साप्ताहिक संवाददाता
गत शुक्रबार विकेन्डका अवसरमा करण जौहरले आफ्ना केही मित्रलाई हाउस पार्टी दिए । उक्त हाउस पार्टीलाई करण जौहरले इन्स्टाग्राममार्फत सेयरसमेत गरेका थिए । अहिले उक्त हाउस पार्टी विवादमा छ । पन्जाब विधानसभामा शिरोमणि अकाली दलका विधायक मनजिन्दर सिंह सिरसाले करण जौहरको उक्त हाउस पार्टी खासमा ड्रग्स पार्टी थियो त्यसैले करण जौहरसहित त्यसमा संलग्नहरूका विरुद्ध मुम्बई प्रहरीले मुद्दा चलाउनुपर्छ भन्ने माग गरेपछि उक्त पार्टी विवादमा आएको हो ।
यो प्रकरणलाई सिरसाले उडता बलिउडको संज्ञासमेत दिएका छन् । उता करण जौहरले उक्त पार्टी ड्रग्स पार्टी नभएको सफाइ दिए पनि सिरसाले उक्त सफाइ झारा टार्ने खालको भएको बताएका छन् ।
प्राप्त जानकारीअनुसार विधायक सिरसाको उक्त पार्टीप्रतिको रोषको कारण गत वर्ष प्रदर्शित चलचित्र उडता पन्जाबप्रतिको आक्रोश मानिएको छ । उडता पन्जाबमा पन्जाबको नयाँ पुस्ता ड्रग्सको लतमा रहेको चित्रण गरिएको थियो । चलचित्रमा पन्जाबमा व्याप्त ड्रग्सको लतका पछाडि त्यहाँका राजनैतिक दल तथा तिनका नेताहरूको समेत संलग्नता देखाइएको थियो ।
अहिले सोही चलचित्रको विरोधमा त्यतिबेला उग्र हुन पुगेका सिरसाले बलिउडको ड्रग्स मोहप्रति आफ्नो आक्रोश व्यत्त गरेका हुन् । उक्त हाउस पार्टीमा उडता पन्जाबबाट थुप्रै एवार्ड सेरेमनीमा क्रिटिक्स एवार्ड जितेका साहिद कपुर, रणवीर कपुर, विक्की कौशल, दीपिका पादुकोण, मलाइका अरोडा, अर्जुन कपुर, बरुण धवण, जोया अख्तरजस्ता बलिउड हस्तीहरू उपस्थित थिए ।