साप्ताहिक संवाददाता
वर्षाको मौसम अहिले मध्यक्रममा छ । यतिबेला झरीमा भिजिने सम्भावना बढी हुन्छ । यो मौसममा नभिजे पनि वर्षाको चिसोले शरीर गलेको जस्तो र शिथिल हुन्छ । शरीर चिसो हुने हुनाले यो मौसममा झोल कुरा खानुपर्ने कुरा आयुर्वेदले सदियौंदेखि बताउँदै आएको छ भने अहिले आधुनिक चिकित्सा पद्धतिले समेत झोल कुरामै जोड दिन थालेको छ । यो झरीमा आफ्नो रुचिअनुसार केही झोल कुरा खाने हो भने त्यो स्वाद र स्वास्थ्य दुवै दृष्टिले फाइदाजनक हुनेछ ।
क्वाँटीको झोल
जनैपूर्णिमाका अवसरमा भिजाएर टुसा उमारिएको अनेकथरीका गेडागुडीका झोल खाइन्छ, जसलाई क्वाँटी भनिन्छ । नेवारी भाषामा क्वाँटीको अर्थ तातो झोल हो । खासगरी वर्षायामको खेतीपाती सकिएको र त्यस क्रममा शरीरले बेहोर्नुपरेको चिसोबाट जोगिन क्वाँटी खाइन्छ । क्वाँटी बनाउन नौ थरीका गेडागुडी (केराउ, सिमी, मास, मुंग, मस्याङ, बोडी, बकुल्ला, राजमा, सानो केराउ) लाई त्यसको गुण अनुरूप परिमाण निर्धारण गरेर एक ठाउँमा मिसाइन्छ । यसरी मिसाइएको गेडागुडीलाई जनैपूर्णिमाभन्दा तीन दिनअघि २४ घन्टा जति भिजाइन्छ । त्यसरी भिजाइएको गेडागुडीलाई पानी ओभाएर उमार्न राखिन्छ ।
दुई दिनपछि टुसाएको गेडागुडीलाई पानीमा गल्नेगरी पकाइन्छ । यसरी पाकेको गेडागुडीको झोललाई तोरीको तेलमा ज्वानो फुराएर झानिन्छ । यो क्वाँटी अधिकांश मानिसले गहुँको रोटीसँग खान्छन् । जनैपूर्णिमाका दिन खाइने क्वाँटी बनाउने तरिका विभिन्न जाति तथा सम्प्रदायअनुसार फरक–फरक छ । कतिपय समुदायमा यसरी उमारिएको गेडागुडीमा खसीको ताजा मासु पनि हालेर पकाउने चलन छ । खासगरी नेपालको हिमाली क्षेत्रमा बसोवास गर्ने विभिन्न समुदायले गेडागुडीमा सुकुटी मिसाउँछन् ।
हट भेजिटेबल सुप
यो सुप तयार गर्न भेडेंखर्सानी, गाजर तथा बन्दालाई मसिनो गरी काट्ने । कराहीमा हल्का तेल हालेर मरिचको गेडा, ज्वानो अनि जिरा फुराउने, त्यसपछि अदुवाको पेस्ट हालेर भुट्ने । त्यसमा मसिनो गरेर काटेको भेडेंखुर्सानी, गाजर र बन्दाको टुक्रा हालेर चलाउँदै पकाउने । केही गलेपछि गोलभेंडाको झोल हालेर पकाउने, अमिलोले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने हुनाले कागतीको रसका साथ दुई चिया गिलास पानी हाल्ने । स्वाद अनुसार नुन र सुपलाई बाक्लो बनाउन दुई चम्चा कर्नफ्लोर पानीमा घोलेर हाल्ने । पिरो खान मन छ भने हरियो खुर्सानी वा धूलो खुर्सानी इच्छाअनुसार प्रयोग गर्ने । सबै सामग्री हालेपछि केहीबेर छोपेर पकाउने । झोल केही बाक्लो भएपछि हट भेजिटेबल सुप तयार हुन्छ ।
टोम्याटो सुप
प्यानमा बटर वा घिउ हालेर लसुन, मरिच तथा तेजपात फुराउने । त्यसमा स–साना टुक्रामा काटिएको प्याज, गाजर र गोलभेंडा अलि बढी हाली चलाउँदै पकाउने । स्वादअनुसार नुन र धुलो खुर्सानी तथा पानी हालेर पकाउने । यसरी १०–१५ मिनेट पकाएपछि त्यसलाई हल्का सेलाउन दिने । सेलाएपछि सबै पाकेको कुरालाई मिक्चरमा हालेर ब्लेन्ड गर्ने अनि छान्ने । यसरी तयार पारिएको टोम्याटो सुप वर्षामा निकै स्वादिलो र शरीरलाई न्यानो गर्छ ।