साप्ताहिक संवाददाता
गायन तथा मोडलिङमा सक्रिय छन्– दुर्गेश थापा । उनले केही दिन अघि सार्वजनिक गरेको तीज गीत हामी पनि नाच्नुपर्छ बीच–बीचमाले यतिबेला चर्चा पाइरहेको छ । यो गीतमा थापाकै शब्द, संगीत, स्वर तथा अभिनय छ । गायनका साथै मोडलिङमा समेत व्यस्त थापासँग साप्ताहिककर्मी महेश तिमल्सिनाको जम्काभेट :
हिजोआज कतातिर व्यस्त हुनुहुन्छ ?
गायन, मोडलिङका साथै स्टेज कार्यक्रम तिरै व्यस्त छु ।
हामी पनि नाच्नुपर्छ तीज गीत हिट भैरहेको छ, यतिबेला कस्तो प्रतिक्रिया आइरहेको छ ?
यो मौलिक गीत हो । त्यसलाई अलि–अलि तोडमोड गरेर बाजाहरूमात्र परिवर्तन गरेको हुँ । त्यसैले धेरैजसोले तीज ‘रकिङ सङ’ बनाएर फरक काम गर्नुभएछ भन्नुभएको छ । जे होस् देश–विदेशबाट राम्रै प्रतिक्रिया आइरहेको छ ।
तीज गीतलाई दुर्गेशले रक बनायो भन्ने आरोप पनि त छ नि ?
सधैं मादल र मुरलीमा मात्र कति नाच्नु ? अलिकति फरक गर्नुपर्यो भनेर नयाँ स्वाद दिने प्रयास गरेको हुँ । यसमा मैले मौलिक शब्दहरू नै राखेको छु अलिकति बाजामात्र परिवर्तन भएको हो । अब यस्ता कुरामा आरोप लगाउने त शत्रुहरूले हो । अहिले यो आरोप पनि मेरो रिस गर्नेहरूले नै लगाएका हुन् । आफूले नयाँ काम गर्दै जाने हो । मैले अरू भन्दा फरक काम गरेँ र त बजारमा राम्रो छाप पार्न सकें ! यदि मैले नराम्रो काम गरेको थिएँ भने यो गीत नचल्नु पर्ने थियो नि ।
यो गीत यति धेरै हिट होला भन्ने लागेको थियो ?
मेरा धेरैजसो गीत अलि फरक नै हुन्छन् । त्यसैले राम्रो हुन्छ भन्ने त लागेको थियो । तैपनि यो गीत सार्वजनिक गर्नुभन्दा पहिले केही विवाद आउला कि भन्ने सोचेको थिएँ, तैपनि सबैबाट राम्रो प्रतिक्रिया पाइरहेको छु ।
यसअघि तपाईंले तीज गीत गाउनुभएको छैन, यसपालि चाहिँ कसरी तीज गीत गाउने सोंच आयो ?
तीज गीतमा सधैं मुरली र मादलमात्र बजिरहेको हुन्छ । यसपालि चाहिँ अरूको भन्दा अलि फरक खालको तीज गीत बनाउँछु भन्ने सोंच थियो । त्यही अनुसार एरेन्ज गरें, शब्द लेखें, अनि रक पारामा गाएँ ।
गीत तयार पार्न कति समय लाग्यो ?
मैले यो गीतको शब्द आधा घन्टामै लेखेको हुँ भने समग्र गीत तयार हुन एक साता लागेको थियो ।
यो गीतको भिडियो कहाँ छायांकन गरिएको हो ?
चोभारमा ।
लगानी कति भयो ?
डेढ लाख जति भयो होला ।
आफ्नै युट्युब च्यानलबाट अपलोड गर्नुभएको छ डलर त राम्रै झर्या होला नि ?
गीत राम्रै गैरहेको छ । डलर पनि राम्रै झर्या होला तर, कति झर्यो हेर्न पाएको छैन ।
खासमा तीज गीत त गायिकाहरूले नै गाएको राम्रो हो नि होइन ?
समय परिवर्तनसँगै अहिले गायकहरूले पनि तीज गीत गाइरहेका छन् । यो सामान्य भैसकेको छ ।
गायनका साथै मोडलिङमा पनि व्यस्त हुनुहुन्छ, समय व्यवस्थापन कसरी गर्नुहुन्छ ?
एकताका म मोडलिङमा निकै व्यस्त थिएँ, तर अहिले गीत छनोट गरेरमात्र अभिनय गर्छु । मलाई यतिबेला क्वान्टिटीभन्दा पनि क्वालिटीको आवश्यकता छ । त्यसैले समय व्यवस्थापन गर्न त्यति गाह्रो छैन ।
ह्यान्डसम हुनुहुन्छ, प्रेम प्रस्ताव त खुब आउला नि ?
मन पराउनेहरू हुनुहुन्छ, तर प्रेम प्रस्ताव राख्ने र स्वीकार गर्ने बेला भैसकेको छैन जस्तो लाग्छ । मेरा केही गोप्य कुरा छन् । ती कुरा पूरा भएपछि मात्र प्रेम सम्बन्धमा बस्छु, अहिले त म सिंगल छु ।
कतिपयले त दुर्गेश प्ले ब्वाइ हो भन्छन् नि त ?
म धेरै मानिसहरूसँग काम गर्छु । नयाँ–नयाँ युवतीहरूलाई म्युजिक इन्डस्ट्रीमा ल्याइरहेको हुन्छु । त्यसैले पनि होला यस्ता कुरा आएको । अब हामी नेपालीहरूको स्वभाव नै यस्तै छ । कुनै एउटी मोडलसँग केही म्युजिक भिडियोमा सँगै काम गर्ने बित्तिकै आरोप त लगाइहाल्छन् । यो कुरा कसले कसरी सोंच्छ भन्नेमा पनि भर पर्छ ।
विवाह गर्ने बेला भयो जस्तो लाग्दैन ?
मेरा केही काम पूरा गर्न बाँकी छन् । ती पूरा भैसकेपछि मात्र विवाहका बारेमा सोच्ने छु ।