नेपाली कलाकारिताको लागि हङकङ उर्वरभूमि हो । नेपाली कलाकारलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्दै आर्थिक र सामाजिक पक्षमा सबल बनाउन विगतदेखी हङकङेली नेपालीहरु लागि परिरहेका छन् । चर्चित राष्ट्रिय कलाकारदेखि मोफसलका सम्भावित प्रतिभाहरु समेत हङकङेलीहरुको माया र सद्भावले मख्ख छन् ।
हङकङले कलाकारहरुलाई अवसर र सम्मान मात्र दिएको छैन, स्थानिय प्रतिभाहरुलाई उत्प्रेरित पनि गरिरहेको छ । विविध कारणले हङकङलाई कर्मभुमि बनाईरहेका कलाकारहरुलाई हङकङ आईसकेपछि पनि आफ्नो प्रतिभा प्रस्फुटन गराउन लागि समुदायबाटै उत्प्रेरित गरिनु आफैमा गौरवशाली कुरा हो । सिङ्गो हङकङमा रहेका नेपालीहरुको प्रतिनिधीत्व गर्दै किशोरकुमार लिम्बु र कुमारी तुम्वाफोले चलचित्र घरजम निर्माण गरेका छन् ।
भाषिक चलचित्र निर्देशनसँगै फुलेन्देको बाउ चरित्र मार्फत कलाकारिता प्रस्तुत गरिरहेका मौसम लिम्बुले चलचित्र घरजमलाई निर्देशन गरेका छन् । एकदशक कलाकारिता र चलचित्रको अनुभवलाई घरजम मार्फत प्रस्तुत गरिएको बताउँदै मौसम भन्छन्, ‘मुलधारको चलचित्र निर्देशनमा होमिएका छुु अब निरन्तर नेपाली चलचित्र उधोगका लागि सङ्घर्ष गर्नेछु ।’
‘बिशुद्ध नेपाली कथा, भेषभुषा र भाषालाई हामीले हाम्रै परिवेशमा प्रस्तुत गर्ने तयारी गरेका छौ, दर्शकहरुले चलचित्र हेर्दा हरेक दृश्यमा आफुलाई पाउँनेछन्’, उनले भने । चलचित्रमा विकाउ अनुहार हैन चरित्र अभिनयमा आफ्नो प्रभाव छाड्नु भएका कलाकारहरुको बाहुल्यता रहेको उनले बताए ।
१ करोड रुपैयाँ बढिको लगानीमा एक बर्षको मिहेनत चलचित्रका लागि दिएका छौैं, निर्माता किशोर भन्छन, ‘हाम्रो प्रयासले एउटा मौलिक चलचित्र दर्शकहरुले पाउनु हुनेछ ।’
रोमियो फिल्म्सको ब्यानरमा निर्माण सम्पन्न गरिएको चलचित्र घरजममा बुद्धि तामाङ (हैट), मिस हङकङ नेपाल २०१८ सुस्मा लिम्बु, श्रृजना सुब्बा, यासिली योङहाङ, रवि शेर्मा, जीवन भट्टराई, किशोरकुमार लिम्बु, हेमराज आङछोम्बो, कुशल थलङ लगायतका कलाकारहरुको जीवन्त अभिनय छ ।
चलचित्रको ग्राण्ड प्रिमियर यहि १५ सेप्टेम्बरका दिन हङकङ स्थित वाम्पो सिनेमा थिएटरमा बेलुकी ७ः३० बजे गरिनेछ ।