साप्ताहिक संवाददाता
चलचित्र वडा नम्बर ६ को गीत सुर्केथैली खैलाई आफ्नो सांगीतिक यात्राको माइल स्टोन मान्छन्— गायक राजनराज शिवाकोटी । गीत–रचना, संगीत तथा गायकीलाई एकसाथ बुलन्द रूपमा लान सक्ने राजनका हरेक गीत दर्शक–श्रोताको मुखमा झुन्डिएका छन् । टिपिकल शब्द–संगीतलाई लोकलयमा ढालेर गीतको आकार दिने राजनलाई स्टेजका कार्यक्रमहरूमा भ्याइनभ्याइ छ । विदेशका आधा दर्जन कार्यक्रममा पुगिसकेका राजनले साप्ताहिकका हङकङ संवाददाता अनोज रोक्कासँग आफ्नो विदेश अनुभव यसरी साटे ।
१. हङकङ
नेपाली समुदायमा लाहुरे पृष्ठभुमिको देशका रूपमा चिनिएको हङकङ मलाई प्रिय लाग्छ । मैले लगातार तीन पटक सांगीतिक प्रस्तुतिका लागि हङकङ जाने अवसर पाएको छु । हङकङका हरेक जमघटमा बज्ने नेपाली संगीत तथा हङकङमा कार्यरत नेपालीहरूले देखाउने सद्भावले मलाई निरन्तर काम गर्न ऊर्जा प्रदान गर्छ ।
२. कोरिया
कोरिया एकपटक मात्र जाने अवसर पाएको छु । रोजगारीका लागि कोरिया पुगेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूले अतिव्यस्त समयका बाबजुद पनि नेपाली कलाकार तथा संगीतप्रति देखाउने सम्मान एवं मायाले भावुक हुन्छु ।
३. दुबई
श्रमजीवी नेपालीहरूको उल्लेख उपस्थिति भएको देश दुबईमा एकपटक जाने अवसर मिल्यो । काम, पैसा कमाउनैपर्ने बाध्यताजस्ता परिस्थितिबीच पनि उहाँहरूको माया नेपाली संगीतको सम्पत्ति हो ।
४. कतार
पहिलो पटक कतार जाँदा त्यहाँ भएका नेपालीहरूको सम्मानबाट गौरवान्वित भएँ । कामबाट बचेको समयमा हाम्रो सिर्जनाले उहाँहरूलाई जुन आनन्द दिन्छ त्यसको अनुभूति मैले कतारको स्टेजमा गर्न पाएँ ।
५. अस्ट्रेलिया
अस्ट्रेलियामा प्रायः नेपालीहरू शिक्षा र सीपका लागि पुग्नुभएको छ । आफूलाई थप परिष्कृत गर्न वैदेशिक शिक्षा र सीपहासिल गरिरहेका युवाहरूले नेपाली संगीत तथा कलाकारहरूप्रति देखाउनु भएको माया एवं सम्मानले मलाई आफ्नो पेसाप्रति नै सम्मान बढाएको छ ।
६. बेलायत
आफ्नो संस्कृतिका लागि मरिमेट्ने नेपालीहरूको जमघट छ बेलायतमा । आफ्नै मुलुकमा कम देखिने संस्कृति एवं परम्परालाई उहाँहरूले विदेशमा जगेर्ना गरेर राख्नुभएको छ । पहिलो पटक बेलायत जाँदा स्टेजमा देखिएको नेपाली वेशभूषा, नौमतीबाजा, सालैजो तथा देउडाको प्रस्तुति देखेर म हर्षविभोर भएको थिएँ ।