साप्ताहिक संवाददाता
श्रावण २४, २०७६
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अहिले धमाधम नयाँ–नयाँ नियुक्ति गरिरहेको छ, आफूले दिएको विज्ञापनमा परेको निवेदनका आधारमा । यसै क्रममा एन्फाको प्राविधिक निर्देशकमा नियुक्त भएका छन्— अस्ट्रेलियाका ग्यारी फिलिप्स । उनलाई एन्फाले एक वर्षका लागि नियुक्त गरेको हो ।
प्राविधिक निर्देशकका लागि उनले मात्र निवेदन दिएका थिए । अब प्रश्न उठ्छ, को हुन त यी फिलिप्स ? उनी ५६ वर्षीय अस्ट्रेलियाली पूर्व खेलाडी हुन्, मिडफिल्डबाट खेल्ने । उनले अस्ट्रेलियामा साना–ठूला धेरै क्लब सम्हालेका छन्, प्रशिक्षकका रूपमा । फिलिप्स कुनै देशको फुटबलसँग जोडिएको भने यो पहिलो अवसर हो ।