सर्लाहीकी २३ वर्षीया पूजा रिजाल काठमाडौंमै हुर्किएकी हुन् । पोखरा विश्वविद्यालयबाट बीबीए–बीआईमा ग्राजुएट रिजाल मिस नेपाली ट्राभलर–२०१९ की विजेता हुन् । महिला ट्राभलरहरूलाई ट्राभलिङमा प्रोत्साहित गर्न नेपाल ट्राभलर्सले चलाइरहेको स्वयात्रामा छनौट भएर पूजाले केही समयअघि काठमाडौंदेखि एभरेस्ट बेसक्याम्पसम्म हाइवे रुट पछ्याउँदै एक्लै यात्रा गरिन् । त्यो साहसिक र रोमाञ्चक यात्रापछि उनी पाँच जना प्रतिस्पर्धीको बीचबाट मिस नेपाली ट्राभलर–२०१९ घोषित भएकी हुन् । नेचर र एड्भेन्चर मनपर्ने फरासिली स्वभावकी यात्राकी सौखिन पूजासँग उनको एक्लो यात्राको वरिपरि रहेर जनक तिमिल्सिनाले गरेको कुराकानी :
हाइवेमै हिँडेर बेसक्याम्प जाने योजना कसरी बन्यो ?
म स्वयात्रा–२०१८ का लागि छनौट भएकी थिए । छनौट भएका १४ जनालाई आफूले छानेको नेपालको फरक–फरक ठाउँमा फूल फन्डेड ग्रान्ट, इन्स्युरेन्स आदि सुविधाहरू दिएर पठाइएको थियो । मेरो पहिलो योजना जिरीसम्म ड्राइभ गर्ने र जिरीबाट क्लासिक रुट लिएर एभरेस्ट बेस क्याम्प पुग्ने थियो । म छानिएपछि हाम्रा लागि ब्याग प्याकिङ, सेल्फ डिफेन्स, रिस्क म्यानेजमेन्ट आदिको पाँचदिने तालिम सम्पन्न भयो । ऊक्त तालिमका त्रममा मैले छानेको सबैले सुनेको एभरेस्ट बेसक्याम्प । मलाई त्यो त्यति च्यालेजिङ लागेन । त्यसपछि मैले हाइवे हिँडेरै बेसक्याम्प जान्छु भन्ने निर्णय गरे ।
३३ दिनमा ७ सय किलोमिटर हिँड्नुभयो । कसरी सम्झनुहुन्छ ?
म त्यसलाई एउटा अवसरका रूपमा सम्झन्छु । त्यो अवसर प्राप्त गरेर नहिँडेको भए म जीवनमा सायदै हिँड्थे होला । त्यो मेरा लागि अवसर थियो, जुन मैले सही समयमा लिएँ । आफैंले अवसर क्रिएट गरेर गएजस्तो लाग्छ ।
अरुले अमेरिका, बेलायतजस्ता देशहरू ताकिरहेका बेला किन गाउँघर रोज्नुभयो ?
मलाई ट्रेकिङ निकै मन पर्छ । साथीहरूसँग पहिलो पटक ट्रेकिङमा अन्नपूर्ण बेसक्याम्प गएकी थिएँ । म तराईमा जन्मिएकी, मैले हिमाल र पहाडलाई त्यति नजिकबाट कहिल्यै देखेकी थिइनँ, जति मैले त्यो यात्रामा देखें । एकदमै रमाइलो लाग्यो । त्यही भएर सुरुमा आफ्नै देश घुमौ भनेर यात्रा थालेकी हुँ ।
अन्नपूर्ण ट्रेकिङले तपाईंमा यात्राको रस बसाइदियो होइन त ?
दुई वर्षअघि हामी कलेजका १० जना साथी अन्नपूर्ण ट्रेकिङ गएका थियौं । पहिलो यात्रा थियो, त्यसले मलाई लोभ्यायो । मैले स्वयात्रालाई फ्लो गरिरहेकी थिए, कलेजले बिदा पनि नदिने भएकाले त्यतिबेला मिलेन । त्यसपछि कलेज सकिनेबित्तिकै मैले अप्लाइ गरिहाले । एभरेस्ट बेस क्याम्प एक्लै जाने ड्रिम साकार भयो ।
यात्राका त्रममा कतै पनि डर लागेन ?
