साप्ताहिक संवाददाता
सामाजिक सञ्जालमा प्रायः सधैं चर्चामा रहने अभिनेत्री केकी अधिकारीले अभिनय गरेको एउटा चलचित्र गत शुत्रबार प्रदर्शन त भयो, तर दर्शकहरूले उक्त चलचित्र कहिले आयो र गयो पत्तो पाएनन् । रातो गलबन्दी शीर्षकको उक्त चलचित्र सिनेमा हलमा केही दिन पनि टिकेन । चलचित्रमा केकीसँग अभिनेता कोसिस क्षेत्रीको जोडी बाँधिएको थियो ।
अभिनेत्री ऋचासिंह ठकुरीले डेब्यू चलचित्र ‘नाइँ नभन्नु ल’ बाट राम्रो क्रेज बनाएकी थिइन् । त्यसपछिका केही चलचित्रमा उनले राम्रै काम पनि गरिन् । यद्यपि, दुई साताअघि प्रदर्शन भएको उनको चलचित्र ‘सुपर गार्खे’ सुपर फ्लप नै सावित भयो । एक साताको अन्तरमा दुई राम्रा अभिनेत्रीका दुबै चलचित्र नराम्रोसँग फ्लप भए । केकी र ऋचालाई दर्शकले अस्वीकार गर्ने दुई भिन्न कारण छन् ।
केकी चलचित्रको तुलनामा म्युजिक भिडियोमा बढी रमाउँछिन् । उनका नयाँ भिडियो हप्तैपिच्छेजसो सार्वजनिक भैरहेका हुन्छन् । सामाजिक सञ्जालमा पनि उनी आफ्ना बान्की परेका तस्बिर नियमितजसो अपलोड गरिरहन्छिन् । सामाजिक सञ्जालमै केकीलाई सधैंजसो हेर्न पाएकाले पनि दर्शकहरूले सिनेमा हलसम्म गएर उनलाई हेर्ने जाँगर नचलाएका हुन् कि ?
अभिनेत्री ऋचा भने लामो समयपछि दर्शकमाझ आएकी थिइन् । विवाह गरेर घरजम गरिसकेकी यी अभिनेत्रीलाई दर्शकहरूले बिर्सिसकेकाले पनि उनको चलचित्र हेर्ने जाँगर नचलाइएको हुनसक्ने अनुमान गरिन्छ ।