साप्ताहिक संवाददाता
मेरो यो प्रेम पत्र... गायक अनिल सिंहको अत्यन्त लोकप्रिय गीत हो । गायक सिंहलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने थुप्रै गीतमध्येको यो गीत यतिबेला पुनः चर्चामा छ । आफ्नै शब्द, संगीत तथा स्वरको गीतको बजार व्यवस्थापन गर्ने अधिकार गायक सिंहले वर्षौंअघि म्युजिक डटकमलाई सुम्पिएका थिए ।
अहिले आएर गायक सिंहले उक्त गीतलाई आफ्नो यूट्युबमा अपलोड गरेपछि म्युजिक नेपालको यूट्युब च्यानलले उक्त गीतविरुद्ध ‘क्लेम’ गरेको छ । म्युजिक नेपालले उसको अधिकारमै नभएको आफ्नो गीतमाथि कपिराइट क्लेम गरेपछि गायक सिंह आक्रोशित भएका छन् । ‘यथार्थमा मेरो आक्रोश म्युजिक डटकमविरुद्ध हो, गायक सिंह भन्छन्— ‘वर्षौं अघि मैले म्युजिक डटकमलाई मात्र उक्त गीतको अधिकार सुम्पिएको थिएँ ।
अहिले आएर म्युजिक नेपालले मेरै बौद्धिक सम्पत्ति विरुद्ध युट्यूबमा उजुरी गरेपछि म चिन्तित भएको हुँ ।’ गायक सिंहले म्युजिक डटकमसँगको सम्झौता पत्रसहित यसैसाता प्रहरीमा उजुरी दिने बताएका छन् । यससम्बन्धमा म्युजिक डटकमका सञ्चालक राजेश वंशलले भने आफू कलाकारहरूको हकहितका लागि कटिबद्ध रहेको बताएका छन् ।