लाग्यो नि, डर नलाग्ने भन्ने त कहाँ हुन्छ । डर त जानुभन्दा अघि पनि, जाने बेलामा पनि, हाइवेमा हिँड्दा होस् वा जंगलमा हिँड्दा पनि डर लागिरहेको थियो, तर डर लागेर के गर्नु ?
के कुराको बढी डर लाग्यो तपाईंलाई ?
हाइवेमा हिँड्दा सर्टकर्ट बाटो खोज्ने चक्करमा धेरै समय लाग्थ्यो । मानिसहरू हाइवेमा प्रायः गाडीमै हिँड्छन्, त्यस्तो बाटो पैदलका लागि प्रयोग गर्दैनन् । एक–दुई जना मान्छे मात्र देखा पर्ने, हराइने, एक घण्टाको बाटो कहिलेकाहीँ त तीन घण्टा पनि लागिदिन्थ्यो । रातको समयमा हाइवे अझ डरलाग्दो हुन्छ, त्यसैले रात पर्ला भन्ने कुराको एकदमै डर हुन्थ्यो । अर्को, जंगलमा मानिसहरू देख्दा खुसी हुनुपर्ने हो, तर झन् डर लाग्ने, कसैले फ्लो गरिरहेको छ कि जस्तो हुन्थ्यो ।
३३ दिनको याक्राका त्रममा कहिले जंगलमै रात पर्ने अवस्था आयो कि आएन ?
म सधैं बिहान ८ बजेतिर हिँडिसक्थें, त्यही अनुसार योजना बनाएकी थिएँ । मैले एक महिना रिसर्च गरेर यात्रा योजना बनाएकी हुँ । म कतिबेला निस्कने, कुन–कुन लजमा बस्ने प्रि–प्लान गरेकी थिएँ । कहिले निकै अल्छी लाग्थ्यो, एकपटक ९ बजे निस्किएँ, मुढे पुग्नुपर्ने थियो, मुढेभन्दा ५ किलोमिटर यतापट्टि सिलढुंगादेखि जंगल थियो । त्यहाँ घाँस उम्रिसकेकाले बाटो स्पष्ट थिएन, त्यसैले एक घण्टाको बाटो पार गर्न मलाई साढे तीन घण्टा लाग्यो । त्यतिबेला साढे चार बजिसकेको थियो भने अझै ५ किलोमिटर यात्रा बाँकी थियो, त्यतिबेला मलाई खुब डर लागेको थियो । म ठूलो पाखर पुगें, त्यो अलि झगडा भैरहने ठाउँ पनि हो । यही बसुकी अगाडि बढूँ भन्ने दोधार भयो । एउटा सानो चियापसल खुल्ला थियो, बूढाबूढी हुनुहुन्थ्यो । त्यहाँ गएर चिया पिएँ, लजहरू छन् कि भनेर सोधें, अझै दुई किलोमिटर हिँड्नुपर्छ लज पाउन भन्नुभयो । कहाँ बस्ने भनेर सोचिरा’थें, उहाँहरूले नै मलाई बास दिनुभयो ।
यात्राले सिकाएका कुरा के–के हुन् ?
यात्रा गर्दा मलाई एकदम धेरै अन्तर्त्रिया गर्न मन लाग्छ, तर कहिलेकाहीं एक्लै हिँड्दा कसैसँग बोल्न मन नलाग्दो रहेछ । यति धेरै थाकिसकिएको हुन्छ, यति धेरै बोलिसकिएको हुन्छ, आफ्ना लागि पनि एउटा स्पेस चाहिँदो रहेछ । कति मान्छे एक्लै घुम्न निस्किएको भन्दा पत्याउँदै नपत्याउने । व्याख्या गर्दा–गर्दा हैरान, कहिले त कसैसँग पनि बोलिनँ । प्लानिङमा समस्या आउँछ, एक दिन म खाना खाएर जाने भनेर ११ बजे खाना खाएर हिँडें, झन्डै २२ किलोमिटर हिँड्नु थियो । बिहान ढिलो निस्किएकाले साँझ ६ बजे मात्र खावा पुगेँ, त्यतिबेला अलि रिग्रेट लाग्यो, किनभने जिरी पुग्ने योजना पूरा भएन । यात्रामा आफ्नो प्लानिङ अनुसार चल्नैपर्दो रहेछ ।
सिंगल यात्रामा निस्कँदा के कुरा ध्यान दिनुपर्दो रहेछ ?
