साप्ताहिक संवाददाता
रंगमञ्चको अभिनयबाट उदाएका अभिनेता बुद्धि तामाङ अहिले चलचित्र अभिनयमा व्यस्त छन् । ‘साँघुरो’बाट चलचित्र अभिनयमा ‘डेब्यु’ गरेका बुद्धिले दुई दर्जनभन्दा बढी चलचत्रिमा अभिनय गरिसकेका छन् । हाल चलचित्र ‘छ माया छपक्कै’को काममा व्यस्त बुद्धि अभिनीत चलचित्र ‘रातो गलबन्दी’ प्रदर्शन भैसकेको छ । यो चलचित्रमा बुद्धिसँगै अभिनेता कोशिस क्षेत्री तथा केकी अधिकारी प्रमुख भूमिकामा छन् । बुद्धिले केकीसँग ‘घामपानी’, ‘कोहलपुर एक्सप्रेस’, ‘न यता न उता’ तथा ‘छ माया छपक्कै’मा अभिनय गरिसकेका छन् । साप्ताहिकको यसपटकको ब्याकबाइट्समा अभिनेता बुद्धिले अभिनेत्री केकी अधिकारीका राम्रा र सुधार्नुपर्ने पक्षका बारेमा खुलेर कुरा गरेका छन् :
सकारात्मक पक्ष
अभिनयमा अब्बल
केकीजी अभिनयमा निकै गम्भीर भएर काम गर्नुहुन्छ । उहाँ सोचेर–बुझेर मात्र काम गर्ने कलाकार हो । कामप्रतिको उहाँको इमान्दारिता पनि प्रशंसनीय छ ।
सरल बोलीचाली
उहाँको बोली सरल र मीठो लाग्छ । व्यक्तिगत हिसाबले पनि उहाँ सजिलैसँग घुलमिल हुनुहुन्छ । उहाँको जिस्किने र बोल्ने बानी पनि नम्र किसिमको छ । उहाँ टिममा काम गर्नसजिलो कलाकार हो ।
व्यवहारमा असल
उहाँ व्यवहारिक हिसाबले पनि असल कलाकार हो । अहिलेसम्म जति चलचित्रमा उहाँसँग काम गरें कुनै पनि चलचित्रमा नराम्रो व्यवहार पाइनँ । व्यवहारिक हिसाबले कसैलाई पनि सानो–ठूलो मान्नुहुन्न । उहाँकै चलचित्रमा काम गर्दा स्पटब्वाइदेखि निर्देशकसम्म सबैप्रति समान व्यवहार गरेको पाएँ ।
समय पालक
उहाँलाई म समयपालकका रूपमा लिन्छु । अहिलेसम्म सँगै काम गर्दा उहाँ जहिल्यै समयमै आउनुहुन्छ । कहिले पनि ढिलो आएको र ढिलो काम गरेको देखिनँ ।
सुधार्नुपर्ने बानी
दुब्लाउँदा राम्रो
हुन त उहाँ अहिले पनि उत्तिकै सुन्दर हुनुहुन्छ, अतिकति स्लिम हुनुभयो भने सुनमा सुगन्ध थपिन्थ्यो ।
स्टाइलमा सुधार
अहिलेको पुस्ताका अभिनेत्रीहरू निकै स्टाइलिस देखिन्छन् । उहाँले पनि आफूलाई स्टाइलिस बनाउँदै लानुपर्छ ।
नृत्य सिक्नुपर्यो
हुन त उहाँ यसमा कमजोर हुनुहुन्छ भन्न खोजेको होइन, तर सबै प्रकारका नृत्यमा पारंगत हुनुभयो भने उहाँकै करियरलाई फाइदा हुने थियो ।
छनौटमा ध्यान दिने कि ?
चलचित्रको अभिनेत्री तथा निर्मात्री नै भैसकेकी कलाकार, म्युजिक भिडियोमा पनि उक्तिकै सत्रिय देख्छु । म्युजिक भिडियोमा अभिनय गर्ने क्रममा चाहिं कोसंग अभिनय गर्दैछु, कस्तो गीतमा गर्दैछु भन्ने कुरामा ध्यान पुर्याए अझ राम्रो हुन्छ ।