साप्ताहिक संवाददाता
महिलाको तुलनामा पुरुषहरूमा उच्च रक्तचापको समस्या बढी देखा पर्छ । महिलाको तुलनामा पुरुषले बढी धूमपान तथा मद्यपान गर्ने भएकाले यस्तो भिन्नता देखिएको विभिन्न अध्ययनहरूले देखाउँदै आएका छन् । केही समय अघिसम्म १४०/९० लाई उच्च रक्तचाप मानिन्थ्यो भने अब नयाँ गाइडलाइन अनुसार १३०/८० लाई नै उच्च रक्तचाप मान्न थालिएको छ ।
त्यसभन्दा माथि हर्ट एट्याक तथा स्ट्रोकको खतरा बढी हुन्छ । उच्च रक्तचापको सन्दर्भमा अमेरिकी मुटु विशेषज्ञहरूको समूहले जारी गरेको नयाँ गाइडलाइनमा उक्त कुरा उल्लेख छ । उच्च रक्तचापबाट जोगिन आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । अमेरिकन हार्ट एसोसिएसन तथा अमेरिकन कलेज अफ कार्डियोलोजीले सूत्रबद्ध रूपमा जारी गरेको गाइडलाइन अनुसार ४५ वर्षभन्दा कम उमेरका पुरुषमा उच्च रक्तचाप हुने सम्भावना तीन गुणा बढी हुन्छ भने ४५ वर्षभन्दा कम उमेरका महिलामा त्यसको संभावना दुई गुणा माक्र हुन्छ ।
रत्तचापमा खानपान
विपिन कार्की / डाइटिसियन
रक्तचाप दीर्घकालीन रोग हो, उचित खानपान एवं व्यवस्थित जीवनशैलीको मदतले यसलाई केही हदसम्म नियन्त्रणमा ल्याउन सकिन्छ । शरीरको सामान्य रक्तचाफ १२०/८० हो । रक्तनलीमा रत्तसञ्चार कम वा बढी भए उच्च वा कम रक्तचाप भएको मानिन्छ । रक्तसञ्चार नियन्त्रणमा नभए विभिन्न जटिलता देखापर्न सक्छन् । यसलाई नियन्त्रणमा ल्याउन उचित खानपान आवश्यक छ । कम तथा उच्च रक्तचापलाई सामान्य अवस्थामा राख्न फरक किसिमका खानेकुरा खानुपर्छ ।
के खाने ?
मानिसमा निर्जलीकरण कम भएको अवस्थामा कम रक्तचापको समस्या देखापर्ने हुनाले शरीरमा पानीको आवश्यक मात्रा कायम राख्न झोलिलो पदार्थ फलफूलको जुसका साथै दैनिक २–३ लिटरसम्म पानी पिउनुपर्छ ।
तुलसीको पातमा एन्टिअक्सिडेन्ट, भिटामिन सी, पोटासियम तथा म्याग्नेसियम भरिपूर्ण हुने भएकाले बिहान ४–५ वटा पात चुस्दा फाइदा हुनसक्छ ।
समुद्री खाना जस्तो प्राउन, सालमोन तथा स्रिम्पमा सोडियमको मात्रा उच्च हुने भएकाले कम रक्तचाप भएकाहरूलाई त्यसले फाइदा पुर्याउँछ ।
थोरै तर पटक–पटक कम क्यालोरी भएका खानेकुरा खानुपर्छ । यसले कमजोरी महसुस हुन दिँदैन ।
चिज, कलेजो, ओलिभ आयल, सुप, जुस, २४ सय मिलिग्रामसम्म नुन, गेडागुडी, अन्डा, माछा जस्ता गरिष्ठ खानेकुरालाई दैनिक खानपानमा समावेश गरे कम रक्तचाफबाट मुक्त रहन सकिन्छ ।
रत्तचाप उच्च भएको अवस्थामा माथिको रक्तचाप १ सय ४० भन्दा माथि र तलको रक्तचाप ९० तल नगए भए उच्च रक्तचाप भएको मानिन्छ । बढी तौल, रक्सीजन्य पदार्थ तथा धूम्रपानको प्रयोग, अधिक नुनको प्रयोग तथा सोडियम भएका खानेकुरा बढी प्रयोग गर्नाले उच्च रक्तचापको खतरा हुन्छ ।
के खाने ?
नुनको प्रयोग कम गरेर उच्च रक्तचापको जोखिमबाट जोगिन सकिन्छ । विभिन्न किसिमका खानेकुराबाट पनि सोडियम प्राप्त हुने भएकाले बढी नुन प्रयोग गर्नुहुँदैन ।
दैनिक भोजनमा लेसिलो खानेकुराभन्दा खस्रोपन बढी भएका खानेकुरा जस्तैः स्याउ, केरा, सुन्तला, एभोकाडो, किबी आदि खान सकिन्छ ।
पोटासियम पाइने खानेकुरा केरा, अनार, बोडी, सुन्तला, दही तथा हरिया सागपात प्रयोग गर्दा पनि सोडियमलाई सन्तुलनमा ल्याउन सकिन्छ ।
तारेका खानेकुरा खानुहुँदैन । यसैगरी चिल्ला तथा नुनिला खाद्यवस्तु कम प्रयोग गरेर पनि उच्च रक्तचापलाई नियन्त्रणमा ल्याउन सकिन्छ ।
रक्तचापमा व्यायाम
निरोज लामा
फिटनेस डाइरेक्टर
ज्यासमिन फिटनेस एन्ड स्पा
आफ्नो रक्तचाप धेरै छ भने बिहान र दिउँसो दुईपटक रक्तचाप जाँच गराउनुपर्छ ।
सन्तुलित आहार, स्वस्थ जीवनशैली, व्यायाम यी तीन कुरा सबैका लागि आवश्यक हुन्छन् ।
उच्च रक्तचाप भएकाले सबै किसिमका शारीरिक व्यायाम गर्न मिल्छ तर त्यसको लाभ व्यायाम गर्ने तरिका कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ ।
एरोबिक, योग, जिम, वेट एक्सरसाइज सबै गर्न सकिन्छ । जुनसुकै व्यायाम गरे पनि व्यायाम बिस्तारै गर्नुपर्छ ।
जगिङ गर्नुपरे नर्मल जगिङ गर्नुपर्छ । यसैगरी वेट लिफ्टिङ एक्सरसाइज गर्दा कम तौलबाट सुरु गर्नुपर्छ ।
ट्रेडमिलमा पनि कम स्पिडमा हिड्नुपर्छ । यसका लागि ३–४ को स्पिडबाट सुरु गर्दा उपयुक्त हुन्छ । यसैगरी साइकिलिङ पनि ठिक्कको स्पिडमा गर्नुपर्छ ।
उच्च रक्तचापका बिरामीका लागि दौड्नुभन्दा हिड्नु फाइदाजनक हुन्छ । बिहान केही समय हिड्नुपर्छ ।
व्यायामका लागि बिहानको समय प्रभावकारी हुन्छ । व्यायाम गर्नुअघि दुध तथा बिस्कुट खान सकिन्छ । व्यायाम गरेको आधा घन्टापछि ओट्स, अन्डा तथा मल्टिग्रेन ब्रेड खानु उपयुक्त हुन्छ ।
उच्च रक्तचापका बिरामीले कुनै पनि व्यायाम गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।