हावामा त निस्कनै हुँदैन । कहिलेकाहीं यात्राको दूरी गुगलका आधारमा मिल्दैन । सर्टकर्ट खोज्न थालियो भने थप समस्या आउँछ । प्रि–रिसर्च निकै महत्वपूर्ण हुन्छ । ब्याग प्याकिङ गर्दा अनावश्यक सामान राख्नै हुँदैन । जति दिनको यात्रामा जाँदा पनि तीन दिनका लागि मात्र प्याक गर्नुपर्दो रहेछ । ग्याजेटले पनि मेरो ब्याग प्याकिङ बढी भएकाले केही लुगा मैले धुलिखेलको लजमै छोडेकी थिएँ । अर्को कुरा, खाना पचाउन सक्नुपर्दो रहेछ । हाइवेमा सबैतिर घरकै खानेकुरा खान पाइन्छ, अलि माथि रिकी फुड, आलु रोटी, याकको बटरजस्ता खानेकुरा खानुपर्छ, जुन पचाउन गाह्रो हुन्छ, तर मैले त सबै पचाएँ । अर्को, हाइ लाग्ने कुरालाई पनि तलैदेखि एडप्ट गर्दै जानुपर्दो रहेछ । राम्रोसँग खाइएन भने विक भइन्छ, अनि हाइले एट्याक गरिहाल्छ । खुट्टा भाँचिनु हुन्न र लेक लाग्नु हुन्न भन्ने कुरामा म एकदमै सचेत थिएँ, त्यसैले जुत्ता पनि राम्रो लगाएर गएकी थिए । ट्रेकिङमा राति हिँड्नु हुँदैन ।
यात्राबाट आफ्ना लागि के लिएर फर्किएजस्तो लाग्छ ?
म यात्राबाट केही परिवर्तन भइनँ । मैले मेमोरी मात्र लिएर फर्किएँ । मलाई हरेक दिनको हरेक क्षणको सम्झना छ । म यात्रामा हरेक पलको फोटो खिच्छु, फोटो, भिडियो खिच्न मलाई मज्जा लाग्छ । त्यसैले मैले पोलोराइज क्यामेरा लिएर गएकी थिएँ, फोटो खिच्नेबित्तिकै प्रिन्ट गरेर फोटो निकाल्न मिल्ने अनि जो–जो मन पर्ने मानिसहरू हुनुहुन्थ्यो, फोटो खिचेर एक कपी उहाँहरूलाई दिन्थें, एक कपी आफू राख्थें । मलाई मेमोरी क्रियट गर्न मन लाग्छ, त्यसमा बेग्लै प्रकारको एट्याचमेण्ट हुन्छ । यो यात्राले मलाई कन्फिडेन्ट दियो ।
यात्राका रमाइला क्षणहरू ?
