यौनव्यवसायीको सेवा लिने अधिकांश पुरुष कन्डम लगाउन मान्दैनन् । कन्डम लगाएर सम्पर्क गर्दा आनन्द नआउने र लगाउन झन्झट हुने भन्दै बरु मागेको भन्दा बढी पैसा तिर्न तयार हुने तर सकभर कन्डम नलगाई सम्पर्क राख्न पाए हुन्थ्यो भन्ने चाहना पुरुषहरूमा हुन्छ । पहिले आफू र आफ्नो साथीलाई मदिरा पिउन लगाएर मात लागेपछि यौनसम्पर्क गर्ने प्रवृत्तिका कारण कन्डमको प्रयोगलाई उनीहरू अवरोधका रूपमा लिन्छन् ।
यौनव्यवसायी महिला तथा तिनका ग्राहकबीच मुख्य विवाद नै कन्डम लगाउने कि नलगाउने भन्ने विषयमा हुने यो क्षेत्रमा लागेकाहरूको अनुभव छ । यद्यपि पोखराका यौनकर्मीको व्यवहार देशका अन्य भागका यौनकर्मीहरूको तुलनामा फरक भएको सरोकारवालाहरू दाबी गर्छन् । यहाँका यौनव्यवसायी महिला बिनाकन्डम पुरुषसँग सम्पर्क गर्न मान्दैनन् । यौनव्यवसायी महिलाहरूको अधिकारका क्षेत्रमा विगत लामो समयदेखि कार्यरत पवित्र गोरेटोकी अध्यक्ष लक्ष्मीरानाभाट भन्छिन, ‘पोखराका यौनव्यवसायीहरू असुरक्षित यौनसम्पर्क राख्दैनन् । अहिले सुरक्षित यौनसम्पर्क गर्नेहरू मात्र छन् ।’
यहाँका यौनव्यवसायीहरू सुरक्षित यौनसम्पर्कका विषयमा बढी नै जानकार अनि संवेदनशील भएकाले उनीहरू बिनाकन्डम यौनसम्पर्क गर्न मान्दैनन्, त्यसैले पनि पछिल्ला वर्षमा असुरक्षित यौनसम्पर्कका कारण महिलाले भोग्नुपर्ने पीडासमेत कम भएको लक्ष्मीको अनुभव छ ।
पोखरा घुम्न र मनोरन्जनका लागि पुग्ने पर्यटकहरू आफैं पनि सुरक्षित यौनसम्पर्कका विषयमा जानकार हुने र सम्झाएपछि कुरा बुझ्ने भएर पनि यसमा सहयोग मिलेको यौनव्यवसायी महिलाको यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत जागृति महिला महासंघकी पोखरा अध्यक्ष सुनिता अधिकारी बताउँछिन् । पोखरामा करिव ३ हजार जति यौनव्यवसायी महिला छन् । उनीहरूमध्ये ५० प्रतिशत जति छिमेकी जिल्लाहरू म्याग्दी, बाग्लुड, पर्वत, स्याङ्जा, तनहुँ आदिबाट आएका छन् भने ५० प्रतिशत कास्कीकै छन् । त्यसमा पनि ग्रामीण क्षेत्रका बढी छन् ।
एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको अध्ययनअनुसार नेपालमा ८६ प्रतिशत यौनकर्मी महिलाले यौनसम्पर्कका बेला कन्डम प्रयोग गर्ने गरेका छन्, तर पोखरामा भने यो ९५ प्रतिशतभन्दा माथि रहेको यस क्षेत्रमा कार्यरत संस्थाका अधिकारीहरूको दाबी छ । एचआईभी, यौनरोग, गर्भपतनजस्ता स्वास्थ्य समस्या न्यूनिकरण गर्ने दिशामा यसलाई सकारात्मक मान्नुपर्छ । लक्ष्मी भन्छिन्, ‘अपवादबाहेक यहाँका सबै यौनकर्मी सुरक्षित यौनसम्पर्कका विषयमा जानकार छन् र त्यसलाई व्यवहारमा समेत प्रयोग गर्छन् ।’
तथ्यांकहरू भन्छन्— नेपालमा करिब ३० हजार यौनव्यवसायी महिला छन् । उनीहरूका नियमित ग्राहकको संख्या त्यसको दोब्बर छ । यौन व्यवसायमा लागेका महिलामध्ये २३ प्रतिशत २० वर्ष कम उमेरका छन् भने ४० प्रतिशत २० देखि २९ वर्षका छन् । बाँकी ३५ प्रतिशत ३० वर्ष कटेका छन् । यो व्यवसायमा लागेकाहरूमध्ये ४० प्रतिशतले मात्र प्रारम्भिक शिक्षा लिएका छन् ।
