साप्ताहिक संवाददाता
दुईपटक एसएलसी फेल भएर तेस्रो पटक ट्युसन पढ्न जाँदा सँगै एसएलसी दिएको साथी बसमा भेटियो । उ स्नातक तहमा भर्ना हुन जान लागेको रहेछ, म चाहिँ अझै एसएलसीका लागि ट्युसन पढ्दैछु भन्नु पर्दा आफ्नै गाईजात्रा भएको महसुस भएको थियो ।
दीपकराज गिरी, अभिनेता
आफूले माया गरेकी प्रेमिकाको घरमा हाम्रो सम्बन्धका बारेमा थाहा पाएपछि जीवनको सबैभन्दा ठूलो गाईजात्रा भएको थियो ।
दिनेश काफ्ले, कमेडियन
झुक्किएर एकै दिन ३ वटा भिडियोको सुटिङ राखेको दिन २ वटालाई सार्न निकै गाईजात्रा भएको थियो । मोडल, क्यामेराम्यान, गायक–गायिका सबैको समय मिलाउँदा–मिलाउँदै लास्टमा तीनवटै भिडियोको सुटिङ हुन सकेन ।
गम्भीर विष्ट, कोरियोग्राफर
हुन त जिन्दगीमा धेरै गाईजात्रा भए, तर अहिलेको समग्र जिन्दगीलाई नै गाईजात्रा भन्दा कुनै अत्युक्ति नहोला ।
जेम्स बिसी, मोडल
चलचित्र इन्साफको सुटिङमा नजिकै कुनै सार्वजनिक शौचालय थिएन । म जहाँ पिसाब गर्न गएँ, त्यहाँबाट तल झरेकी थिएँ– कस्तो आपत ?
कृषा चौलागाईं, निर्मात्री
चलचित्र ‘महसुस’को प्रदर्शनको तयारी नै मेरो जिन्दगीको सबैभन्दा ठूलो गाईजात्रा थियो ।
कल्याण घिमिरे, अभिनेता/निर्माता
मेरो त प्रायः बिल्ला भैरहन्छ । बाठो भएर जोक सुनाउनुपर्छ अनि भन्ने तरिका नमिल्दा जोकमा भन्दा पनि मलाई देखेर बढी हाँस्छन् सुन्नेहरू ।
लोकेन्द्र लेखक, अभिनेता
एसएलसी परीक्षाको फर्मका लागि फोटो खिच्न आफ्नो घरबाट साइकलमा बेलबारी जाँदा बाटोमा बाँधिएको घोडाको डोरीमा साइकल अल्झिदा घोडा तर्सिएर उफ्रिँदा किलो उखेलियो । त्यो किला मात्र उखेलिएन त्यो डोरी साइकलमा अल्झिएर घोडाले साइकललाई कान्ला–कान्ला उफार्दै लिएर दौडिएको क्षण म कहिल्लै बिर्सन्न । अझ म साइकलको पछाडि–पछाडि दौडिरहेको थिएँ । मेरा लागि त्यो दिन गाईजात्रा सरह थियो ।
कमलमणि नेपाल, हास्यकलाकार
द भ्वाइस अफ नेपाल फर्स्ट सिजनको सुटिङमा रिभल्भिङ चेयर बिग्रिएर जात्रै भयो नि ।
सुशील नेपाल, सञ्चारकर्मी
२०५७ सालमा ऐतिहासिक सिरियल ‘कालखण्ड’को सुटिङका क्रममा आमा बित्नु भएपछि कपाल काट्दा सिरियलका निर्माता सुशीलचन्द्र श्रेष्ठलाई घाटा लाग्छ भनेर कपाल नकाटी आमाको काजकिरिया गर्दाको क्षण एउटा हो । अनि पछि त्यही सिरियलको सुटिङका क्रममा खुट्टा भाँचिएपछि सुटिङ रोक्दा निर्माता डुब्छन् भनेर प्लास्टर गरेको खुट्टाको प्लास्टर काटेर खोलाको तिरमा दौडिएको क्षण नै मेरा लागि आफ्नै गाईजात्रा हो ।
शंकर आचार्य, निर्देशक/कलाकार
एउटा मान्छेले जे गर्छ, त्यो अरुका लागि जात्रा नै हुन्छ । सधैं छ, सबै तिर छ– जात्रा ।
दीपेन्द्र लामा, निर्देशक
सुन्दरीहरूलाई र्याम्प वाक सिकाउने क्रममा आफूले पनि त्यस्तै हाउभाउ देखाउने क्रममा कहिलेकाहीँ केही प्रतियोगीले भिडियो खिचिरहनु भएको हुन्छ । त्यस्तो क्लिप आफैंमा गाईजात्रा हुन्छ ।
अश्विनी झा, इभेन्ट कोरियोग्राफर
यो प्रश्नको उत्तर दिन नसकेको क्षण नै मेरा लागि गाईजात्रा सावित भएको छ ।
