सुनकोसीले सुसेलेको दूधकोसीले सुन्छ
यो मनले सुसेलेको कसले सुनिदिन्छ
रूप खोज्ने आँखाहरू धेरै–धेरै आउँछन्
मन खोज्ने मायालुलाई कहाँ भेटिएला
हितैको मायालाई कहिले भेटिएला...
माथि दिइएको गीतको लाइन चलचित्र ‘कहाँ भेटिएला’ को हो ।
यो चलचित्र प्रदर्शन हुने बेलामा अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री स्वेता खड्का गहिरो प्रेम सम्बन्धमा थिए । उनिहरुले यो प्रोजेक्टपछि अर्को चलचित्रमा पनि सहकार्य गरे । निर्माण भयो, चलचित्र ‘कोहिनुर’ । चलचित्र प्रदर्शन हुनु ठिक १ महिना अघि असार २३ मा यो जोडिले रियल लाइफमै लगन गाँठो कस्यो । उनिहरु झण्डै ५ वर्षदेखि अफेयरमा थिए ।
चलचित्र चल्यो २०७१ साउन २३ मा । पहिलो दिन निकै राम्रो व्यापार गरेको चलचित्र हेर्न अर्को दिन दर्शक झन् ओइरिए । तर, साउन २४ मा अभिनेता श्रीकृष्णको दुःखद् निधन भयो ।
पत्याउनै नसकिने घटना घट्यो । एकाएक चलचित्र उद्योग स्तब्ध भयो । सयौंको संख्यामा श्रीकृष्णका सुभचिन्तकको उपस्थितीमा निधनको केहि दिनपछि दिनपछि पशुपती आर्यघाटमा श्रीकृष्णको दाहसंस्कार गरियो । दिन पछि रात र रातपछि दिन हुँदै बर्षौ बित्यो । निकै पिडापछि स्वेता विस्तारै बाहिर निस्किइन् । हँसिलो चेहरा लिएर फेरी पुरानै काममा फर्किइन् ।
५ बर्ष त बित्यो । तर, स्वेता अझै पनि ति दिन विर्सन सकेकी छैनन् । तर, पहिले जस्तो पिडा हुँदैन, सम्झना भने आइरहन्छ, स्वेताले भनिन्, ‘ति कुरा अव सकेसम्म नगरौं है !'
राइजिङ मलको ‘हिमालय जाभा’ भिडभाडले भरिभराउ । अर्को कुनै रेष्टुरेन्टमा बसेर गफ गर्ने योजना थियो । तर, अरु नजिकका रेष्टुरा समेत भरिएपछि स्वेताले जुक्ती निकालिन्, ‘गाडीमा बस्ने, मज्जाले गफ गर्दै काठमाण्डौं शहर घुम्ने ।’
दरबारमार्गदेखि हिड्यौं । स्वेता गाडी चलाइरहेकी छिन्, २०–२५ को स्पिडमा । मैले पुराना गफहरु थोरै कोट्याउने प्रयास गरें । तर, स्वेताको अनुहार बाँदल लागेजस्तो भएपछि मैले कुरा अन्तै मोडें ।
यतिका बर्ष भयो, कहिलेसम्म सिंगल जिवन बिताउने ? स्वेताले हाँस्दै भनिन्, ‘खै, विवाह मात्रै जिवनको गन्तव्य हो जस्तो लाग्दैन । जन्म, मृत्यु, विवाह हाम्रो हातमा हुँदैन ।’ स्वेतालाई विवाह र प्रेम फेक कमिटमेन्ट लाग्छ । थपिन्, ‘हिजो पनि एक्लो थिएँ, अहिले पनि एक्लो छु । विहे कहिले हुन्छ भन्ने कुरा मेरो हातमा छैन ।’ केहि समय भावनात्मक रुपमा श्रीकृष्णसँग नजिकिएको बताउने स्वेताले फेरी थपिन्, ‘विहे भैसकेपछिको कपल लाइफ कस्तो हुन्छ भन्ने जिज्ञासा समेत मेट्न नपाउँदै उहाँले छोडेर जानुभयो ।
'अहिले खुसी छु । बाँकी खुसी र पिडा के दिने ? भगवानकै हातमा छ’, स्वेतालाई लाग्छ, 'जिवनको यात्रा समुन्द्रमा बगेको पानी जस्तै लाग्छ, जुन कहिल्यै फर्किएर पहिलेको स्थानमा आउदैन ।' भनिन्, ‘यो यात्रामा कहिले को सँग छुट्टिन्छ भन्ने थाहा नहुँदोरहेछ । कोहि भेटियो भने ठिक, नभेटिएपनि ठिक ।’
कति धेरै पिडाकै कुरा गर्नु ? आर यु सिगंल अर नट ? मैले जिस्किएर सोधें । जवाफ पनि त्यस्तै किसिमको आयो । भनिन्, ‘वास्तवमा मन मिल्ने मान्छे भेटिएको छैन । विजनेश र समाजसेवामा व्यस्त भएकाले पनि हो कि ?’