नेपाल परिवार नियोजन संघ, स्वास्थ्य निर्देशनालय, पिएसआई, आईपास, जागृति महिला महासंघ, गोरेटो जस्ता संस्थाहरूले बेला बेलामा आयोजना गर्ने चेतना एवं सेवामूलक कार्यक्रमहरूले पनि यौनव्यवसायी महिलामाझ सुरक्षित यौनसर्म्कका लागि कन्डम उत्तम विकल्प हो भन्ने चेतना विस्तार हो । यसले एकातिर सुरक्षित यौनसम्पर्कका कारण अनिश्चित गर्भाधारण भएर पटक–पटक गर्भपतन गराउनुपर्ने बाध्यता हटेको छ भने अर्कातिर एचआईभी संक्रमण हुने चिन्ता पनि घटेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय चिकित्सक डा. भवानी शर्मा भन्छन्— ‘सुरक्षित यौनसम्पर्कले मात्र महिलालाई थुप्रै यौन तथा प्रजननसम्बन्धी समस्याबाट जोगाउन सक्छ ।’
नेपाल परिवार नियोजन संघ कास्की शाखाका प्रमुख यमनाथ पौडेल संघले बेलाबेला सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यका विषयमा दिइने तालिम एवं स्वास्थ्य शिविरका कारण पनि पोखराका यौन व्यवसायीमा सुरक्षित यौन सम्बन्धका विषयमा गहिरो जानकारी भएको दाबी गर्छन् । संघले उनीहरूका लागि बेला–बेलामा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी प्रशिक्षण एवं आवश्यक पर्ने स्थानहरूमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको पौडेल बताउँछन् । घुम्न र मनोरन्जनका लागि पोखरा पुग्ने पर्यटकहरूलाई यौनआनन्द पनि चाहिन्छ । विशेष गरी भारतबाट आउने तथा नेपालका अन्य भागबाट बिदा मनाउन जाने कतिपय आन्तरिक पर्यटकहरूको चाहना त्यस्तो पाइन्छ । पोखरामा देशका अन्य भागमा भन्दा यौनलाई सहज रुपमा लिइने भएकाले पनि यौनकर्मीहरूलाई यो व्यवसाय सञ्चालन गर्न केही सहज छ ।
राज्यले यौन व्यवसायलाई कानुनी मान्यता दिएका छैन, तर पोखरामा अघोषित रूपमा यो व्यवसाय सञ्चालन भैरहेकै छ । यसमा यहाँका होटल व्यवसायीहरूको पनि ठूलो सहयोग छ । यौन व्यवसाय नहुने हो भने पोखरा आउने पर्यटकको संख्या घट्ने र त्यसको प्रत्यक्ष असर होटल व्यवसायमा पनि पर्ने कुरा राम्रोसँग बुझेका यहाँका कतिपय होटल व्यवसायीले त्यस्ता व्यवसायीलाई कुनै रोकतोक गर्ने गरेका छैनन् ।
यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा कार्यरत पवित्रा थापा भन्छिन, ‘होटल सञ्चालकहरूलाई पैसा संग मतलब हुन्छ । को–को आए–गएसँग मतलब हुँदैन । त्यसैले यहाँ अलि सहज छ ।’ पोखराका केही होटलमा अघोषित रूपमा यौन व्यवसाय चलिरहेको छ । देशका अन्य भागमा प्रहरी प्रशासनले बेला बेलामा छापा हान्ने, होटलमा भेटिएका जोडीहरूलाई पक्रने, सार्वजिनक मुद्दा हाल्ने गैरकानुनी काम गर्दै आए पनि पोखरामा यस्ता घटना विरलै हुन्छन् । यहाँको प्रहरी प्रशासनले पनि यौनपर्यटनको महत्त्व बुझेर काम गरिरहेको पवित्राको बुझाइ छ । पोखरामा छाडा रुपमा यौन व्यवसयाय नभएकाले प्रहरीलाई पनि सहज भएको पवित्रा बताउँछिन् ।
