साप्ताहिक संवाददाता
नेपालमा बर्सेनि चलचित्र र गैरचलचित्रसँग सम्बन्धित झन्डै एक दर्जन एवार्ड वितरण हुन्छन् । स्वदेश वा विदेशमा हुने यी एवार्डका आयोजकहरूले आफ्नो एवार्ड पारदर्शी, निष्पक्ष र धाँधलीरहित हुने दाबी गर्दै आएका छन् । यद्यपि एवार्ड समारोहपछि एवार्डमाथि हुने आलोचना र समीक्षामा ती आयोजकहरू मौन नै रहन्छन् ।
गत साता राजधानीमा टेलिभिजन, अनलाइन तथा प्रिन्ट मिडियामा पत्रकारिता गरिरहेका २१ जना पत्रकारको एक समूहले ‘नेफा’ शीर्षकको एवार्डको घोषणा गर्यो । चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड तथा काठमाडौं महानगरपालिकाले सहकार्य गर्ने यो एवार्डको लागत झन्डै दुई करोड हुने अनुमान गरिएको छ ।
आयोजक संस्थाका प्रमुख समीर बलामी कार्यविधिसहितको एवार्ड आयोजना गर्न लागेकाले एवार्डमा धाँधली, विवाद नआउनेमा आफूहरू ढुक्क रहेको बताउँछन् । ‘हामी सम्भवतः नेपालमै पहिलो पटक कार्यविधिसहितको एवार्ड गर्दैछौं । कार्यविधिअनुसार काम गर्न हामीले १९ वटा उपसमिति फनि बनाएका छौं । यो कार्यक्रममा दर्शकसँगै सरकारी निकायका व्यत्तिहरूको पनि उल्लेख्य उपस्थिति हुनेछ ।’
बलामीका अनुसार दर्शकले पाँच विधामा आफूलाई मनपरेका कलाकार तथा चलचित्र छनौट गर्न पाउनेछन् । समाचार लेखिरहने पत्रकार आयोजक समूहमा भएकाले पनि एवार्ड निष्पक्ष हुनेमा आफूहरू दृढ रहेको समिरको भनाई छ ।
आयोजक समितिका सदस्य सामीप्यराज तिमल्सेना नेपालमा हुने एवार्डलाई नेपाली पत्रकार तथा सञ्चारकर्मीले आलोचना तथा समर्थन गरिरहेको वर्तमान अवस्थामा त्यो गल्ती सुधार्ने अवसरका रूपमा ‘नेफा एवार्ड’ को आयोजना गर्न लागेको कुरा बताउँछन् । ‘नेपालका एवार्डमा योग्य चलचित्र, कलाकारको ठाउँमा आयोजकले भनसुनकै आधारमा आफूखुसी एवार्ड दिएको हामीले देख्दै र भोग्दै आएका छौं । हामी आफैं आयोजक भएकाले यो एवार्डमा निर्णयको सम्पूर्ण अधिकार जुरीलाई दिएका छौं’, सामीप्य भन्छन्, ‘उहाँहरूले सही निर्णय लिनुहुन्छ भन्नेमा आशावादी छौं । सही निर्णय लिन सक्नुभएन भने त्यसको भागीदार पनि उहाँहरू नै हुनुपर्नेछ । मेरो बुझाइमा यस्तो एवार्डको आयोजना गर्नु भनेको आगोको भुंग्रामा हात हाल्नु जस्तै हो । त्यसकारण पनि हामी निष्पक्ष, पारदर्शी एवं धाँधलीरहित एवार्ड गर्न प्रतिबद्ध छौं ।’
भविष्यमा स्वदेश र विदेशमा समेत एवार्ड गर्ने योजना बनाएका आयोजकहरूले १४ वटा विधामा निर्णायकहरूका आधारमा र नेपाली चलचित्रप्रति समर्पित एक स्रष्टा, सर्जक वा चलचित्रकर्मीलाई आयोजकको निर्णयबाट ‘लाइफटाइम एचिभमेन्ट एवार्ड’ प्रदान गर्ने बताएका छन् । यो एवार्डको हरेक ट्रफीमा ३५ तोलादेखि र बढीमा ५० तोलासम्म चाँदी तथा लाइफ टाइम एचिभमेन्ट एवार्डमा १ तोला सुन र नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहने बताइएको छ ।
एवार्डमा पपुलरतर्फ चलचित्र, अभिनेता–अभिनेत्रीका साथै गायक–गायिका छन् । यस्तै उत्कृष्ट एवार्डतर्फ चलचित्र, निर्देशक, अभिनेता, अभिनेतृ, नवनिर्देशक, नवअभिनेता, नवअभिनेत्री, सहअभिनेता, सम्पादक, ध्वनि डिजाइन, पटकथा, छायाँकार, संगीतकार तथा आदिवासी जनजाति चलचित्र रहनेछन् । एवार्डको निर्णायकमा निर्माता तथा निर्देशक आकाश अधिकारी, निर्देशक तथा संचारकर्मी फूलमान बल, छायाँकार विष्णु कल्पित, कलाकार सरिता लामिछाने एवं निर्देशक तथा कलाकार अनुप बराल छन् । कामना गरौं— यो एवार्ड पनि हात्ती आयो, हात्ती आयो फुस्सा नहोस् !