साप्ताहिक संवाददाता
नेपाल कम्युनिस्ट पार्टीको नेता र सांसदका रूपमा गायिका सेलिब्रिटी कोमल वली निकै प्रसन्न छिन् । भन्छिन्, ‘जनताको यति ठूलो विश्वास पाएको नेपाल कम्युनिस्ट पार्टीको आज्ञाकारी कार्यकर्ताका रूपमा म खुसी छु । अहिले म १८ घण्टा जनताको काममा खटिइरहेकी छु । बिहान सात बजे घरबाट निस्किएपछि साँझ एकैपटक नौ बजे घर छिर्छु । काठमाडौमा काम नभएका बेला सधैं जिल्लामा रहेर जनताको चाहना पूरा गरिरहेकी हुन्छु । एउटा सांसदको कर्तव्य पनि त्यही हो । होइन त ?’
दाङ जिल्लाको प्रतिनिधित्व गर्ने सांसद वली अहिले उद्योग वाणिज्य संघ, सहकारी संस्थाहरू, गाउँ तथा नगर पालिकाका गतिविधिको निरीक्षणमा लागेकी छिन् ।
आफ्नो जिल्लाको सबैतिर विकासले छपक्क ढाकेको देखेर उनी मख्ख परेकी छिन् । कम्युनिस्ट पार्टीको सच्चा कार्यकर्ताका रूपमा वली भन्छिन, ‘अब त दाङ जिल्लामा बाटो नगएको ठाउँ नै छैन । गाउँको विकास राम्रोसँग भएको छ । जनतालाई खान, लाउन कुनै दुःख–कष्ट छैन । म त जता हेर्छु सबैतिर त्यस्तै देख्छु । गाउँमा सबैका घर छन् । एक तलाको ढलान गरेको घर । मानिसहरू पहाडबाट उपत्यकामा झरेका छन् र आनन्दसँग बसेका छन् । जे छैन त्यो के भने किसानले मल पाएका छैनन् । बिचौलियाहरूले बोराको २४ सय पर्ने मल ४८ सयमा बेचिरहेका छन् । मूल्य नियन्त्रणमा छैन ।
कोमलको दाबी छ : उनले आफ्नो र वरपरका जिल्लाको स्थितिको राम्रो आँकलन गरेकी छिन् । उनी भन्छिन्, ‘जनता खुसी छन् । हो, गाउँमा चाहिने जति मानिस छैनन् । यो अलिकति खट्किने कुरा हो । बढीभन्दा बढी तन्नेरी विदेशमा छन् । यति हुँदाहुँदै पनि सरकारले स्वास्थ्य बिमा गरिदिने कुराले जनता खुसी छन् । वृद्धभत्ता त छँदै थियो । अहिले बेरोजगार भत्ता दिने कुराले जनतामा उत्साह थपिएको छ ।’ कोमलका कुरा असत्य होइनन् तर रित्तो गाउँमा काल पर्खेर बसेका बाबुआमाको मनमा हुने छोराछोरीको मायाको तुलनामा सरकारी सुविधा चित्त बुझाउने बाटो होइन । यस हिसाबमा कोमलले राजनीतिक भाषा बोल्न जानेकी हुन् ।
कोमल वली राष्ट्रिय प्रजातन्त्र पार्टीमा थिइन् निर्वाचित सदस्यका हैसियतले । राप्रपा फुट्यो । उनलाई लाग्यो, ‘यो राप्रपामा लागेर कतै पुगिँदैन ।’ त्यसपछि उनले नेपाल कम्युनिस्ट पार्टीलाई हेरिन् । उनलाई यो पार्टी राप्रपाजस्तै नेपालवादी लाग्यो । ‘केपी ओलीजस्ता लोकप्रिय नेता अध्यक्ष भएको पार्टी । आफू ‘देशका प्रति सधैं कर्मठ व्यक्ति । उनले ‘नेपालवादी’ नेकपामा लाग्नुको विकल्प देखिनन् ।
कोमलको भनाइ थियो, ‘राजनीतिमा अवसरको महत्व हुन्छ । राजनीतिमा आउने हरेक मानिसले आफ्नो भविष्य कसरी सुरक्षित हुन्छ त्यो हेर्छ । मैले पनि त्यही हेरेकी छु । पार्टी नेतृत्वबाट मेरो राम्रो मूल्यांकन हुन्छ भन्नेमा मलाई विश्वास छ । प्रधानमन्त्रीज्यूको विवेकमा मलाई विश्वास छ । उहाँलाई उपयुक्त लागे मन्त्री बन्नु ठूलो कुरा पनि होइन ।’