साप्ताहिक संवाददाता
गाईजात्राको मौका पारेर युट्युबमा हास्यव्यंग्यले भरिएका सामग्रीले राम्रै स्थान पाउन थालेका छन् । विगतमा गाईजात्राको अवसरमा भिसिडी निकाल्ने कलाकारहरू अहिले त्यस्ता सामग्री सोझै युट्युबमा अपलोड गर्न थालेका छन् । यो वर्ष तयार पारिएका केही गाईजात्रे सामग्री यस्ता छन् :
तुलसी डिजिटल म्युजिक च्यानलमा जोगिन्दर पानवाला अर्थात् अभिनेता शिवशंकर रिजालको सामग्री समावेश छ । काण्डैकाण्डको सरकार शीर्षकको उक्त सामग्रीमा कलाकार रिजालले व्यंग्यात्मक प्रस्तुतिमार्फत देशका समसामयिक विषयमा व्यंग्य प्रस्तुत गरेका छन् ।
आमा अग्निकुमारी मिडिया शीर्षकको च्यानलमा यसै वर्षको गाईजात्रालाई लक्षित गर्दै ‘तानातान’ शीर्षकको गाईजात्रे हास्य व्यंग्य सामग्री राखिएको छ । करिब ४२ मिनेट लामो उक्त प्रस्तुतिमा टिकटकले ल्याएको विकृति, टिकटकमा नेताहरू, तानातान बैठक, आलाकाँचा बूढाबूढी, अन्तर्वार्तामा हानाहान, दम कि कम, कुर्सी तानातान उप–शीर्षकका सामग्रीहरू समावेश छन् । अभिनेता दमन रुपाखेतीको कथा तथा निर्देशनमा तयार पारिएका ती सामग्रीमा एक दर्जनभन्दा बढी कलाकारले अभिनय गरेका छन् ।
परिधि मिडियाले गाईजात्रालाई लक्षित गर्दै केही भिडियो सामग्री अपलोड गरेको छ । तीमध्ये व्यंग्यकार राजा राजेन्द्र पोखरेलको स्ट्याण्ड अप कमेडीलाई दर्शकले विशेष मन पराएका छन् । ‘गाईजात्रा प्रहसन २०७६–विकासको लहर’ शीर्षकको उक्त प्रहसनमा राजा राजेन्द्रले केही समयअघि प्रस्तुत गरेको आफ्नो एकल स्ट्याण्डअप कमेडी शोका दृश्यहरू समावेश गरेका छन् । यही च्यानलमा दमन रुपाखेतीको निर्देशनमा प्रसारण हुने हास्य श्रृंखला ‘सरी ल...’ को ४१ औं भागलाई गाईजात्रा विशेषका रूपमा प्रस्तुत गरिएको छ ।
साइनिङ नेपालको च्यानलमा ‘मस्ती सरकार’ शीर्षकको हास्य–व्यंग्यात्मक सामग्री समावेश छ जसमा हास्यकलाकार प्रेम राजा लामिछानेले विभिन्न गेटअपमा राजनीतिकदेखि सामाजिक विषयवस्तुमा आकर्षक शैलीमा व्यंग्य गरेका छन् । एक्सन मिडियाले उत्पादन गरेको उक्त प्रस्तुतिमा प्रस्तोता लामिछानेले विभिन्न लोकसनमा पुगेर आफ्ना व्यंग्य सामग्री प्रभावकारी शैलीमा वाचन गरेका छन् ।
हास्य कलाकार कमल गाउँलेले पनि यस पटकको गाईजात्रालाई लक्षित गर्दै आफ्नो १९ औं गाईजात्रे भिडियो तयार पारेका छन् । कलाकार गाउँलेद्वारा आफ्नै च्यानलमा अपलोड गरिएको उक्त व्यंग्यात्मक प्रस्तुतिको शीर्षक ‘गाउँ गाउँमा सिंहदरबार’ राखिएको छ । स्ट्यान्डअप कमेडीदेखि प्रहसनसम्मको शैली अपनाइएको उक्त सामग्रीको लेखन, गायन तथा उद्घोषण कलाकार गाउँले नै गरेका हुन् ।
मिस्टर शंकर क्षेत्री च्यानलमा अपलोड गरिएको गाईजात्रे सामग्रीको शीर्षक ‘जेरी वाचन गाईजात्रा भाग–४’ राखिएको छ । करिब ३३ मिनेट लामो उक्त सामग्रीले करिब साढे ७ लाख भ्यूज पाएको छ । शंकर क्षेत्रीद्वारा निर्देशित यो व्यंग्यात्मक प्रस्तुतिमा बबिता बानियाँ (जेरी) को स्वर सुन्न सकिन्छ ।
परिधि मिडियाको च्यानलमा गाईजात्रा–२०७६ विशेष प्रस्तुति ‘स्वस्ति शान्ति’ अपलोड गरिएको छ । करिब १२ मिनेट लामो उक्त प्रस्तुतिमा अभिनेता दमन रुपाखेतीले पुरेतको भेषमा स्वस्ति–शान्ति गर्दै सामाजिक तथा राजनैतिक व्यंग्य गरेका छन् ।
किल्किले च्यानलमा कलाकार टिकाराम आचार्यले गाईजात्रे प्रस्तुति ‘ओलीको माक्स’ अपलोड गरेका छन् । धुर्वे धुर्वेनी च्यानलमा कलाकार धुर्वेले ‘छोटा कट्टु लगाउनेलाई धुर्वेले खेदो खने’ शीर्षकको गाईजात्रा प्रस्तुति समावेश गरेका छन् ।
नौलो मिडिया च्यानलको गाईजाक्रा–२०७६ विशेष सामग्रीमा कलाकार मुत्ति कँडेलले ‘मुक्ति कँडेलको विरहको गाईजात्रा’ शीर्षकको रमाइलो प्रस्तुति दिएका छन् भने बूढासुब्बा डिजिटल च्यानलमा अभिनेता कमल गाउँलेले गाएका व्यंग्यात्मक गाईजात्रे गीतहरू समावेश छन् ।