साप्ताहिक संवाददाता
श्रावण २१, २०७६
कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक चलचित्र निर्माण गर्ने भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एकेडेमीले परिच्छेद सेनको निर्देशनमा ‘म’ चलचित्र निर्माण गर्ने घोषणा गरेको हो ।
यो चलचित्रमा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङ अनिल कँडेल, सन्जोग रसाइलीले शिर्ष भूमिकामा रहेर अभिनय गर्ने छन् । बालकलाकारका रूपमा उनव श्रेष्ठ र सम्पन्न ढकालले अभिनय गर्ने भएका छन् ।
प्रकाश पुरीको कथा रहेको चलचित्रको निर्देशक र मुख्य कलाकार कान्तिपुर फिल्म एकेडेमीमै अध्ययन गरेका विद्यार्थी हुन् । तेन्जिन पाल्देनले छायांकन गर्ने चलचित्रमा एउटा मात्र गीत समावेश गरिनेछ । निर्माण टिमका अनुसार कवितामाथि पनि संगीत भरिने बताइएको छ ।