राजनीतिमा  सेलिब्रेटी ग्ल्यामर

- किशोर नेपाल

श्रावण २२, २०७६

बाहिरी समाजमा समाजका हरेक पक्षमा र हरेक क्षेत्रमा प्रसिद्ध महिला तथा पुरुषहरूको संख्या निकै आकर्षक छ । अमेरिकामा त प्रत्येक मिनेटमा जन्मिन्छन् होला सेलिब्रिटी । यो अर्कै कुरा हो, हाम्रो समाजमा सेलिब्रिटी हैसियत धेरैजसो राजनीतिसँग जोडिएर काम गरेका महिलाले कमाएका छन् । केही दशकअघिसम्म, विशेष गरेर, राजनीतिमा जोडिएर राम्रो काम गर्ने, समाजमा चलेको भन्दा फरक शैलीको व्यवहार गर्ने, फरक शैलीको पोसाक लगाउने, राम्रा र सामान्य मानिसको पहुँचबाहिरको गहनाले सुसज्जित हुने महिलाको हैसियत ॅगन्यमान्य’, प्रसिद्ध वा सेलिब्रेटी मानिन्थ्यो । सांस्कृतिक हिसाबले नेपालको पहिलो सेलिब्रिटी कलाकार थिइन्– गायिका रानू देवी अधिकारी । उनको क्रेज अहिले पनि उत्तिकै छ ।

नेपाली समाजमा सामान्य मानिसले कमाउने ‘सेलिब्रिटी हैसियत’ अर्थात् व्यापक प्रसिद्धि नयाँ कुरा होइन । प्रसिद्धिको चाहना र चाहनाअनुसारको हैसियत ! यो आकांक्षा सबै समाजमा छ, बराबरी छ । नेपाली समाज मात्र यसको अपवाद होइन । बाहिरी समाजमा समाजका हरेक पक्षमा र हरेक क्षेत्रमा प्रसिद्ध महिला तथा पुरुषहरूको संख्या निकै आकर्षक छ ।

अमेरिकामा त प्रत्येक मिनेटमा जन्मिन्छन् होला सेलिब्रिटी । यो अर्कै कुरा हो, हाम्रो समाजमा सेलिब्रिटी हैसियत धेरैजसो राजनीतिसँग जोडिएर काम गरेका महिलाले कमाएका छन् । केही दशकअघिसम्म, विशेष गरेर, राजनीतिमा जोडिएर राम्रो काम गर्ने, समाजमा चलेको भन्दा फरक शैलीको व्यवहार गर्ने, फरक शैलीको पोसाक लगाउने, राम्रा र सामान्य मानिसको पहुँचबाहिरको गहनाले सुसज्जित हुने महिलाको हैसियत ‘गन्यमान्य’, प्रसिद्ध वा सेलिब्रेटी मानिन्थ्यो । सांस्कृतिक हिसाबले नेपालको पहिलो सेलिब्रिटी कलाकार थिइन्— गायिका रानू देवी अधिकारी । उनको क्रेज अहिले पनि उत्तिकै छ ।

अघिल्लो जमानाका सेलिब्रिटीहरूमा पुण्य प्रभादेवी ढुंगाना, कमल राणा, अंगुरबाबा जोशी, सुशीला थापालगायतका थुप्रै राजनीतिकर्मी थिए । उनीहरूको व्यक्तित्वमा प्रत्यक्ष देखिने समृद्धिको छटा, उनीहरूको स्वभाव र प्रस्तुति तथा राज–परिवारसँगको निकटताले उनीहरूको पहिचान सेलिब्रिटीका रूपमा हुन्थ्यो । यी सेलिब्रिटीहरू कुनै न कुनै हिसाबले सत्तासँग जोडिएकै हुन्थे । राज–दरबारसँग जसको निकटवर्ती सम्बन्ध रह्यो, ऊ सेलिब्रिटी भैहाल्यो । 

