गत वर्षको चैतमा संविधानविद् तथा गायक डा. भीमार्जुन आचार्यको चौथो एल्बम ‘अतीत’ सार्वजनिक गर्ने क्रममा गीतकार कालीप्रसाद रिजाल अहिलेको सांगीतिक पुस्तासँग गुनासिए । थुप्रै सदावहार गीतका यी रचनाकारले वर्तमान पुस्ताले गम्भीर गीतको भाव नबुझेको दुःखेसो पोखे । ‘दाइ, बजारमा चल्ने खालका गीत–गजल छैनन् भनेर माग्नुहुन्छ । देशलाई छुने, गम्भीर प्रकृतिका गीत कसले गाउँछ ? बल्ल आचार्य भेटें,’ गीतकार रिजालले भनेका थिए, ‘नारायणगोपालले त्यतिबेला गाएको आँखा छोपी नरोऊ भनी भन्नुपर्या छ गीत अहिले भए रेकर्ड गराउन मुस्किल पर्थ्यो ।
बजारले चल्ने गीत मात्र खोज्न थाल्यो, गम्भीर गीत बुझेन ।’ उनले अहिलेको पुस्ताले छिटो र हिट हुने किसिमको गीतको माग गरेकाले आफ्नो पुस्तालाई गीत लेख्न गाह्रो भएको खुलासासमेत गरे ।
गीतकार रिजालको बुझाइमा गीत साहित्यको एउटा अंग हो । ‘म साहित्यिक व्यक्ति भएकाले अलिकति गम्भीर खालको साहित्यिक गीत लेख्न मन पराउँछु, तर अहिलेको पुस्ता गीतमा मनोरञ्जन मात्र खोज्छ, चाहे क्षणिक होस् वा तुरुन्तै मनोरन्जन दिने खालकै किन नहोस्’, रिजाल सम्झन्छन्, ‘नारायणगोपाल जहिल्यै संगीतमा क्रान्ति ल्याउनुपर्छ भन्थे । त्यसकारण उनी गीतमा साहित्यिक शब्द प्रयोग गरिएका गम्भीर किसिमका गीत मन पराउँथे ।
उनले गाएपछि त्यो गीत सम्बन्धित गीतकारलाई सुनाउँथे । त्यो समयमा गीत रेकर्ड गराउने ठाउँ रेडियो नेपाल मात्र थियो । उतिबेला पैसा कमाउनका लागि लेख्ने–गाउने चलन थिएन, त्यसकारण पनि गीतमा स्तरीयता थियो ।’
एक समयमा गीतकार रिजाल कहाँ मनोरन्जन प्रदान गर्ने किसिमका गीत माग्न युवापुस्ताका निकै गायक–गायिका उनको घरसम्मै पुग्थे तर अहिले त्यो संख्या घट्दै गएको छ । ‘मलाई त्यस्तो किसिमको गीत लेख्नै आउँदैन । अहिले बजार विस्तारले गर्दा गम्भीर किसिमका गीत गाउने चलन हराउँदै गएको छ । बजार विस्तार भएपछि बजारको माग अनुसार गीत गाउनुपर्ने र गीत लेख्नुपर्ने चलन चलिसक्यो’, रिजाल गुनासो गर्छन्, ‘बजार केवल बौद्धिक व्यक्तिको मात्र हुँदैन । त्यो बजारमा जो–कोही हुनसक्छन् । उनीहरू तुरुन्तै सस्तोमा रमाइलो खोज्छन् । म आफूलाई तल झारेर ओठै राम्रो, गालै राम्रो किसिमका गीत लेख्दिनँ । गीतबाट एउटा गीतकारले केही नपाएपनि सन्तोष पाउनुपर्छ भन्ने मान्यता राख्छु ।’
डा. आचार्यको कार्यक्रममा गीतकार रिजालको कुरा सुनिरहेका गीतकार दिनेश अधिकारी मुसुमुसु हाँस्दै थिए । अधिकारीका अनुसार आफुले लेखेको कुन गीत कसरी हिट हुन्छ भन्न सकिँदैन । ‘गीत चल्ने–नचल्ने भनेको शब्दमा कस्तो संगीत प्रदान गरिएको छ भन्ने कुरामा भर पर्छ । मैले लेखेको गम्भीर गीतमा रोमान्टिक ट्युन राखियो भने त्यो गीत फेल खान्छ’, अधिकारी भन्छन्, ‘अहिलेको पुस्ताले गीतको मर्म भन्दा पनि संगीतमा बढी ध्यान दिन्छ । उनीहरू डान्सिङ नम्बर खोज्छन् । शब्द जस्तोसुकै भए पनि त्यसलाई डान्सिङ नम्बरमा ढाल्न चाहन्छन् । कालीदाइले भनेको कुरा सही हो । उनीहरूलाई कस्तो गीत चाहियो भनेर सोध्दा ‘चल्ने खालको चाहियो’ भन्छन् । अहिले चलेको गीत भनेको डान्सिङ गीत न हो, तर त्यसको आयुचाहिँ अलिक छोटो हुन्छ ।’
