साप्ताहिक संवाददाता
यथार्थपरक सामाजिक घटना समेटिएको चलचित्र ‘काँचुली’ पनि यसै साता प्रदर्शनमा आएको छ । बिजी बर्मा फिल्मस्को ब्यानरमा कला राई प्रस्तुतकर्ता रहेको यो चलचित्रमा शंकर अधिकारी घायलको लेखन तथा निर्देशन छ । निर्देशक अधिकारीका अनुसार चलचित्रमा एक्सनसँगै सन्देश पनि छ । यो चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रविन श्री, सुबास गजुरेल, शर्मिला शर्मा, दीप कुलुङ, राजन श्रेष्ठ, अस्मी थापा, अन्जना ज्योति तथा गोबिन्द लामाले अभिनय गरेका छन् ।
यस्तै, प्रेमकथात्मक चलचित्र ‘रे’ पनि यसै साता रिलिज भएको छ । चलचित्र वृत्तमा ‘राते काइँला’का रूपमा परिचित अभिनेता सुनिल थापालाई डनका रूपमा प्रस्तुत गरिएको यो चलचित्रमा दर्शकले अभिनेता दिवस धिताल तथा अभिनेत्री सुजाता थापाको रोमान्स हेर्न पाउनेछन् । चलचित्र निर्देशक दिनेश पौडेलका अनुसार यो चलचित्रले एक्सनसँगै सामाजिक प्रेमकथा प्रस्तुत गर्नेछ । राजेन्द्र त्रिपाठीले निर्माण गरेको चलचित्र रेमा पूर्णिमा लामा, क्रान्ति रसाईली, रक्षा गुरागाई, अभिषेक जोशी आदिको अभिनय छ ।