साप्ताहिक संवाददाता
करिश्मा मानन्धरलाई लाग्यो, सिनेमा त छँदैछ आफ्नो ठाउँमा । सिनेमाको पेसामा उनी जमिसकेकी छिन् । अब त उनले समाजका लागि काम गर्नुपर्छ । समाजका लागि प्रभावकारी काम गर्न राजनीतिमा लाग्नुलाई अपरिहार्य मानिन् करिश्माले । उनी डा. बाबुराम भट्टराईको राजनीतिक व्यक्तित्वबाट प्रभावित हुन थालेकी थिइन् । बाबुराम प्रधानमन्त्री भएका बेला उनले गरेका निर्णय, उनको कार्यशैली एवं विद्वताबाट प्रभावित थिइन् करिश्मा । हुन पनि बाबुराम माओवादी पार्टीभित्रका प्रभावशाली नेता थिए ।
बाबुराम बिस्तारै आफ्नो पार्टीसँग बिच्किन थाले । पार्टी अध्यक्ष प्रचण्डसँग उनको असहमति चरमचुलीमा पुग्यो । उनले माओवादी पार्टी छोडे र ‘नयाँशक्ति’ पार्टीको बीजारोपण गरे । करिश्मा बाबुरामको नयाँ शक्ति पार्टीको सदस्य बनिन् । उनलाई नयाँ शक्ति पार्टीको सिद्धान्त र शैली दुवै राम्रो लागेको थियो । डा. बाबुराम भट्टराईको व्यक्तित्वको चमत्कारिक तेजले उनका आँखा तिरमिराएका थिए । डाक्टर सा’बको बुद्धि र विद्वताले उनलाई आकर्षित गरेको थियो । दिनहरू राम्रैसँग बितिरहेका थिए । पार्टीले दिएको भूमिका बडो मनोयोगका साथ निर्वाह गर्दै थिइन् करिश्मा । उनी असन्तुष्ट थिइनन् ।
करिश्माले निम्न माध्यमिक तहसम्म मात्र पढेकी थिइन् । उनको आकांक्षा अलिकति पढ्ने र अझ सक्षम बन्ने थियो । उनले माध्यमिक शिक्षा पूरा गर्न एसईई परीक्षा दिने निर्णय गरिन । त्यो पनि नियमित स्कुल पढ्न गएर । पार्टीमा खासै काम थिएन । पार्टी ‘व्यक्ति बाबुराम’ केन्द्रित भएकाले त्यसमा अरू कसैले महत्व पाउने कुरा पनि भएन । करिश्माले नियमित अध्ययन गरेको कुरालाई पार्टीका नेताका साथै अन्य कार्यकर्ताले खासै मन पराएका थिएनन् । करिश्माले साप्ताहिकसँग भनिन्, ‘मेरो अध्ययनको चर्चा गर्दा पार्टीले मैले पार्टीबाट अध्ययन बिदा लिएर पढ्न गएको बतायो । डाक्टर साहेबले पनि त्यही भन्नुभयो । त्यसपछि मेरो चित्त दुख्यो । म पार्टीको कुनै काम बिथोलिने गरी पढ्न गएकी थिइनँ ।’
करिश्मा नयाँ शक्ति पार्टीको विलय समाजवादी वा अन्य कुनै पार्टीसँग होस् भन्ने चाहन्नथिन् । उनले बताइन्, ‘नयाँ शक्ति आफैंमा नयाँ संरचना थियो । त्यो पार्टीसँग मैले अपनत्वबोध गरेकी थिएँ । तर, पनि डाक्टर साहेबले लिनुभएको निर्णय थियो त्यो । नयाँ शक्ति पार्टी समाजवादी पार्टीमा विलयपछि मैले नयाँ पार्टीमा आफ्नो ‘पोर्टफोलियो’ को खोजी गरें । म त सिनेमाकी अभिनेत्री । मेरो त सधैंभरि सिनेमाको निर्देशकसँग आफ्नो भूमिकाको खोजी गर्ने बानी परेको छ । पार्टीमा पनि मैले आफ्नो भूमिकाको खोजी गरे भनें कुनै गल्ती गरेको त थिइनँ । आखिर आफ्नो भूमिका त सबैले खोज्छ नि, होइन र ?’
करिश्माले आफ्नो भूमिका खोजेपछि डा. भट्टराईका अनुचर र आसेपासेहरूले करिश्मामा पंचायती संस्कार कायमै रहेको आरोप लगाए । उनीहरूले करिश्मालाई ‘पदलोलुप’ भन्न समेत बाँकी राखेनन् । उनी पञ्चायतकालमा कहिल्यै कुनै गतिविधिमा लागेकी थिइनन् । त्यतिबेला उनलाई सिनेमाबाहेक अन्य विषयमा रुचि लिने फुर्सद पनि थिएन । करिश्माले देखेकी थिइन, पंचायती संस्कारले डा. भट्टराईलाई नै घेरेको थियो । उनी आफ्नो घर, परिवार, नाता–गोता, चर–अनुचरबाट घेरिएका थिए, तर पनि डा. बाबुरामसँग उनको अझै अपेक्षा छ । ‘अब उहाँ त धेरै पढेको, डाक्टरजस्तो मान्छे,’ किञ्चित व्यंग्यसहित उनी बताउँछिन् । करिश्मा एसईईमा उत्तीर्ण भएपछि डा. भट्टराईकी पत्नी हिसिला यमीले भनेकी थिइन्, ‘करिश्मा एसईईमा पास भए पनि राजनीतिमा फेल भइन् ।’ तर करिश्मा भन्छिन्, ‘म राजनीतिमा फेल भएकी छैन ।’
करिश्माले हालै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटिन् । प्रचण्डले करिश्माका हरेक कदममा आफ्नो साथ रहने बताएपछि उनी पुलकित भएकी छिन् । करिश्माको अहिले नै नेकपा प्रवेश गर्ने विचार भने छैन । उनी भन्छिन्, ‘अहिले त्यस्तो हतार केही छैन ।’