राजनीति भनेको राष्ट्रसुधारको मूल ट्याङ्ढी हो । जब ट्याङ्ढी नै फोहोर हुन्छ भने त्यसबाट आउने पानी प्रदूषित हुनु अस्वाभाविक होइन । त्यो पानी भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, भौतिक योजना, विकास आदि सबै हुन् । तसर्थ सबैभन्दा पहिलो कुरा ट्याङ्ढी बनाउन गतिलो सामग्री चय गर्नुपर्यो । दूषित, नक्कली र जाली सामग्री प्रयोग गरेपछि ट्याङ्ढी गतिलो हुँदैन र त्यसबाट आउने पानीले रोग फैलाएरै छाड्छ ।
चित्र १ :
धनबहादुर ठेकेदार हुन् । ढुङ्गाखानी र त्रसर उद्योग छ उनको । राजनीतिमा खासै चासो नराख्ने धनबहादुरलाई स्थानीय चुनावका क्रममा प्रतिष्ठित पार्टीबाट वडाध्यक्ष उठिदिन अनुरोध आयो । उनले उम्मेदवारी दिए र अत्यधिक बहुमतले जिते जबकि उनका प्रतिद्वन्द्वी बीसौँ वर्ष समाज र राजनीति जानेका निम्न आयका व्यक्ति थिए । धनबहादुरले आफ्ना धेरैजसो मतदातालाई चिन्दैनन् र उनीहरूको वस्तुस्थितिका बारेमा खासै जानकार पनि छैनन् । धनबहादुरलाई थाहा छ अब विकास गर्नुपर्छ । त्यसैले उनले आफ्नो सम्पत्तिमा एउटा डोजर थपे । यता गाउँपालिकाबाट बजेट निकासा गर्ने उता गाउँका पाखाबारी आफ्नै डोजरले भासेर बाटो बनाउने । प्रक्रिया सबै मिलेको छ, बेरोजगार भान्जोको नाममा क्रसर र कम्पनी दर्ता छ । घुमाई–फिराई टेन्डर त्यसैलाई पर्छ । यसरी आफ्नो वडामा उनले विकासको खोलो नै बगाइदिएका छन् ।
चित्र २ :
शंकर एक प्रगतिशील वामपन्थी नेता हुन् । १० वर्षे जनयुद्धमा होमिएका शंकरले अध्ययन र व्यवसायिक सीप आदि केही पनि हासिल गर्ने मौका पाएनन् तर पार्टीका शीर्षस्थ नेताहरूसँग बाक्लै संगत गर्ने अवसर प्राप्त गरे । त्यो चिनजानले उनलाई संसदीय चुनावमा फाइदै भयो । उनले सजिलै टिकट पाए । पार्टी एकीकरणको लाभ उठाउँदै उनले प्रतिपक्षीलाई भारी अन्तरले जिते । एक–दुई पटकको प्रयास फेल खाए पनि उनी पूर्ण विश्वस्त छन् कि मन्त्रीमण्डलमा सानो हेरफेर हुनासाथ उनी मन्त्री बन्ने प्राथमिकतामा छन् । भरसक फुलमन्त्री, नभए राज्यमन्त्री त पक्का ।
चित्र ३ :
एउटा नगरपालिकामा दुई जुझारु उम्मेदवारबीच मेयर पदका लागि स्पर्धा हुने भयो । शिशिर र अमर दुवै शिक्षित छन् र पार्टी राजनीतिमा अब्बल पनि । शिशिरले ग्राभेल बाटोले छोएको चार रोपनी फाँट नै बेचेर चुनावमा खर्च गरे । अमरको जायजेथा पर्याप्त नभए पनि अमेरिका बस्ने उनका सहोदर भाइले अभियान नै चलाएर चाहिँदो पैसा पठाइदिए । नपुगे अझै पठाउने तर कुनै कैफियत नराख्न भाइले अमरलाई जानकारीसमेत गराए । शिशिरले आर्थिक चलखेलमा आफू कमजोर हुने देखेपछि बैठक गरेर सम्पूर्ण पार्टी सदस्यबाट कम्तीमा ५ सय र व्यापारीहरूबाट १० हजार सहयोगको उर्जी जारी गरे ।
