साप्ताहिक संवाददाता
फरक क्षमता भएका व्यक्तिहरूको जीवन पीडादायक हुन्छ । अर्काको सहारा बिना हिँड्डुल गर्न नसक्ने, खान–लगाउन पनि नसक्ने यस्ता व्यक्तिहरू ह्वीलचेयरमा बसेरै दिन काटिरहेका हुन्छन् । यद्यपि परिवारको स्याहारसुसार र कसैको प्रेम प्राप्त भयो भने यस्ता व्यक्तिहरू सजिलै हिड्न पनि सक्छन् । काडमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत साउन १५ गतेदेखि मञ्चन भैरहेको नाटक ‘वैजयन्ती’मा यस्तै फरक क्षमताकी मैना नामकी पात्रको कथा समेटिएको छ ।
नाटकको सुरु मैनालाई राजकीय शैलीको मेचमा राखेर अन्य कलाकारले स्टेजमा ल्याउँछन् । मुहारमा उज्यालो सहित पुतली जस्तै लुक्समा देखिने मैनाको मुहारमा जति उज्यालो पाइन्छ, उनको पृष्ठभूमि त्यत्तिकै मर्मस्पर्शी छ । मैनाको उपचारमा संलग्न डा. अनन्तले मैनाको पृष्ठभूमि बताउँदै गएपछि मैनाका अनेक पीडा र रहस्य दर्शकले क्रमैसँग थाहा पाउँदै जान्छन् ।
आठ वर्षको उमेरमा शारीरिक रूपमा अशक्त भए मैना त्यसयता घरमै हृवीलचेयरको सहारामा बस्छिन् । उनकी बहिनी र आमाले उनलाई जति माया गरे पनि उनका बुबा मैनालाई देखि सहन्नन् । मदिरापान गरेर घरमा आउने उनका बुबाको आमासँग जहिल्यै झगडा पर्छ । त्यो झगडाको कारण मैना नै हुन्छिन् । आफूलाई गाउँको नेता मान्ने मैनाका बुबा चुनावमा भोट माग्दा पनि आफूले छोरी मैनाको स्याहार सुसार गरिरहेको भन्दै मतदातालाई ढाँट्छन् । उनका बुबाले मैनासँग कतिसम्म नराम्रो व्यवहार गर्छन् भने छोरीलाई जुस र खानामा समेत विष मिसाएर मार्नेसम्म प्रयास गर्छन् ।
डाक्टर अनन्तको करिअरको पहिलो बिरामी नै मैना हुन्छिन् । मैनाले अनन्तलाई मनपराउँछिन् तर अनन्तको मन भने मैनाकी बहिनी तारातिर जान्छ । अनन्तलाई भित्रभित्रै मनपराउन थालेकी मैनाले अनन्तको उपचार सफल तुल्याउनकै लागि बिस्तारै हिँड्ने प्रयत्न गर्छिन् । उता अनन्तको भने तारासँग अफेयर सुरु भैसकेको हुन्छ । मैना आफू नेपाली चलचित्रका अभिनेत्रीहरू, करिश्मा मानन्धर, प्रियंका कार्की, रेखा थापा जस्तै चिनिने बन्न हिँड्ने प्रयास गर्न थाल्छिन् । उनलाई यो काममा उनकी साथी शमीले सहयोग गर्छिन् । हिँड्ने प्रयासका क्रममा मामा पर्ने एक पाक्रले मैनाको अशत्तताको फाइदा उठाउँदै बलात्कारको प्रयास समेत गर्छन् । यो नाटकको अन्त्यतिर मैनाको उदाहरण दिँदै डा. अनन्तले उनलाई ‘वैजयन्ती’सँग तुलना गर्छन् ।
यो नाटकमा अभिनय गर्ने सबै कलाकारको अभिनय राम्रो छ । मैनाको चरित्रमा देखिएकी सौभाग्य सिंह(शोभा)को काम प्रशंसनीय छ । काम तारिफयोग्य भए पनि उमेरले अलिक पाको देखिने सौभाग्यको स्थानमा कम उमेरकी कलाकारलाई अभिनय गराउन सकेको भए नाटक अझ प्रभावकारी हुनसक्थ्यो । तै पनि सौभाग्यको अभिनयले उनको पाको उमेरलाई बिर्साइदिन्छ । प्रमुख पात्र सौभाग्यबाहेक मैनाकी आमा बसुन्धरा अर्थात् मन्जु श्रेष्ठ, अनन्त अर्थात्् सुदिपजंग कार्की, मैनाकी बहिनी अर्थात् चाँदनी शाही, मैनाकी बुवा खड्ग अर्थात् विजय नेपाल, मैनाकी साथी शमी अर्थात् सञ्जु कार्की तथा मैनाका मामा इन्द्र अर्थात् हेमन तन्डुकारले आफ्नो चरित्रप्रति न्याय गरेका छन् । सौभाग्यकै कथाको यो नाटकको परिकल्पना एवं निर्देशन आशान्त शर्माले गरेका हुन् । यो नाटक साउन २७ गतेसम्म मञ्चन हुने बताइएको छ ।