साप्ताहिक संवाददाता
श्रावण ३१, २०७६
आफू अविवाहित छँदा विवाह कहिले गर्ने ? भन्ने जिज्ञासाले महानायक राजेश हमाल हैरान थिए । सबैको जिज्ञासाको जवाफ दिँदै केही वर्षअघि हमालले मधु भट्टराईलाई दुलहीका रूपमा भित्र्याए । यद्यपि, विवाह भएको लामो समय बितिसक्दा समेत अभिनेता हमाल बुवा नबनेपछि उनी जहाँ पुग्दा पनि बुवा कहिले बन्ने भन्ने जिज्ञासाले घेरिन थालेका थिए ।
अहिले आएर राजेश हमाल बुवा बन्न लागेको जानकारी उनको पारिवारिक सूत्रले दिएको छ । उक्त स्रोतको दावी छ— हमाल पत्नी अहिले तीन महिनाकी गर्भवती छिन् । अबको ठीक ६ महिनापछि अर्थात माघको अन्तिम साता मधुले पहिलो सन्तान जन्माएर हमाललाई बुवा बनाउने ठोकुवा चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष विदुर गिरीको छ । हमालले यो कुराको जानकारी आज शुक्रबार टुँडिखेलबाट सार्वजनिक गर्ने कुरा पनि गिरीले बताए ।