साप्ताहिक संवाददाता
श्रावण २५, २०७६
निर्माता सन्तोष सेनले ‘प्रेमगीत–३’ मार्फत निर्देशनको विधामा सक्रिय हुने घोषणा गरेको धेरै भयो । अहिले यो चलचित्र प्रि–प्रोडक्सनमा छ । सेनलाई निर्देशक छेतेन गुरुङले निर्देशनमा सहयोग गर्नेछन् । अघिल्लो साता निर्माता माधव वाग्लेले निर्देशनका रूपमा अघि बढ्ने घोषणा गरे । वाग्लेसँग चलचित्र लुटदेखि चंगाचेटसम्म निर्माण गरेको अनुभव छ ।
अहिले आएर सफल निर्माता सुवास गिरीले पनि निर्देशनमा हात हाल्ने घोषणा गरेका छन् । गिरी खगेन्द्र लामिछानेको मुख्य भूमिका रहने चलचित्र ‘नन्दुलाल’ मार्फत निर्देशनमा पदार्पण गर्न लागेका हुन् । गिरी कृ, नोभेम्बर रेन, पर्व आदि चलचित्रका निर्माता हुन् । गिरीले अभिनेता लामिछानेकै आग्रहमा निर्देशनमा हात हाल्ने सोच बनाएका छन् ।