धेरैले थाहा नपाएको स्वेता खड्काको अर्को पाटो हो, विजनेश । हामी अहिले स्वेता खड्काको बालुवाटारमा रहेको अर्को कफि शप नजिकै आयौं । अघिका गफहरु यहाँनिर छुटे । अहिले वालुवाटारमा रहेको हिमालय जाभा सुरु भएको छ । सुभचिन्तकहरु आइरहेका छन् । राइजिङ मलपछि स्वेताको यो दोस्रो कफि शप हो । राम्रै लगानीमा उनले यो शप खडा गरेकी हुन् ।
‘राम्रो आम्दानी पनि हुने, कसैसँग भेट्न मन लाग्यो भने आफ्नै ठाउँमा घण्टौं कुराकानी गर्न पनि पाइने’, स्वेताले भनिन् ।
लगातार हिट चलचित्र दिएकी लोकप्रिय अभिनेत्री हुन् उनी । चलचित्रको कमी छैन । भर्खरै उनले एउटा चलचित्र बिचमै छोडिन्, स्वास्थ्य अवस्था ठिक नभएकाले । उनलाई लिएर चलचित्र निर्माण गर्न खोज्नेहरुको कुनै कमी छैन । तर, उनि व्यवसायमा झन् पछि झन् ब्यस्त हुन थालेकी छिन् । धेरैले चलचित्र प्रदर्शनपछि चिने स्वेतालाई । तर, उनि चलचित्रमा आउनुअघिनै व्यवसायमा जमिसकेकी थिइन् ।
‘कहाँ भेटिएला’, ‘कोहिनुर’, ‘कान्छि’ जस्ता हिट चलचित्रकी अभिनेत्री स्वेताको विजनेश कफि शपमा मात्रै सिमित छैन । उनि इन्टेरिअर डिजाइनिङ गर्ने कम्पनी समेत खडा गरेकी छिन् । धेरै बिल्डिङका इन्टेरिअर डिजाइनिङ गरिसकेको छ उनको कम्पनीले । अझ रोचक कुरा त के रहेछ भने, स्वेता कफि शप सुरु गर्नुअघि इन्टेरिअर इन्जिनियरिङ कम्पनीमा काम गर्थिन् । ‘उक्त कम्पनीमा काम गरेपछि धेरै कुरा सिकें । यस्तै कम्पनी चलाउन सक्छु भन्ने आत्मविश्वास पलाएपछि इन्जिनियरिङ कम्पनी खालेकी हुँ’, उनले भनिन् ।
उनको उक्त कम्पनीले झण्डैं १० बर्षदेखि भवन निर्माण, इन्टेरिअर, एक्स्टेरिअर डिजाइनिङको काम गरिरहेको छ । कम्पनीले अहिलेसम्म भाटभटेनी सुपर स्टोर, हामा टावर, प्रभु, ग्राण्ड बैँक लगायतका दर्जनौं ठूला भवनको पार्टिसन तथा एक्स्टियर डिजाइन गरिसकेको छ । समाजशास्त्र र अर्थशास्त्रमा डबल ब्याचलर्स गरेकी श्वेता भन्छिन्, ‘अहिलेसम्म जति काम गरेकी छु अधिकांश काममा सफल भएकी छु ।’ उनले सिन्धुपाल्चोकमा माझी बस्ती समेत निर्माण गरिसकेकी छिन् । उनी यो अव हस्तान्तरण गर्ने तयारीमा छिन् ।
तर, स्वेतालाई आफ्नो डिसिजनमा एकपटक नराम्रोसँग ठक्कर खाएको महसुस भएको छ । के हो त्यो कुरा ? भावुक हुँदै उनले भनिन्, ‘यति छिट्टै छोड्नुहुन्छ भन्ने थाहा पाएको भए कहाँ उहाँसँग जोडिन्थे ? तर, यात्रा लामो लाग्या थियो, विहे भएको एक महिनामै छोडेर जानुभयो ।’ अब विहे नगर्ने ? उनले थपिन्, ‘हितैको मायालाई कहिले भेटिएला, कहाँ भेटिएला ?’ थपिन्, ‘भेटिए ठिक छ, नभेटिए पनि ठिकै छ ।’