साप्ताहिक संवाददाता
मंगोलियामा हुने एसिया प्यासिफिक रोबोट कन्टेस्ट–२०१९ मा भाग लिन दुई नेपाली रोबोट त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । मेसेन्जर–१ तथा मेसेन्जर–२ नाम दिइएका ती रोबोट पुल्चोक इन्जिनियरिङ क्याम्पस रोबोटिक्स क्लबका विद्यार्थीहरूले निर्माण गरेका हुन् । नेपालले सन् २००१ देखि यो प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।
आगामी अगस्ट २५ मा हुने प्रतियोगितामा नेपालका तर्फबाट यी दुई रोबोटले भाग लिनेछन् । पुल्चोक क्याम्पसको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स तेस्रो वर्षमा अध्ययनरत १९ जना विद्यार्थीको समूहले एक वर्ष लगाएर यो रोबोट तयार पारेका हुन् । समीप श्रेष्ठ, डेनिस खतिवडा, निश्चल नेपाल, नवीन नेपाली, प्रशान्त भट्ट, रिषभमणि शर्मा आदिको समूहले दुईवटा रोबोट बनाएको क्लबका शिशिर पन्तले बताए । ती दुईमध्ये एक स्वचालित र अर्को म्यानुअल रोबोट हो । उक्त रोबोट बनाउन चार लाख खर्च लागेको क्लबले जनाएको छ ।
उक्त प्रतियोगितामा नेपालसहित चीन, भारत, जापान, भियतनामलगायतका १८ देशको सहभागिता रहनेछ । तयारी अवस्थामा रहेका नेपालका दुई रोबोट मंगोलियाको स्वीकृतिपछि त्यसतर्फ लाग्ने पन्तले जानकारी दिए । गत साउन ६ गते देखि नै दुवै रोबोटलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । रोबोट निर्माण टोली भने भदौ ४ मा मात्र मंगोलिया पुग्ने क्लबले जनाएको छ ।