पोखराको प्राकृतिक सौन्दर्यका अतिरिक्त यहाँको यौन व्यवसाय पनि पर्यटक लोभ्याउने अर्को माध्यम हो । पोखराका सयौं होटलमा कुनै न कुनै रुपमा यौन व्यवसाय हुन्छ । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुडले पोखरालाई सेक्स सिटीका रुपमा विकास गर्नुपर्ने बताएपछि त्यसको पक्ष र विपक्षमा विभिन्न किसिमका प्रतिक्रिया देखा परे । मुख्यमन्त्रीले यो कुरा बिनाआधार बोलेका थिएनन् । पवित्रा भन्छिन, ‘मुख्यमन्त्रीले यथार्थ बोलेका हुन्, तर समाजका सबैले त्यसलाई पचाउन सकेनन् ।’
असुरक्षित यौनसम्पर्कका कारण अधिकांश महिलामा स्वास्थ्य समस्या सिर्जना हुने भएकाले सुरक्षित यौनसम्पर्कका लागि कन्डमको प्रयोग सबैभन्दा सुरक्षित र कम साइड इफेक्ट हुने विधि हो भन्ने कुराको चेतना बिस्तार गराउनुपर्ने आवश्यकता अझै रहेको डा. गिरधारी शर्मा बताउँछन् । असुरक्षित यौनसम्पर्कले दुवैलाई पछुतोबाहेक अरु केही हुँदैन । अहिले युवायुवतीहरूले गर्भपतनलाई परिवार नियोजनको साधनको विकल्पका रूपमा लिन थालेको अवस्था भने चिन्ताको बिषय भएको उनको भनाइ छ ।
सुरक्षित गर्भपतन सेवा छदैछ भन्दै कहिलेकाहीं विनाकन्डम यौनसम्पर्क राख्ने प्रवृतिले पटक–पटक गर्भपतन गराउनु पर्ने अवस्था र त्यसले महिलाको प्रजनन स्वास्थ्य नै बर्बाद हुने स्थितिको अन्त्य गर्न परिवार नियोजन सेवा चेतना र सेवा बिस्तार अझ राम्रोसँग हुनुपर्ने डा. शर्माको सुझाव छ । यौन व्यवसायमा आई रहेका नयाँ युवतीहरूलाई सुरक्षित यौनसम्पर्कका विषयमा चेतनशील बनाउनु जरुरी छ । त्यसका लागि यौन तथा प्रजनन स्वास्थ्यका क्षेक्रमा कार्यरत सरोकारवाला निकायहरूले लगानी र सत्रियता दुवै बढाउनुपर्ने आवश्यकता छ ।
हरेक दिन संसारभर ६ करोडभन्दा बढी मानिसले इन्टरनेटमा निःशुल्क पोर्नसाइट हेर्छन्, तीमध्ये दुईतिहाइले कार्यालयको कम्प्युटरमै त्यस्ता सामग्री हेरेको पाइएको छ ।
सयमा ९० जना बेलायती महिलाले जीवनमा एक न एकपटक पोर्न सामग्री हेरेका छन् ।
४० प्रतिशत महिला पुरुषको तुलनामा महिलाकै नांगो शरीर हेर्न रुचाउँछन् ।
३० प्रतिशत मानिस केटी–केटीबीचको समलिंगी यौनव्यवहार प्रदर्शित पोर्न सामग्री हेर्न रुचाउँछन् ।
पोर्न सामग्री हेर्नेहरूको संख्या जाडो महिनामा ह्वात्तै बढ्छ । अमेरिकामा गरिएको एक अध्ययनअनुसार अनलार्ईन पोर्नोग्राफीको दर जाडो तथा ग्रीष्मयाममा अन्य मौसमको तुलनामा निकै बढी हुन्छ ।
बेलायतमा गरिएको अध्ययनअनुसार पुरुषहरू होटलको कोठामा पुग्नेबित्तिकै त्यहाँको टेलिभिजनमा पोर्न च्यानल छ कि छैन भनेर जाँच गर्छन् ।
दसौं हजार अस्ट्रेलियन हरेक दिन ५ घण्टा पोर्न चलचित्र हेर्न खर्च गर्छन् ।