको एउटै उत्तर सुनिन्थ्यो— बगाय लाग्यो । स्थानीय भाषामा बगाय लाग्नु भनेको ऋण लाग्नु रहेछ ।
पाल टाँगेर एक महिनासम्म बस्छन् यार्सा टिप्नेहरू हिमालको फेदीतिर पाटनमा । १०/१२ वर्ष उमेर समूहकाहरू पनि पुग्छन् यार्सा टिप्न । बैंस नै नआई एकैचोटि बुढेसकालको गोरेटोमा तानिएजस्ता देखिन्थे त्यहाँका अधिकांश महिलाहरूका सुकेका मुहार । नेपाल बुझ्नु छ भने पुग्नुपर्छ एकपटक कर्णाली तिर । जीवनमा केही सिक्नु छ भने पुग्नु पर्छ डोल्पा र फोक्सुण्डो किनारसम्म । यो देशका सम्राट्हरूको दृष्टि कति पुग्यो दूरदराजतिर भनेर बुझ्न पुग्नुपर्छ कर्णालीतिर ।
पहिलो दिनको बास स्यान्तुमा भयो । दोस्रो दिन साइजलमा । बाटोमा बास बस्दा खान पाइन्थ्यो फापरको रोटी, आलुको तरकारी, ढिँडोजस्ता स्वादिष्ट अर्गानिक खानेकुरा । तेस्रो दिन चार घन्टा हिडेपछि देखियो फोक्सुन्डो झर्ना । अलि टाढासम्म दृष्टि याँक्दा देखिन्थ्यो रिग्म गाउँको छेवैमा सुन्दरताको ताज पहिरेको फोक्सुन्डो ताल । काञ्जिरोवा हिमालको काखमा अवस्थित फोक्सुन्डो वाइ आकारमा छ । झन्डै पाँच वर्ग किलोमिटर भूभाग ओगटेको यो ताल नेपालकै सर्वाधिक गहिरो ताल हो ।
ताल किनारमा कन्सेप्ट नेपालले ४ जना भुँइमान्छ होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी तथा सेन्दुक आइक्याल रोकायालाई जनही १० हजार नगद सहित सम्मान पत्र प्रदान गर्दा उनीहरूको मुहारमा तालको भन्दा कम चमक देखिदैनथ्यो ।
तालहरू आकाशसँगै रंग बदल्छन् । यसरी समय–समयमा रूप फेरिरहन्छ फोक्सुन्डोले पनि । वरिपरि ठूल्ठूला पहाड एउटा किनारमा स–सानो पाटनमा अवस्थित रिग्म गाउँ । पारिपट्टि तालकिनारमै देखिन्छ थासुङ छोलुङ गुम्बा, जुन ९ सय वर्ष पुरानो मानिन्छ । रमणीय रिग्म गाउँमा ८ वटा होटल छन् । फोक्सुन्डो घुम्न जानेहरू दिनभरि फोक्सुन्डोको किनारतिर घुमफिर गर्दै सुन्दर दृश्यावलोकन गरेर साँझ बास बस्छन् तिनै होटलमा ।
ताल छेउको साँगुरो बाटो भएको चट्टानमा गाडिएको काँटी हेर्दा सजिलै अनुमान लगाउन सकिन्छ क्याराभान फिलिम सुटिङ गर्दा चौरी लडेको ठाउँ । बाटोमा घोडा दौडाएर हिँड्नेहरूसँग सोध्न मन लाग्यो ठिन्ले लडेको ठाउँ । पछि देखियो त्यो ठाउँ पनि । डोल्पा पुगिसकेपछि घुम्नैपर्ने ठाउँ अरू पनि छन् । ती हुन् शे गुम्बा, बगला भञ्ज्याङ, नुमला भन्ज्याङ र धो–तराप । बागमारा भन्ज्याङ काटेर जुम्ला पुग्ने पदमार्ग पनि छ त्यतैबाट ।
यति थाहा पाएपछि पुनः घुम्न मन लागेको छ डोल्पा । फोक्सुन्डो खोला सुसाइरहन्छ, अनवरत रुपमा हतारिदै दौडिरहन्छ । ताल घुम्न गैरहेका र तालबाट फर्किरहेका यात्रुहरू खोला किनारको साँघुरो बाटोमा लम्किरहेका हुन्छन् । जानेहरू फोक्सुन्डोलाई कल्पनामा बोकिरहेका हुन्छन् भने फर्कनेहरू बोकिरहेका हुन्छन् सम्झनामा ।