साप्ताहिक संवाददाता
नेपाली चलचित्रमा आजकाल लगानीभन्दा पनि कलाकारको पारिश्रमिकको चर्चा बढी हुन्छ । अभिनेता तथा अभिनेत्रीबीच कसले बढी पारिश्रमिक लिने भन्ने प्रतिस्पर्धा नै छ । यस क्रममा अभिनेत्री पूजा शर्मा पनि बढी पारिश्रमिक लिने कलाकार हुन् । लन्डनमा छायांकन गरिएको चलचित्र ‘सम्हालिन्छ कहिले मन’का लागि १५ लाख पारिश्रमिक लिएकी यी अभिनेत्रीले हालै एक बेनामे चलचित्रका लागि २० लाख पारिश्रमिक लिएको खबर अनलाइन सञ्चारमाध्यमहरूमा राम्रैसँगै छायो ।
‘सम्हालिन्छ कहिले मन’ ताका पारिश्रमिकको सम्झातौको तस्बिर सार्वजनिक भएपछि पूजा त्यसताका मौन नै बसिन्, तर अहिले भने २० लाख पारिश्रमिक लिएको कुरामा भने उनले आफ्नो चित्त दुखाइ सार्वजनिक गरेकी छन् । शर्माले फेसबुकमा ‘के मैले अहिलेसम्म कन्फर्म गरेकी छु ?
तिमीहरूले अहिलेसम्म मसँग परामर्श गर्यौ ? यदि छैन भने त्यो काम गर । मेरो विचारमा तथ्य कुराका लागि पहिले त्यो गर्नुपर्छ ।’ भन्दै स्टाटस नै लेखेकी छिन् । दार्जीलिङका निर्माताले निर्माण गर्ने चलचित्र भनी प्रचार गरिए पनि उक्त चलचित्रमा अन्य कलाकार को–को छन्, निर्देशक को छ भन्ने पनि टुंगो छैन ।