धार्मिक, सामाजिक, ऐतिहासिक एवं सांस्कृतिक रूपले रमाइलो पर्व हो– गाईजात्रा । आजका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारेर आ–आफ्नो इलाकामा परिक्रमा गराइन्छ भने गाईजात्रा पठाउने घरबाट थरिथरिका रोटी, फलफूल पैसा आदि राखेर वर्षको हिसाबले ३ सय ६५ वटा प्याकेट बनाएर सहभागीहरूलाई बाँडिन्छ । यस क्रममा श्रद्धालुहरूद्वारा पनि दूध, फलफूल, जुस, रोटी, दहीका साथै अन्न एवं द्रव्य दान गरिन्छ ।
श्रावण शुक्ल प्रतिपदाका दिन गाईजात्रा मनाइन्छ । १५ औं शताब्दीको गोपालराज वंशावली तथा मल्लकालमा लेखिएको ‘ठ्यासफ’मा गाई वा गाईका रूपमा मानिसलाई सिँगारेर नगर परिक्रमा गरी मनाइने यो पर्वलाई ‘सायात’ भनिएको छ । यसबाट यो पर्व प्राचीनकालदेखि नै मनाइँदै आएको प्रमाणित हुन्छ । नेपाल भाषाको ‘सायात’ (सापारु) शब्दको अर्थ नेपालीमा ‘गाईजात्रा’ भएको बताइन्छ ।
मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने एउटा ‘वैतरणी’ नदी तर्नुपर्छ । गाईको पुच्छर समातेर मात्र वैतरणी तर्न सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ । सांस्कृतिक जीवनका प्राचीनकालदेखि चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा एवं उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको देखिन्छ ।
यो जात्रा निकाल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने तिथिमिति निश्चित नभए पनि एक भनाइअनुसार राजा प्रताप मल्लको समयमा उपत्यकामा बिफरको महामारी फैलियो र थुप्रै सर्वसाधारणको मृत्यु हुनुका साथै प्रताप मल्लको कान्छो छोरा चक्रवर्तेन्द्र मल्लको समेत मृत्यु भएपश्चात् शोकमा परेकी व्याकुल रानीलाई ‘मानिसहरू अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी देखाएर चित्त बुझाउने प्रयासस्वरूप राजाले देशवासीलाई वर्ष दिनभित्र मृत्यु भएकाहरूको नाममा आफन्तहरूले गाईजात्रा निकाली नगर परिक्रमा गराउन हुकुम जारी गरेका थिए ।
संस्कृतकर्मी प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ भन्छन्— राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन चलाएको किंवदन्ती भए पनि नेवार समुदायबाहेक अरूले गाईजात्रा मनाएको पाइँदैन । मल्लकालमा नेपाल मण्डल विशेषगरी काठमाडौँ उपत्यकामा नेवार समुदायको मात्र बसोबास भएकाले गाईजात्रा नेवार समुदायले मात्र मनाउने पर्वका रूपमा विकास भएको पाइन्छ ।
भक्तपुरमा गाईजात्रा निकाल्ने परम्परा गोपालराज वंशावलीअनुसार राजा जयस्थिति मल्लको शासनकालमा सुरु भैसकेको थियो । ललितपुरमा भने बौद्ध परम्पराअनुसार मरेका आफन्तहरूको नाममा गाईजात्राको भोलिपल्ट मतयाः यात्रा गरिन्छ । यो यात्रा राजा गुणकामदेवको राज्यकालमै सुरु भएको देखिन्छ ।
