रमेशराज भट्टराई
रमेशराज भट्टराई र मेरो भेट २०५८ सालमा भएको हो । त्यतिबेलादेखि नै उहाँ मेरो एकदमै मिल्ने साथी हुनुहुन्छ । अहिले हामी एउटै घरमा बस्छौं । हामीबीच सांगीतिक हिसाबले प्रशस्त कुराकानीका साथै दुःख–सुख साटासाट हुने भएकाले हामी दाजुभाइजस्ता पनि छौं ।
सूर्य रेग्मी
मेरो साथी सूर्य रेग्मी पहिले सांगीतिक क्षेत्रमै हुनुहुन्थ्यो । उहाँ अहिले आफ्नै व्यवसायमा लाग्नुभएको छ । उहाँ मलाई हरेक कुरामा सल्लाह दिनुहुन्छ । म पनि कुनै नयाँ काम उहाँसँग सोधेर मात्र गर्छु । त्यसैले मैले उहाँलाई आफ्नो सल्लाहकार नै मानेको छु ।
मन्जु पौडेल
गायिका मन्जु पौडेलसँग मेरो संगत भएको २०६१ सालदेखि हो । उहाँको उद्घोषण र गायन कला मलाई निकै मनपर्छ । हामी दिदीभाइ जस्ता छौं । मन्जु दिदीसँग भेटेपछि मेरी कान्छी दिदीको न्यास्रो मेटिन्छ । उहाँ पनि मलाई आफ्नै भाइ मान्नुहुन्छ । हामीबीच तँ–तँ र म–म चल्छ । हामी एउटै टोलमा बस्ने भएकाले भेटघाट पनि भैरहन्छ ।
दीपक खड्का
दीपक खड्का र म सांगीतिक क्षेत्रमा समकालीन साथी हौं । हामी थुप्रै दोहोरी गीत प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा प्रस्तुत भएका छौं । उहाँको मन सहयोगी छ, कसैलाई नाइँ भन्न सक्नुहुन्न, एकदमै सरल हुनुहुन्छ । यिनै गुणका कारण उहाँ मेरो मिल्ने साथी बन्नुभएको हो ।
रेशमलाल मरासिनी
नाताले उहाँ मेरो काका पर्नुहुन्छ, तर उमेरले भाइ हुनुहुन्छ । उहाँ हाल कोरियामा हुनुहुन्छ । मैले सुरुसुरुमा गीत निकाल्न लाग्दा पहिले उहाँलाई सुनाएर मात्र रेकर्डङ गराउँथें । भाका बनाउँदा पनि दुई जना सँगै बसेर बनाइन्थ्यो । काठमाडौं आएपछि हामी एउटै कोठामा बस्थ्यौं । संघर्षका दिनमा मैले हिम्मत हारें भने पनि उहाँले ढाडस दिनुहुन्थ्यो । कुनै अप्ठ्यारो पर्यो भने सहयोग गर्नुहुन्छ ।