सत्यराज आचार्य, गायक
२०५५ सालको वैशाखमा विवाह भोजका लागि करिब ६ बजे घट्टेकुलोबाट हतार–हतार हिडेँ । त्यतिबेला बिजुली थिएन । विवाह पार्टीमा पुगेर २ पेग सोम रस लगाएपछि एउटा साथीले भन्यो ‘ओइ तेरो जुत्ता हेर त ।’ यसो जुत्ता हेरेको त एउटा खैरो र अर्को कालो रंगको परेछ । मेरो २ पेग त्यहीं उत्रियो । म केही बेरमै त्यहाँबाट कुलेलाम भएँ ।
गणेश पराजुली, गायक/संगीतकार
विद्यालय जाँदा गोरुले लखेटेर हिलोमा बजारिएकी थिएँ । त्यो दिन सम्झदा अहिले पनि हाँसो उठ्छ ।
कविता रेग्मी, निर्मात्री
कोरिया जाँदा चीनमा ७ घण्टा ट्रान्जिट परेको थियो । त्यहाँ भाइबर, म्यासेन्जर, ह्वाट्सएप आदि केही पनि चलेन । चल्ने बि–च्याट मात्र रहेछ । फेरि हाम्रो समूहका कसैसँग पनि बि–च्याट नभएकाले ७ घण्टा दिक्क लागेर मेरो चाहिँ गाईजात्रा नै भयो । ट्रान्जिङ रातीको १२ बजेदेखि बिहान ७ बजेसम्म भएकाले कुनै पसल समेत खुलेका थिएनन्, तनावै भयो नि ।
छुल्ठिम गुरुङ, अभिनेत्री
करिब ३ वर्ष पहिले म एमएसी दोस्रो वर्षमा अध्ययनरत हुँदाको कुरा हो । त्यति बेला मेरो केही दिन लगातार म्युजिक भिडियो छायांकन परेकाले कलेजमा अनुपस्थित थिएँ । भोलिपल्ट कलेजको प्रयोगात्मक कक्षाहरूका बारेमा बुझ्न नजिकको साथीलाई फोन गर्दा उसले बाहिरबाट एक्सटर्नल सर आउनुभएको छ सबै प्राक्टिकल फाइल लिएर आउ भन्यो । अनि म पनि साथीले भने बमोजिम सबै प्राक्टिकल फाइलसहित भारी झोला बोकेर कलेज पुगे । अफसोच सबैजना कलेज अगाडि मेरै प्रतीक्षामा बसिरहेका रहेछन् । पछि बुझ्दा त हाम्रो ब्याज पिकनिकका लागि जाँदै रहेछ । अनि त्यो पिकनिकमा दिनभरि सबैजनाले म र मेरो भारी झोला माथि गरेको व्यंग्य मेरा लागि गाईजात्रा नै सावित भयो ।
सनम कठायत, मोडल
जीवनमा धेरै गाईजात्रा भैरहेको हुन्छ । सुरु–सुरुमा बाइक चलाउँदा अनि सुरुवाती स्टेज शोहरूमा निकै गाईजात्रा भएको छ मेरो ।
महेश काफ्ले, गायक
एक समय प्रहरीले कपाल पाल्न रोक लगाएको थियो । त्यही समयमा मैले पछाडिको लामो कपाललाई मसिनो गरी बाटेको अनि गोल्डेन कलर गरेको थिएँ । एकदिन सार्वजनिक ठाउँमा प्रहरीले भ्यान रोकेर मेरो पकेट–पर्स आदि चेक गरेर सोधपुछ गर्न थाल्यो । एकै छिनमा वरिपरिका पब्लिक जम्मा भए, ठूलै अपराधी भए झै भीडले मलाई घेर्यो । कम्ती गाईजात्रा भएन त्यो दिन ।
कमल एकचाइ मगर, निर्देशक
अवार्ड समारोहमा जाँदै थिएँ । अकस्मात कलेजबाट इन्टरभ्युका लागि बोलाइयो । रातो छोटो स्कर्ट अनि उत्ताउलो मेकअपमा दिएको इन्टरभ्यू एकातिर ग्ल्यामरस अर्को तिर आदर्श– जात्रै भयो नि ।
सिर्जना कार्की, गायिका
उहिले गाउँमा हुँदाको कुरा हो । हाम्रो एउटा गाई थियो । घाँस हाल्न म गोठमा पुगेँ । भोकाएको रहेछ, रिसाएर मलाई हान्यो । म तिनहात माथि पुगेँ अनि कान्लामुनि पछारिएँ । यही हो मेरो रियल गाईजात्रा ।
मनोज गजुरेल, कमेडियन
१४–१५ वर्षको उमेरमा साथीभाइले मलाई झुक्याएर नाङ्गै पारी जङ्गलमा छोडेको दिन मेरा लागि साँच्चैको जात्रा थियो ।
राम अविरल, गीतकार