यद्यपि त्यो कालखण्डमा सेलिब्रिटी हैसियत राख्ने महिलामा राजाका पक्षमा लाग्ने मात्र थिएनन् । मंगलादेवी सिंह, नोना कोइराला, शैलजा आचार्य, साधना प्रधान, साहना प्रधानजस्ता महिलाहरू साहस र सौर्यका लागि प्रसिद्ध रहे । उनीहरूको त्यो प्रसिद्धि सबैका लागि प्रेरणादायक छ । शौर्य र साहसका हिसाबले कुरा गर्ने हो भने सम्भवतः शैलजा आचार्यको बराबरीमा कोही आउन सक्दैनन् । बंगलादेशको मुक्तियुद्ध र आफ्नै देशमा प्रजातन्त्र स्थापनाका लागि भएको हतियार बन्द आन्दोलनमा शैलजाको भूमिका खतरनाक थियो । नेपालमा स्वतन्त्रता र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि जीवन उत्सर्ग गर्न तयार शैलजा आचार्य ‘सेलिब्रिटीहरूकी सेलिब्रिटी’ थिइन् ।

पछिल्लो समयमा हाम्रो देशमा सेलिब्रिटीको परिभाषा बदलिएर अलि व्यापक भएको छ । राजनीति उदार हुँदै गएपछि त्यससँगै आर्थिक, सामाजिक एवं सांस्कृतिक गतिविधिमा पनि उदारवाद प्रतिविम्बित हुनु स्वाभाविक हो । यसै क्रममा नेपाली समाजमा व्यवसायिक सिनेमाको प्रवेश भयो । सिनेमाको प्रवेशपछि नेपालीसंसार झलमल्ल खुल्यो । प्रतिभाशाली कलाकारहरू सिनेमा निर्माणको क्षेत्रमा रंगमंगिन थाले ।

सिनेमामा निजी क्षेत्रको प्रवेशपछि सेलिब्रिटी शब्दको परिभाषा नै बदलियो । त्यसपछि सिनेमा तथा नाट्य संसारमा सफल अभिनेता–अभिनेत्री, सांस्कृतिक जीवनमा सफल गायक–गायिकाका साथै सामाजिक जीवनमा सफल समाजसेवीको गणना सेलिब्रिटीमा हुन थाल्यो । परिभाषा जतिसुकै बदलिए पनि सबैको आकर्षणको केन्द्रबिन्दु राजनीति रह्यो । त्यो भने बदलिएन । राजनीतिमा समाज परिवर्तन गर्ने जुन ताकत छ, त्यो अरू कुनै नीतिमा छैन भन्ने मानसिकताको निर्माण भयो सेलिब्रिटीहरूमा ।

नेपालका तीन जना सेलिब्रिटी अहिले चर्चामा छन् : अभिनेत्री करिश्मा मानन्धर, गायिका कोमल वली तथा अभिनेत्री रेखा थापा । केही समय पहिलेसम्म ग्ल्यामरको संसारमा प्रसिद्धि कमाएका यी तीनै जनाको चाख राजनीतिमा छ । यी तीनै जना आ–आफ्नै हिसाबले राजनीतिमा स्थापित छन् । यी तीनै जना राजनीतिलाई सामाजिक परिवर्तनको धारिलो हतियार बनाउने इरादा राख्छन् ।

राजनीतिमा अवसरको महत्त्व छ

  कोमल वली

नेपाल कम्युनिस्ट पार्टीको नेता र सांसदका रूपमा गायिका सेलिब्रिटी कोमल वली निकै प्रसन्न छिन् । भन्छिन्, ‘जनताको यति ठूलो विश्वास पाएको नेपाल कम्युनिस्ट पार्टीको आज्ञाकारी कार्यकर्ताका रूपमा म खुसी छु । अहिले म १८ घण्टा जनताको काममा खटिइरहेकी छु । बिहान सात बजे घरबाट निस्किएपछि साँझ एकैपटक नौ बजे घर छिर्छु । काठमाडौमा काम नभएका बेला सधैं जिल्लामा रहेर जनताको चाहना पूरा गरिरहेकी हुन्छु । एउटा सांसदको कर्तव्य पनि त्यही हो । होइन त ?’

