साप्ताहिक संवाददाता
वर्षातको मौसम छ । यस्तो अवस्थामा सडकमा हिलो र पानी जम्मा हुने भएकाले गाडी वा मोटरसाइकल तथा स्कुटर आदि चलाउन त्यति सहज हुँदैन । त्यसैले सावधानीका साथ सवारी साधन चलाउनु आवश्यक हुन्छ ।
सर्भिसिङमा ध्यान
गाडी वा मोटरसाइकललाई सबैभन्दा पहिले राम्रो कन्डिसनमा राख्नुपर्छ । यसले गर्दा त्यसमा कुनै खराबी आउन पाउँदैन ।
टायरमा ध्यान
बाइक, स्कुटर वा गाडीको टायरको ग्रिप खिइएको छ भने वर्षातमा त्यो निकै खतरनाक सावित हुनसक्छ । बढीजसो सडक दुर्घटना यस्तै टायरका कारण हुने गरेका छन् । त्यस्तो स्थितिमा ब्रेक लगाउँदा पनि समस्या सृजना हुन्छ । ग्रिप नभएको टायर सडकमा बढी स्लिप गर्छ । त्यसैले त्यस्तो टायर वर्षात सुरु हुनुभन्दा पहिले नै परिवर्तन गर्नुपर्छ ।
ब्रेकमा ध्यान
वर्षातमा ब्रेकको सही प्रयोग निकै आवश्यक हुन्छ । सही तरिकाले ब्रेक लगाउन सकिएन भने दुर्घटना हुन सक्छ । वर्षातमा गाडी वा टु ह्विलर विस्तारै हाँक्नुपर्छ, कहिल्यै हतारमा ड्राइभ गर्नु हुँदैन । वर्षातमा विशेष गरी ब्रेकको जाँच नियमित गराइरहनुपर्छ ।
कन्ट्रोलमा सवारी
सवारी साधन कन्ट्रोलमा चलाउनुपर्छ । हतारमा कहिल्यै सवारी चलाउनु हुँदैन । हतारमा सवारी चलाउँदा अचानक ब्रेक लगाउनुपर्ने हुन सक्छ, जसका कारण सडक दुर्घटना हुने सम्भावना हुन्छ । अचानक ब्रेक लगाउँदा बाइक वा स्कुटर चिप्लिने डरसमेत हुन्छ ।
लाइट चेक
वर्षाका बेला सडकमा पर्याप्त लाइट चाहिन्छ । यस्तो अवस्थामा कारको हेड लाइट चेक गरेर मात्र गाडी बाहिर निकाल्नु राम्रो हुन्छ । सकिन्छ भने गाडीमा एक्स्ट्रा लाइटसमेत राख्न सकिन्छ । लाइटले कत्तिको प्रकाश दिँदैछ जाँच गर्नुपर्छ । सधैं राम्रो गुणस्तरको बल्ब लगाउनुपर्छ ।
इलेक्ट्रिक पार्ट्सको जाँच
वर्षातमा नियमितजसो ब्याट्री वा इलेक्ट्रिक पार्ट्स जाँच गरिरहनुपर्छ । किनभने वर्षाको पानी यी पार्ट्समा पस्न सक्छ । यसले यी इलेक्ट्रिक पार्ट्स खराब हुने सम्भावना हुन्छ । यतिबेला कारको विन्डशिल्ड र वाइपर्स पनि राम्रोसँग जाँच गर्नुपर्छ ।
वाइपर केयर
उज्यालो दिने हेडल्याम्पले कहिलेकाहीं धोका दिन सक्छ । त्यही समयमा वाइपरको व्लेडले सही ढंगले काम गरेन भने दिक्क बनाउँछ । सिसामा पानी नहुँदा पनि वाइपर सजिलैसँग चल्न सक्छ । वाइपर सही भयो भने अगाडिको सिसामा स्क्र्याच पनि हुँदैन ।