साप्ताहिक संवाददाता
कल्पना दाहाल, लोक दोहोरी गायिका
दोहोरीमा गाउन थालेका कति भयो ?
पाँच वर्ष भयो । अहिले म निरमाया दोहोरी साँझमा गाउँदैछु । यो मेरा लागि संगीत विद्यालयजस्तै भएको छ ।
कति कमाउनुहुन्छ ?
रोधीमा गाएर मासिक ३५ देखि ४० हजार कमाउँछु । स्टेज कार्यक्रममा भने २० देखि २५ हजार लिन्छु ।
दोहोरीसाँझको रात्रीकालीन माहोललाई कसरी सम्झनुहुन्छ ?
रमाइलो हुन्छ । यो मेरो रुचिको पेसा हो । तैपनि राति हुने भएकाले गाह्रो त अवश्य नै हुन्छ । अबेलासम्म बस्नुपर्ने भएकाले निद्रा पुग्दैन । त्यहाँको चर्को लाइटले आँखामा समस्या उत्पन्न गर्छ । पाहुनाले खाएको हुक्काको धूवाँले पनि असर पर्छ । यति हुँदाहुँदै पनि म यसमै रमाइरहेकी छु ।
राति कतिबजेसम्म गीत गाउनुहुन्छ ?
१२ बजेसम्म ।
नियमित जानुहुन्छ कि ?
बाहिर कार्यक्रममा गएँ भने नियमित हुँदैन, नत्र त नियमित गैरहेकी हुन्छु ।
दोहोरीको सबैभन्दा रमाइलो पक्ष के हो ?
आफ्नो नयाँ प्रस्तुति दिन पाइन्छ । अझ भन्ने हो भने त मलाई दोहोरी साँझमा भन्दा पनि स्टेज कार्यक्रममा गीत गाउन रमाइलो लाग्छ ।
दोहोरी गायिकाका रूपमा के–कस्ता अप्ठ्यारा झेल्नुभएको छ ?
अप्ठ्यारो केही छैन । राती ढिला हुँदा केही अप्ठेरो हुन्छ, तर जति धेरै दोहोरी गायो त्यही नै गाउन
मन लाग्छ ।
एल्बम पनि सार्वजनिक गर्नुभएको छ ?
छ, मैले करिब १५ वटा जति गीत गाइसकेकी छु ।