साप्ताहिक संवाददाता
श्रावण २९, २०७६
अहिले बलिउडका प्रत्येक चलचित्रमा एकवटा आइटम गीत तथा डान्स अनिवार्य रूपमा समावेश गरिन्छ । नेपाली चलचित्रमा भने अहिलेसम्म यसलाई अनिवार्य कन्टेन्ट मानिएको छैन । यद्यपि, कहिलेकहीँं कुनै–कुनै चलचित्रमा आइटम गीत समावेश गरिन्छ, जसलाई दर्शकले रुचाएको पाइन्छ ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’ मा पुरानो चलचित्र ‘मनको बाँध’ मा समावेश गायिका मीरा राणाको स्वरको ‘यो मात चढेको साँझ...’ गीतलाई अत्याधुनिक शैलीमा समावेश गरिएको छ । डिजे राजुले गायिका मीना निरौलाको स्वरमा उक्त गीतलाई रिमेक गरेका छन् ।
गीतको भिडियोमा नयाँ अनुहार तनुजा गुरुङले आकर्षक नृत्य गरेकी छिन् । तनुजाले यही गीतमार्फत रजतपटमा आफ्नो यात्रा प्रारम्भ गरेकी हुन् । उक्त गीतमा तनुजा निकै कामुक तथा आकर्षक देखिएकी छिन् ।