बौद्ध साहित्यको ललितविस्तरमा गाईजात्राका सम्बन्धमा केही प्रसंग उल्लेख छ, जसअनुसार गाईजात्राको परम्परा पुरानो हो भन्ने बुझिन्छ । तर मध्यकालमा यसको स्वरूपमा परिवर्तन आएको हुनसक्छ । यस्तै लिच्छविकालको अभिलेखमा गौ युद्ध उत्सव भनी लेखिएको पाइएकाले लिच्छविकालमा पनि गाईजात्रा मनाइन्थ्यो भन्ने केही इतिहासविद्को भनाइ छ । गाईजात्राका सम्बन्धमा सिल्भाँ लेभीद्वारा लिखित पुस्तक हिन्दू अधिराज्यको इतिहास ‘नेपाल’मा गाईजात्राका सम्बन्धमा लेखिएको छ । भाद्र पद (अगस्त–सेप्टेम्बर) मा गाईजात्रा सुरु हुन्छ । गाईको मुकुन्डो, माला इत्यादि लगाएका मानिसहरू बाटा–बाटामा नाचगान गर्छन् । नेवार परिवारको कुनै सदस्य वर्ष दिनभित्र मरेको छ भने त्यो परिवारले कुनै मानिसलाई गाई बनाई बाहिर पठाउँछन् । गाईको पछि–पछि कुमारी पनि हुन्छिन् । भोलिपल्ट गाईको ठाउँमा बाघको मुकुन्डो लगाई जात्रा निकालिन्छ र यो जात्रालाई व्याघ्राजात्रा भनिन्छ ।
भक्तपुरमा भने आठ दिनसम्म गाईजात्रा मनाउने परम्परा छ । विशेष गरी घिन्ताङकिसीमा केटाकेटी र युवा–युवतीको समूह मिलेर हातमा काठको ज्यावल लिई त्यसलाई आपसमा ठोक्काउँदै अनौठो र रमाइलो किसिमले नाँच्दै नगर परिक्रमा गरिन्छ । यस्तै करिब १५ फिट लामा चारवटा हरियो बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ । तहामचाको शिरमा गाईको चित्र तथा परालको सिङका साथै मृतकको तस्बिरसमेत राखेर उक्त तहामचालाई बाँसको नोल लगाई मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ । संस्कृतिकर्मी प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार भक्तपुरकै तालाकोस्थित कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन् । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रसले भरिएको गीति लीला, रामायण एवं श्रीकृष्ण लीला प्रदर्शन गरिन्छ ।
कीर्तिपुरमा मनाइने गाईजात्रा अन्यत्रको भन्दा अलि भिन्न छ । यहाँ मृतकको नाममा र नयाँ घर बनाएको उपलक्ष्यमा गाईजात्रा निकाल्ने चलन छ । प्रताप मल्लको पालादेखि गाईजात्रा निकाल्ने चलन सुरु भएको मानिए पनि स्थानीय संस्कृतिविद् तथा पुरात्वत्तविद् वसन्त महर्जनका अनुसार यो जात्रा यस क्षेत्रमा लिच्छवीकालदेखि नै प्रचलनमा आएको हो । यहाँ गाईजात्राको मुख्य विशेषता अथवा भिन्नता भन्नु सुकेको छालालाई गोलाकार बनाई घिसारेर ल्याउनु हो, जसलाई धाकः लुइगु भनिन्छ ।
यो कार्यमा संलग्न हुने पात्रहरू बाजा बजाउँदा र नाच्दा निस्कने आवाज एवं नाचलाई नै धेँधँपापा (कसैकसैले ‘झ्याँ झ्याँ पापा’ पनि भन्छन्) नाम दिइएको भनाइ रहिआएको छ । मुख्यतः नाचको अग्रपंक्तीमा विभिन्न मुखुन्डो लगाएका र अनेक प्रकारका सामानहरू बोकेका नर्तकहरू तथा पछिपछि घरमा आफन्तजनको मृत्यु भएको परिवारका सदस्यको सहभागितामा नगर परिक्रमा गरिन्छ । यहाँ गाईजात्राको प्रमुख आकर्षण पनि यही मानिन्छ । अन्यत्र जस्तै पशुपति देवपत्तनमा पनि गाईजात्रा मनाइन्छ । पशुपतिको गाईजात्रा तीन दिन चल्छ ।
आजभोलि काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, बाह्रबिसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, धनकुटा, विराटनगर, पोखरा, पाल्पा, हेटौंडा, वीरगञ्ज, नेपालगञ्ज, बाग्लुङ, अर्घाखाँची आदि सहरहरूमा पनि गाईजात्रा निकालिन्छ भने नेपालबाहिर आसाम, दार्जीलिङ तथा सिक्किममा बसोबास गर्ने नेवारहरूले (केही वर्षअघिदेखि) गाईजात्राको प्रचलन सुरु गरेको पाइन्छ ।