करिब एक दशक अघिसम्म काठमाडौंका नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनीमार्गको राष्ट्रिय सभा गृह, कमलादीको प्रज्ञा प्रतिष्ठान तथा जमलको राष्ट्रिय नाचघरमा कलाकारहरूको अलग–अलग समूहले गाईंजात्रा कार्यक्रम प्रस्तुत गर्थे । ती सबै स्थानका गाईंजात्रा कार्यक्रममा दर्शकको उल्लेख्य सहभागिता रहन्थ्यो ।
पछिल्ला फाँच वर्षयता गाईंजात्राको अवसरमा आयोजना हुने हास्यव्यंग्य कार्यक्रमको क्रेज घटेको मात्र छैन त्यस्ता कार्यक्रमको आयोजनामा समेत व्यापक कटौती भएको छ । गत वर्ष नै राष्ट्रिय नाचघरमा एक साताका लागि जम्मा एउटा गाईंजात्रा कार्यत्रम प्रस्तुत गरियो । यो वर्ष त त्यसमा थप कटौती भएर सांस्कृतिक संस्थानले जम्मा दुई दिनका लागि गाईंजात्रा कार्यक्रम प्रस्तुत गर्ने बताएको छ भने अर्को एउटा समूहले सात वटा प्रदेशका अलग–अलग स्थानमा एक–एकवटा गाईंजात्रा कार्यत्रम आयोजना गर्ने घोषणा गरेको छ । गाईंजात्रा महोत्सवको त्रेज यसरी घट्नुको कारण के होला ?
कलाकारको व्यस्तता
कुनै बेला गाईंजात्रा कार्यक्रममा सबैभन्दा रुचाइएको हास्य जोडी थियो मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी । गाईंजात्राका कार्यक्रममा दर्शकहरूको रुचि घट्न थालेपछि मह जोडीले त्यस्ता कार्यक्रमबाट आफूलाई अलग गर्दै जान थाले । दर्शकको क्रेज घट्नुमात्र उनीहरू ब्याक हुनुपर्ने कारण भने होइन । पछिल्ला केही वर्षदेखि मह सञ्चारले चलचित्रको निर्माणलाई गति दिन थालेपछि मह जोडीसहितको समूह नै गाईंजात्रा कार्यक्रममा प्रस्तुत हुन भ्याइरहेको छैन ।
मह जोडीपछि गाईजात्रा कार्यक्रममा रुचाइएको अर्को जोडी हो— दीपकराज गिरी तथा दीपाश्री निरौला । उनीहरूको जोडी पनि विगत केही वर्षदेखि चलचित्रको निर्माणमै व्यस्त छ । यी दुई जोडीबाहेक जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल धुर्मुस, कुञ्जना घिमिरे सुन्तली, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, विल्सनविक्रम राई, मनोज आचार्यजस्ता लोकप्रिय हास्य कलाकारहरू पनि चलचित्रको निर्माण, निर्देशन, अभियन तथा सांस्कृतिक कार्यक्रममा व्यस्त हुँदा गाईजात्रालाई समय दिन सकेका छैनन् । नाम चलेका लोकप्रिय कलाकारहरू नै स्टेजमा प्रस्तुत भएर गाईजात्रा कार्यक्रमलाई समय दिन नसक्ने भएपछि दर्शकहरू प्रेक्षालयमा आउने क्रम स्वतः घटेको हो ।
निम्नस्तरको प्रस्तुति
गाईजात्राका हास्य व्यंग्य कार्यक्रममा प्रस्तुत गरिने प्रहसनमा प्रयोग गरिने दुईअर्थी, छाडा तथा सुन्नै नसकिने भाषाको प्रयोगले पनि दर्शकहरू यस्ता कार्यक्रमबाट विकर्षित भएका हुन् । दर्शकहरूलाई हँसाउने बहानामा कलाकारहरूले अति नै भद्दा भाषा, प्रस्तुति तथा हाउभाउ प्रदर्शन गरेपछि फरिवारलाई लिएर त्यस्ता कार्यक्रम हेर्न जाने व्यत्तिहरू प्रेक्षालयमै रातो–पीरो हुने पर्ने अवस्था विगतमा पटक–पटक सिर्जना भएको थियो । दर्शकलाई हँसाउनकै लागि सुन्नै नसकिने संवाद तथा हेर्नै नसकिने प्रस्तुतिकरण दिन थालिएपछि आमदर्शकले ती कार्यक्रम हेर्न प्रेक्षालयसम्म पुग्ने जाँगर देखाउन छाडे ।
हलको अभाव
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद् भवनमा रुपान्तर भएसँगै काठमाडौंमा सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्ने हलको अभाव हुन थालेको हो । राष्ट्रिय सभागृहले सार्वजनिक कार्यक्रमका लागि महँगो भाडादर तोक्नु तथा गाईजात्राका लागि हल नै उपलब्ध नगराउनु, राष्ट्रिय नाचघरमा पार्किङको समस्या हुनु तथा प्रज्ञा प्रतिष्ठान मर्मतका लागि केही समय बन्द गरिनुले पनि विगत केही वर्षदेखि गाईजात्रा हास्य व्यंग्य कार्यत्रमको आयोजनामा कमि हुनुको कारण हो ।
घट्दो हास्य टेलिश्रृंखलाको क्रेज
अहिले टेलिभिजनबाट प्रसारण हुने हास्य श्रृंखलाकै क्रेज घटिरहेको अवस्थाले पनि गाईजात्राको त्रेज घटाउन सहयोग पुर्याएको छ । कुनै बेला तितो सत्य, जीरे खुर्सानी, मेरी बास्सै, भद्रगोलजस्ता टेलिश्रृंखला लोकप्रियताको शिखरमा रहेका बेला ती श्रृंखलामा अभिनय गर्ने कलाकारको क्रेज पनि अत्यधिक थियो । दर्शकहरू उनीहरूलाई प्रत्यक्ष सुन्न तथा हेर्न गाईजात्राकै प्रतीक्षा गर्थे । सामाजिक सञ्जालको लोकप्रियतासँगै अहिले दर्शकहरूले टेलिभिजनबाट प्रसारण भएका अधिकांश कार्यक्रम युट्युबमै हेर्न थालेका छन् । अझ युट्युबमा अपलोड गरिने हास्यरसका दर्जनौं कार्यक्रमले उनीहरूले एक–एक हप्ता पर्खेर हास्य श्रृंखला हेर्न छाडेका हुन् । यसबाहेक युट्युबमा मात्र अपलोड गरिने विभिन्न वेब सिरिज, हास्य श्रृंखला, रियालिटी शो आदि कार्यक्रमका कारण पनि टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमहरूको टिआरपी घटिरहेको छ । युट्युबमै आफ्नो रुचिका हास्य कार्यक्रम हेर्न पाएकै कारण दर्शकहरू स्टेजमा प्रस्तुत गरिने गाईजात्रा कार्यत्रममा समेत जान छाडेका हुन् ।
कानुनी दबाब
यसबाहेक सरकारले अघिल्लो वर्षको भदौ १ गतेदेखि लागू गरेको मुलुकी संहिताका कारण पनि हास्य कलाकारहरू खुलेर आफ्नो प्रस्तुति दिन हच्किन थालेका छन् । मुलुकी संहिताले व्यक्तिगत तथा गोपनियताको हक सुरक्षित गरेपछि कलाकारहरू खुलेर व्यंग्य गर्न हच्किनु पनि स्वभाविक हो ।