दाङ जिल्लाको प्रतिनिधित्व गर्ने सांसद वली अहिले उद्योग वाणिज्य संघ, सहकारी संस्थाहरू, गाउँ तथा नगर पालिकाका गतिविधिको निरीक्षणमा लागेकी छिन् । आफ्नो जिल्लाको सबैतिर विकासले छपक्क ढाकेको देखेर उनी मख्ख परेकी छिन् । कम्युनिस्ट पार्टीको सच्चा कार्यकर्ताका रूपमा वली भन्छिन, ‘अब त दाङ जिल्लामा बाटो नगएको ठाउँ नै छैन । गाउँको विकास राम्रोसँग भएको छ । जनतालाई खान, लाउन कुनै दुःख–कष्ट छैन । म त जता हेर्छु सबैतिर त्यस्तै देख्छु । गाउँमा सबैका घर छन् । एक तलाको ढलान गरेको घर । मानिसहरू पहाडबाट उपत्यकामा झरेका छन् र आनन्दसँग बसेका छन् । जे छैन त्यो के भने किसानले मल पाएका छैनन् । बिचौलियाहरूले बोराको २४ सय पर्ने मल ४८ सयमा बेचिरहेका छन् । मूल्य नियन्त्रणमा छैन ।

कोमलको दाबी छ : उनले आफ्नो र वरपरका जिल्लाको स्थितिको राम्रो आँकलन गरेकी छिन् । उनी भन्छिन्, ‘जनता खुसी छन् । हो, गाउँमा चाहिने जति मानिस छैनन् । यो अलिकति खट्किने कुरा हो । बढीभन्दा बढी तन्नेरी विदेशमा छन् । यति हुँदाहुँदै पनि सरकारले स्वास्थ्य बिमा गरिदिने कुराले जनता खुसी छन् । वृद्धभत्ता त छँदै थियो । अहिले बेरोजगार भत्ता दिने कुराले जनतामा उत्साह थपिएको छ ।’ कोमलका कुरा असत्य होइनन् तर रित्तो गाउँमा काल पर्खेर बसेका बाबुआमाको मनमा हुने छोराछोरीको मायाको तुलनामा सरकारी सुविधा चित्त बुझाउने बाटो होइन । यस हिसाबमा कोमलले राजनीतिक भाषा बोल्न जानेकी हुन् । 

कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिइन् निर्वाचित सदस्यका हैसियतले । राप्रपा फुट्यो । उनलाई लाग्यो, ‘यो राप्रपामा लागेर कतै पुगिँदैन ।’ त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीलाई हेरिन् । उनलाई यो पार्टी राप्रपाजस्तै नेपालवादी लाग्यो । ‘केपी ओलीजस्ता लोकप्रिय नेता अध्यक्ष भएको पार्टी । आफू ‘देशका प्रति सधैं कर्मठ व्यक्ति । उनले ‘नेपालवादी’ नेकपामा लाग्नुको विकल्प देखिनन् । 

कोमलको भनाइ थियो, ‘राजनीतिमा अवसरको महत्व हुन्छ । राजनीतिमा आउने हरेक मानिसले आफ्नो भविष्य कसरी सुरक्षित हुन्छ त्यो हेर्छ । मैले पनि त्यही हेरेकी छु । पार्टी नेतृत्वबाट मेरो राम्रो मूल्यांकन हुन्छ भन्नेमा मलाई विश्वास छ । प्रधानमन्त्रीज्यूको विवेकमा मलाई विश्वास छ । उहाँलाई उपयुक्त लागे मन्त्री बन्नु ठूलो कुरा पनि होइन ।’

राजनीतिमा फेल भएकी छैन

करिश्मा मानन्धर

करिश्मालाई लाग्यो, सिनेमा त छँदैछ आफ्नो ठाउँमा । सिनेमाको पेसामा उनी जमिसकेकी छिन् । अब त उनले समाजका लागि काम गर्नुपर्छ । समाजका लागि प्रभावकारी काम गर्न राजनीतिमा लाग्नुलाई अपरिहार्य मानिन् करिश्माले । उनी डा. बाबुराम भट्टराईको राजनीतिक व्यक्तित्वबाट प्रभावित हुन थालेकी थिइन् । बाबुराम प्रधानमन्त्री भएका बेला उनले गरेका निर्णय, उनको कार्यशैली एवं विद्वताबाट प्रभावित थिइन् करिश्मा । हुन पनि बाबुराम माओवादी पार्टीभित्रका प्रभावशाली नेता थिए । 

