साप्ताहिक संवाददाता
अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो आगामी चलचित्र ‘छ माया छपक्कै’ को प्रदर्शन मिति केही साता अघि सारे । निर्देशक विकास आचार्यले पनि आफ्नो चलचित्र ‘हजार जुनी सम्म’ को प्रदर्शन मिति एक साता अघि सारे । गत वैशाखमा चलचित्र दाल भात तरकारीले आफ्नो प्रदर्शन मिति दुई साता पछाडि सारेको थियो । नेपाली चलचित्रहरू पूर्व निर्धारित मितिभन्दा एक–दुई साता अघि–पछि प्रदर्शन हुनुको पछाडि बलिउड तथा हलिउडका ठूला ब्यानरका चलचित्रलाई कारक मानिएको छ ।
यो वर्ष दसैं अघि प्रदर्शन हुने अधिकांश नेपाली चलचित्रको प्रदर्शन मिति तल–माथि भैरहेका छन् । कारण उही हो, एउटै मितिमा प्रदर्शन हुने विदेशी चलचित्र । हलिउडको एभेञ्जरसँग जुध्नुपर्ने डरले दाल भात तरकारीको प्रदर्शन मिति सरेको थियो । स्टुडेन्ट अफ द इयर–२ संग डराएर चलचित्र जात्रै जात्रा पनि एक सातापछि धकेलिएको थियो ।
साउन ३० गते बलिउडको चलचित्र साहो आउने निश्चित हुँदा हजार जुनी सम्मको प्रदर्शन मिति भदौको पहिलो हप्ता पुगेको थियो, तर साहो नै भदौ १३ मा प्रदर्शन हुने भएपछि हजार जुनी सम्म साउनमै प्रदर्शन हुने भयो । साहो भदौ १३ मा आउने भएपछि त्यही दिन प्रदर्शन हुन तयार कबड्डी कबड्डी कबड्डीको प्रदर्शन मिति तीन साता पछाडि धकेलिएर असोज ३ मा पुग्यो ।
चलचित्र मारुनी भने भदौ १३ मा साहोसँगै भिड्न तयार छ । असोज १५ गते रितिक रोशन र टाइगर श्राफको चलचित्र वार प्रदर्शनमा आउँदैछ । वारका कारण दीपकराज गिरीको छ माया छपक्कै तथा अशोक शर्माको रातो टीका निधारको प्रदर्शन मिति गडबड हुने सम्भावना छ ।
छ माया छपक्कै असोज १० तथा रातो टीका निधारमा असोज १७ मा प्रदर्शन हुने तय छ । यसरी हलिउड तथा बलिउडका चलचित्रका कारण नेपाली चलचित्रको प्रदर्शन मिति हेरफेर हुँदा दर्शकलाई भने प्रदर्शनको निश्चित मिति थाहा पाउन गाह्रो भैरहेको छ ।