दुवै पक्षका कार्यकर्ता झोलाभरि नोटका बिटा लोड गरेर गाउँ–सहर छिरे । बिहान घरदैलो अभियान हुन्थ्यो भने बेलुकी अवस्था हेरेर बैठक कोठा र भट्टिमा प्रलोभन, पैसा, रक्सी र सितनको बदलामा भोटको याचना गरिन्थ्यो । दुवै पक्षले धम्कीको साटो नम्र तालले पिठो मुछेजसरी मतदातालाई ललाइफकाइ भोट मागे । चुनावको तीन दिनअघिदेखि दुवै पक्षले मासु भात र रक्सीको निःशुल्क मेस नै सञ्चालन गरे । अन्ततः शिशिरले झिनो अन्तरले निर्वाचन जिते । डलरले काम गरेन, स्वदेशी पैसाले जित्यो । अब शिशिरको प्राथमिकता भनेको निश्चय नै गुमेको सम्पत्ति जोड्नु र ऋण लिएका व्यापारीहरूको रकम फिर्ता गर्नु हो । बहकाउमा ५० लाखको खेत सकेर बुढेसकालमा दुःख पाउने रहर छैन उनलाई ।
भित्री रूपमा बरु ५० होइन १ करोड पर्ने थप सम्पत्ति जोडेर मह काढ्नेले हात चाट्छ भन्ने उखानलाई चरितार्थ पार्नेछन् उनले । साथै आफूलाई गुन लगाउने शुभेच्छुकहरूलाई हरहालतमा गुन फर्काउने संकल्प पनि एकातर्फ छँदैछ । सुरुकै दिनमा नगरपालिकाका पुराना स्टाफहरूसँग छलफल गरेर मुख्य मुख्य शाखा, प्रशासन अधिकृत र लेखा अधिकृतसँग मिलेर उनी बढी प्रतिशत आफूलाई आउने डिलमा पुरानै च्यानलमा दुरुस्तै फिट हुन्छन् । ठेकेदार तथा बिचौलियाहरूसँग त उनको बेग्लै हिसाब छ । उनले घूस, भ्रष्टाचार र कमिसनतन्त्रको जालो तोड्नुको साटो आफैं त्यसको हिस्सेदार बनेर सशक्त र संगठित बनाउँदै लगे । विधिवत् हुने कामलाई पनि आज जनताले चुनावताका खाएको मासुभातको मूल्य मोटो रकम घुस दिएर तिर्नुपरिरहेको छ ।
माथिका तीनवटा दृष्टान्त काल्पनिक भए पनि नेपालको परिप्रेक्ष्यमा यथार्थ दृश्य पनि हो यो । अपवादलाई छोडेर राजनीतिको खम्बा मूलतः पैसा र पहुँचमै उठाइएको छ । राजनीति भनेको राष्ट्रसुधारको मूल ट्याङ्की हो । जब ट्याङ्की नै फोहोर हुन्छ भने त्यसबाट आउने पानी प्रदूषित हुनु अस्वाभाविक होइन । त्यो पानी भनेको शिक्षा, स्वास्थ्य, सुरक्षा, कृषि, भौतिक योजना, विकास आदि सबै हुन् । तसर्थ सबैभन्दा पहिलो कुरा ट्याङ्की बनाउन गतिलो सामग्री चय गर्नुपर्यो । दूषित, नक्कली र जाली सामग्री प्रयोग गरेपछि ट्याङ्की गतिलो हुँदैन र त्यसबाट आउने पानीले रोग फैलाएरै छाड्छ ।