बाबुराम बिस्तारै आफ्नो पार्टीसँग बिच्किन थाले । पार्टी अध्यक्ष प्रचण्डसँग उनको असहमति चरमचुलीमा पुग्यो । उनले माओवादी पार्टी छोडे र ‘नयाँशक्ति’ पार्टीको बीजारोपण गरे । करिश्मा बाबुरामको नयाँ शक्ति पार्टीको सदस्य बनिन् । उनलाई नयाँ शक्ति पार्टीको सिद्धान्त र शैली दुवै राम्रो लागेको थियो । डा. बाबुराम भट्टराईको व्यक्तित्वको चमत्कारिक तेजले उनका आँखा तिरमिराएका थिए । डाक्टर सा’बको बुद्धि र विद्वताले उनलाई आकर्षित गरेको थियो । दिनहरू राम्रैसँग बितिरहेका थिए । पार्टीले दिएको भूमिका बडो मनोयोगका साथ निर्वाह गर्दै थिइन् करिश्मा । उनी असन्तुष्ट थिइनन् ।

करिश्माले निम्न माध्यमिक तहसम्म मात्र पढेकी थिइन् । उनको आकांक्षा अलिकति पढ्ने र अझ सक्षम बन्ने थियो । उनले माध्यमिक शिक्षा पूरा गर्न एसईई परीक्षा दिने निर्णय गरिन । त्यो पनि नियमित स्कुल पढ्न गएर । पार्टीमा खासै काम थिएन । पार्टी ‘व्यक्ति बाबुराम’ केन्द्रित भएकाले त्यसमा अरू कसैले महत्व पाउने कुरा पनि भएन । करिश्माले नियमित अध्ययन गरेको कुरालाई पार्टीका नेताका साथै अन्य कार्यकर्ताले खासै मन पराएका थिएनन् । करिश्माले साप्ताहिकसँग भनिन्, ‘मेरो अध्ययनको चर्चा गर्दा पार्टीले मैले पार्टीबाट अध्ययन बिदा लिएर पढ्न गएको बतायो । डाक्टर साहेबले पनि त्यही भन्नुभयो । त्यसपछि मेरो चित्त दुख्यो । म पार्टीको कुनै काम बिथोलिने गरी पढ्न गएकी थिइनँ ।’

करिश्मा नयाँ शक्ति पार्टीको विलय समाजवादी वा अन्य कुनै पार्टीसँग होस् भन्ने चाहन्नथिन् । उनले बताइन्, ‘नयाँ शक्ति आफैंमा नयाँ संरचना थियो । त्यो पार्टीसँग मैले अपनत्वबोध गरेकी थिएँ । तर, पनि डाक्टर साहेबले लिनुभएको निर्णय थियो त्यो । नयाँ शक्ति पार्टी समाजवादी पार्टीमा विलयपछि मैले नयाँ पार्टीमा आफ्नो ‘पोर्टफोलियो’ को खोजी गरें । म त सिनेमाकी अभिनेत्री । मेरो त सधैंभरि सिनेमाको निर्देशकसँग आफ्नो भूमिकाको खोजी गर्ने बानी परेको छ । पार्टीमा पनि मैले आफ्नो भूमिकाको खोजी गरे भनें कुनै गल्ती गरेको त थिइनँ । आखिर आफ्नो भूमिका त सबैले खोज्छ नि, होइन र ?’

करिश्माले आफ्नो भूमिका खोजेपछि डा. भट्टराईका अनुचर र आसेपासेहरूले करिश्मामा पंचायती संस्कार कायमै रहेको आरोप लगाए । उनीहरूले करिश्मालाई ‘पदलोलुप’ भन्न समेत बाँकी राखेनन् । उनी पञ्चायतकालमा कहिल्यै कुनै गतिविधिमा लागेकी थिइनन् । त्यतिबेला उनलाई सिनेमाबाहेक अन्य विषयमा रुचि लिने फुर्सद पनि थिएन ।