गीतकार अधिकारी वर्तमान पुस्ताका गायक–गायिकामा साहित्यिक रुचि र साहित्यिक आनन्द कम भएको बताउँछन् । ‘उनीहरूको ध्यान नै कसरी डान्सिङ नम्बरको गीत तयार पार्नेमा हुन्छ । काली दाइले लेख्नुभएको गीत ‘झरेको पात झैं भयो’ र मेरो गीत ‘यो सम्झिने मन छ’ लाई डान्सिङ नम्बर बनाइयो भने कस्तो होला, आफै सम्झनुहोस्’, दिनेश भन्छन्, ‘अहिलेको पुस्ताको ध्यान राष्ट्रिय गीत र समसामयिक विषयभन्दा पनि छिट्टै हिट हुने डान्सिङ नम्बरमा बढी छ ।’
गीतकार रिजाल र अधिकारीले भनेजस्तै स्थापित अन्य गीतकारहरू पनि नयाँ पुस्ताका संगीतकर्मीको चाहना हिट हुने मात्र रहेको बताउँछन् । नयाँपुस्तामा राष्ट्रियता र समसामयिक विषयका गीत भन्दा पनि डान्सिङ नम्बरका गीतमा बढी चासो भएको उनीहरूको ठम्याइ छ ।
गीतकार रत्नशमशेर थापा कुनै पनि गीतकारले आफ्नो रचना छिटो वा ढिलो ट्र्याकको नलेख्ने बताउँछन् । ‘मकहाँ अहिलेसम्म कुनै पनि नयाँ गायक–गायिका छिटो, छरितो किसिमको गीत चाहियो भनेर आएका छैनन् । म ट्युनमा र स्वतन्त्र किसिम गरी दुई तरिकाले गीत लेख्छु । तत्काल चाहियो भने पनि तुरुन्तै लेखिदिन्छु’, गीतकार थापा भन्छन्, ‘गीत लेख्ने सबैको आ–आफ्नै शैली हुन्छ, तर गीत फास्ट र स्लोचाहिँ ट्युनले गर्छ ।’ थापाको बुझाइमा अहिले गीत सुन्ने संस्कार भाँडिएर गएको छ । ‘मैले गीत लेख्न थालेको ६० वर्ष भयो । पछिल्लो समयमा श्रोताहरूले कमसल किसिमका गीत सुन्न थालेका छन् । मेरो बुझाईमा अहिलेको पुस्ता गीतमा सिंगो कथा सुन्न चाहँदैन । उनीहरू आफ्नो उमेरका गीत सुन्न चाहन्छन्’, थापा भन्छन् ।
गीतकार राजेन्द्र थापा गीतको लेखन छिटो र ढिलो भन्ने नहुने दाबी गर्छन् । ‘छिटो र ढिलो हिट हुने गीत भन्ने हुँदैन । अहिलेको पुस्ता र चलचित्रले हिट हुने गीत नै खोज्छन् । गीतको लेखन शैली फेरिएकाले कुन गीत हिट हुने र कुन गीत फ्लप हुने भन्ने निश्चित हुँदैन । किनभने पहिले फिलोसिफकल गीतहरू लेखिन्थे । अहिले गीत लेखन शैली फेरिएको छ’, गीतकार थापा भन्छन्, ‘पहिले–पहिले रेडियो नेपालमा विस्तारै गाइने किसिमका गीत खुबै बज्थे । त्यसलाई जनताले मन पराउँथे पनि, तर अहिलेको पुस्ता सहरिया भैसकेको छ । अहिलेको जीवन फास्ट छ । फेसन, खानपिन, मनोरञ्जन हरेक गतिविधि फास्ट भएकाले पनि गायक–गायिकाले त्यस्तै किसिमका गीत खोज्नु स्वाभाविक हो ।’
थापा समय परिवर्तनसँगै गीतकार पनि फेरिनुपर्ने धारणा राख्छन् । अहिलेको आधुनिक परिवेशमा संगीत पनि आधुनिक र प्रविधियुक्त भएकाले त्यसको गतिलाई गीतकारले समेत समात्नुपर्ने धारणा राख्छन् । ‘कपडा सिलाउने मास्टरसँग ५० वर्षअघिको डिजाइनको लुगा माग्यो उसले दिन सक्दैन, तर अहिलेको डिजाइन माग्यो भने उसले तुरुन्तै दिन सक्छ’, थापा भन्छन्, ‘अहिलको डिजाइन मन नपराउनु वा अहिलेको डिजाइनमा हिड्न नसक्नु स्रष्टाको कमजोरी हो । अहिलेको पुस्ता र प्रस्तुतीकरण परिवर्तन भएको छ भन्ने कुरा हामी गीतकारले पनि बुझ्नु आवश्यक छ ।’