ती क्षणसँग म भावनात्मक रूपमा जोडिएकी छु । मुढे जाँदाखेरि सर्टकर्टको थकान र धूलैधूलोमाथि निकै भोक लागिरहेको थियो । हाइवेमा ब्याग राखेर बसिराख्या थिए, त्यहाँ वरपर चिया पसलसम्म थिएन । अझै निकै हिँड्नुपर्थ्यो केही खानेकुरा पाउन । अलि पर एक जना बाजे हुनुहुन्थ्यो, केही मायालाग्दो अनि केही डरलाग्दो पनि । उहाँ अम्बाको रूखमा चढ्नुभयो, अम्बा झार्नुभयो अनि मैले मलाई नि दिनु न भनेर मागेँ, तर उहाँ केही बोल्नु भएन, मात्र अम्बा झारेको झार्यै, तर झरेपछि सबै अम्बा टिपेर प्लास्टिकमा राखेर मलाई दिनुभयो । मेरा लागि हो भनेर सोध्दा हा हा गर्नुभयो । बाजे त बोल्न नसक्ने हुनुहुँदो रहेछ । मलाई निकै माया लागेर आयो । मलाई त्यस्तो अवस्थामा देखेर उहाँ अम्बाको रूखमा चढ्नुभएको रहेछ । मैले उहाँको फोटो खिचेर दिएँ, उहाँ निकै खुसी हुनुभयो । उहाँ नौलो कुरा (फोटो) देखेर यति खुसी हुनुभयो, अहिलेसम्म मैले त्यस्तो खुसी कसैको आँखामा देखेकी छैन, पछिसम्म उहाँले वाइ गर्दै हात हल्लाइरहनुभयो । अर्को एउटा स्मरणीय घटना आहाल डाँडामा पाँचौं दिनमा हुनुपर्छ, तामाङ फेमिलीकी एक महिलाले मलाई बास दिनुभयो । उहाँहरूले सबै कुरा सोध्नुभयो, मैले भने अनि उहाँलाई म मन परेछु, ल मेरो छोरा इन्जिनियर छ, उसँग विवाह गरेर जानु ह्यान्डसम छ भनेर प्रस्ताव राख्नुभयो । एकछिनपछि त्यो आहाल डाँडाका सबैजसो मानिस जम्मा भए— बुहारी आ’की छ भनेर हेर्न । कति चाँडो कुरा फैलिसकेछ । सानो किचनमा रातिसम्म कुरा गरेर बसें । भोलिपल्ट उहाँहरूले नम्बर लिनुभयो, फेरि आउनुहोस् भन्नुभयो । चोला पासमा ढिलो जाँदा एक्लै परें, हेर्दै जाँदा नजिक देखिने तर आउँदैन । साढे चार घण्टा लगाएर चढें । टुप्पामा पुगेपछि तल हेरें, आइसको बाटो छ, हिँड्छु आवाज आउँछ, क्रड्याक–कुडुक हुन्छ, कस्तो डरलाग्दो आवाज । अझ त्यहाँबाट चिप्लिएर तल आइसफल्समा परेपछि त मान्छे गयो । तल पुगेपछि एउटा ग्रुप भेटे, म पछि–पछि एकदमै छिटो हिँड्न थालें । हातखुट्टा कक्रेर, त्यो बेला म रोएकी पनि थिएँ । अर्को लोबुचे पुगेपछि यति चाँडो हिउँ पर्दैन भनेर मानिसहरू अड्कल काटिरहेका थिए, म हिउँ परेको हेर्न गएकी, उनीहरूको कुरा सुनेर एकदमै रिस उठिरहेको थियो । भोलिपल्ट बिहान झ्याल खोल्छु त हिउँ परिरहेको रहेछ । म खुसी हुँदै उफ्रिएँ । त्यसपछि उनीहरूले बेसक्याप न जा भनिरहेका थिए, म आँट गरेर बेसक्याम्प पुगे ।
बेसक्याम्प पुग्दा कस्तो महसुस भयो ?
त्यहाँ वरपर हिमाल रहेछन्, अरू खासै केही रहेनछ । त्यसपछि मलाई लाग्यो, यात्राको रमाइलो भनेको डेस्टिनेसन रहेनछ, यात्रा भनेको बाटोको रमाइलो रहेछ । नत्र त्यत्रो दुःख गरेर बेसक्याम्प पुगें, त्यहाँको कुनै कुराले छोएन मलाई, बरु बाटोका धेरै क्षणले यात्रालाई अविस्मरणीय बनाए । फर्कंदा भने मलाई घर पुग्न निकै हतारो हुन्छ ।
यो यात्रामा कति खर्च भयो ?
बजेट ३६ हजारको थियो, तर मैले २६ हजारमा यो यात्रा सकेँ, १० हजार बच्यो । मेरो त्यति पनि खर्च भएन, किनभने म अफ सिजनमा गएकी थिए । एक्लै नेपाली केटी घुम्न आएकी के पैसा लिनु भनेर कतिले मलाई होस्ट गर्नुभयो । एभरेस्ट ट्रेल निकै महँगो छ । समूहमा र सिजनमा गएको भए त्यति पैसाले मरिगए पुग्दैनथ्यो । मलाई एक्लै देखेकाले मानिसहरूले माया गरेर होस्ट गरे । कतिले नेपाली केटी भनेर अलि सस्तो गरिदिन्थे, कतिले पैसा नै लिँदैनथे ।
सबैभन्दा धेरै के खानुभयो ?