करिश्माले देखेकी थिइन, पंचायती संस्कारले डा. भट्टराईलाई नै घेरेको थियो । उनी आफ्नो घर, परिवार, नाता–गोता, चर–अनुचरबाट घेरिएका थिए, तर पनि डा. बाबुरामसँग उनको अझै अपेक्षा छ । ‘अब उहाँ त धेरै पढेको, डाक्टरजस्तो मान्छे,’ किञ्चित व्यंग्यसहित उनी बताउँछिन् । करिश्मा एसईईमा उत्तीर्ण भएपछि डा. भट्टराईकी पत्नी हिसिला यमीले भनेकी थिइन्, ‘करिश्मा एसईईमा पास भए पनि राजनीतिमा फेल भइन् ।’ तर करिश्मा भन्छिन्, ‘म राजनीतिमा फेल भएकी छैन ।’

करिश्माले हालै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटिन् । प्रचण्डले करिश्माका हरेक कदममा आफ्नो साथ रहने बताएपछि उनी पुलकित भएकी छिन् । करिश्माको अहिले नै नेकपा प्रवेश गर्ने विचार भने छैन । उनी भन्छिन्, ‘अहिले त्यस्तो हतार केही छैन ।’

राजनीतिबाटै चाहेजस्तो समाज निर्माण हुन्छ

रेखा थापा

नेपाली सिनेमाकी चर्चित अभिनेत्री रेखा थापाको परिचय अलिकति अनौठो छ । सिनेमामा उनी प्रायः अभिनेताको भूमिकामा देखिन्छिन् । उनका धेरैजसो सिनेमा नारीप्रधान छन् । रेखा ‘बोल्ड’ र ‘ब्युटिफूल’ दुवै छिन् । त्यसैले उनी बोल्ड र ब्युटिफूल दुवै भूमिकामा पकड राख्छिन् । 

अभिनयको मध्यान्ह क्रस गर्न लागेकी रेखामा राजनीतिप्रति प्रचुर रुचि छ । उनको परिवारका सबै सिनियर सदस्य नेपाली कांग्रेसमा सक्रिय थिए । कांग्रेसी परिवारमा जन्मिएकी रेखाको राजनीतिक रुचि फरक छ । कटुवाल काण्डमा माओवादी पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारिए । त्यसपछि तत्कालीन एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले एमाले–कांग्रेसको संयुक्त सरकार बनाए । प्रचण्ड आफ्ना कार्यकर्ताको फौज लिएर सडकमा उत्रिए । त्यतिबेला प्रदर्शनस्थलमा प्रचण्डसँग ‘नाचेर’ उनको नेतृत्वको आन्दोलनलाई नैतिक समर्थन दिएकी थिइन् रेखाले ।

यो रेखाको राजनीतिक जीवनको पहिलो महत्वपूर्ण मोड थियो ।‘म समाजको आमूल परिवर्तन चाहने मानिस परें । माओवादीभित्र तालमेल मिल्ला भनेको मिलेन । त्यसमा पनि अलिकति धार्मिक प्रवृक्तिको व्यत्ति भएकाले अहिले म राष्ट्रिय प्रजातन्त्र पार्टीमा छु । राष्ट्रिय अध्यक्ष पशुपतिशमशेरको नेतृत्वमा छु । म पार्टीको सह–महामन्त्री छु र विदेश विभाग हेर्छु’, रेखाले बताइन । 

तर, उनी राप्रपाभित्र त्यति सन्तुष्ट छैनन् । पहिले पशुपतिशमशेरले गणतान्त्रिक नेपाललाई आत्मसात् गरेका थिए । अहिले त्यसबाट अलग हुँदैछन् । रेखालाई यो कुरा मन परेको छैन । जनताले गणतन्त्रका लागि संघर्ष गरेका छन् । पसिना बगाएका छन् । त्यसैले पनि रेखालाई कहिलेकाहीं लाग्छ, ‘लास्टमा राप्रपामा अलपत्र परिएलाजस्तो पो छ ।’

उपसंहारमा, रेखाको कुरा पनि उही हो । भन्छिन् : ‘अबको समयमा राजनीतिक कार्यकर्ता सडकमा उभिएर चिच्याएर केही हुनेवाला छैन । जनताको सत्ता स्थापित भैसकेको यो समयमा 

संसद्मा निर्वाचित भएर गएपछि मात्र ठूला निर्णय गर्न सकिन्छ । एउटै सहीको भरमा परिवर्तन हुन्छ । यस्तो अवसर हातमा आएपछि आफूले सोचेजस्तो समाज निर्माण गर्न सकिन्छ ।’

 

प्रकाशित :श्रावण २२, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्