दालभात खाए, सबैभन्दा धेरै खाएको कालो दाल र बरेलाको तरकारी । एक त भेजिटिरियन मान्छे माथितिर मासु धेरै हुने । नमीठो भए पनि नभए पनि इनर्जीका लागि जे उपलब्ध छ त्यो खानैपर्थ्यो ।
३३ दिने यात्रा कस्ता स्वभावका नेपालीहरू भेटिए ?
हाइवेमा त बबालै है, मानिसहरू अमेजिङ नै लाग्यो । पाँच दिन तामाङ परिवारसँग बसें, एक दिन बाहुन परिवारसँग । उनीहरू एकदमै खुल्ला टाइपका, खुल्ला मनका, कुनै अपेक्षा नै नराख्ने । एक्लै आएको भनेपछि छक्कै पर्थे । अफ सिजन भएकाले काम पनि थिएन, आएर बोल्थे । उनीहरू हेल्पफूल थिए, नेपालीपन भएर पनि होला । डोलेबाट गोप्के जाँदा दुई जना ब्रिटिस केटा र एक जना नेपाली गाइड भेटिए । ती गाइड दाइले सँगै जाऊ भन्नुभयो, हुन्छ भनेर हामी गफ गर्दै गैरहेका थियौं । अलिकति अघि गएपछि ब्रिटिसहरूले तिमीले गाइडलाई पैसा तिरेको होइनौ, तिमी बोल्न पाउँदैनौ भने । उनीहरूले पैसा तिरेको गाइडले अरू कसैसँग बोल्न पाउँदैन, बोल्दा पैसा सेयर भएजस्तो सोचे उनीहरूले । मलाई निकै रिस उठ्यो, प्याच्च भनिदिए, ‘यत्रो दिनसम्म एक्लै हिँडेर आए अब पनि एक्लै हिँडेर जान सक्छु । मलाई तिमीहरू चाहिँदैन ।’ दाइलाई पनि यिनीहरूलाई लिएर जानु म आइहाल्छु भने उहाँले खैरेहरू यस्तै हुन् भन्नुभयो । हाम्रोसंस्कृति त त्यस्तो छैन । हामी नेपालीलाई पैसाले खासै म्याटर गर्दैन । विदेशी सबै कुरा पैसामा क्यालकुट गर्छन् ।
सुरक्षामा कसरी ध्यान दिनुभयो ?
फस्ट एड ट्रेनिङ नै हुन्छ जानुभन्दा पहिले । मैले एक पोका औषधी लगेकी थिएँ । डायरियादेखि खुट्टामा लगाउने औषधीसम्म । थकाइ मार्नुपर्दा मैले कहिल्यै पिठ्युँबाट ब्याग निकालिन ब्याग अड्याउने वालजस्तो भएको ठाउँमा थकाइ मार्न बस्थें, २० सम्म गन्थें र फेरि हिँड्न थालिहाल्थे । जुरुक्क उठ्थे हिँड्थे, थचक्क बस्यो भने उठ्नै मन नलाग्ने । निन्द्रा लाग्यो भने हाई एलटिट्युडले समात्ला भनेर पनि त्यसो गर्थें । चिया खान भने अलिबेर बस्थें । पहिले त म चिया नै पिउँदिनथेँ, ऊक्त यात्राका त्रममा चिया पिउँदा–पिउँदा चिया पिउने बानी नै लाग्यो । मैले धेरै फ्लेवरको चिया पिएँ ।
खर्च कसरी जुटाउनुहुन्छ ?
स्व–यात्राबाट पैसा पाएकी थिएँ । त्यसपछि म पुनहिल पनि गएँ । मलाई के लाग्छ भने पहिले डिसिजन लिनुपर्छ, म यो ठाउँमा जान्छु भनेर । माइन्ड मेकअपपछि बल्ल पैसा खोज्ने हो । पहिले नै पैसा खोज्छु अनि जान्छु भन्नेचाहिँ होइन रहेछ । डिसिजन गरिसकेपछि पैसाले रोकिँदो रहेनछ ।