साप्ताहिक संवाददाता
मुलुकभर ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागर गर्ने प्रयास स्वरुप वी विल राईज फाउण्डेसनले सुरु गरेको राष्ट्रव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेञ्ज २०२० को ग्राण्ड फिनाले पोखरामा हुने भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटन मन्त्री विकास लम्साल, स्थानीय पर्यटन व्यवसायी एवं सो सम्बद्ध संघसंस्थाको उपस्थिती रहेको कार्यक्रममा आयोजकले यस्तो घोषणा गरेका हुन् ।
नेपालमा ओझेलमा रहेका विभिन्न सुन्दर स्थानहरुको पहिचान गरेर भिडियो मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनु यो प्रतियोगिताको मुख्य उद्देश्य रहेको जानकारी गराइयो । अन्र्तक्रिया कार्यक्रममा फाउण्डेसनका तर्फबाट परियोजना संयोजक एवं संस्थापक निर्देशक निर्मल श्रेष्ठ, कार्यक्रम संयोजक प्रभात रिमाल, जनसम्पर्क संयोजक एवं कलाकार निर्मल शर्मा सहभागी थिए ।
प्रतियोगिहरुले पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएर पनि ओझेलमा परेका कुनैपनि महत्वपूर्ण प्राकृतिक, सांस्कृतिक सम्पदा, भेषभुषा, जातजातीको पहिचान, खानपान, कलासंस्कृति लगायतका विषयवस्तुमा केन्द्रित रही अधिकतम ५ मिनेटसम्मको भिडियो निर्माण गर्न सक्नेछन् ।
फाउण्डेसनले नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकाले समेत यो प्रतियोगिताको उपादेयता अझ बढ्न पुगेको बताएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल प्राकृतिक रुपमा धनी भएर पनि यसको सही उपयोग गर्न नसकिएको बताए । कुनैबेला पर्यटन मन्त्री समेत रहेका गुरुङले अन्तरक्रियामा बोल्दै भिडियो च्यालेञ्जलाई प्रदेशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले समेत फाउन्डेसनले सुरु गर्न लागेको कार्यक्रमलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख गर्दै यो कार्यक्रम पोखरामा गरिने भएकाले पनि प्रदेश ४ को पर्यटन प्रर्वद्धनमा राम्रो टेवा पुग्न सक्ने बताए ।
२०१९ मा पहिलोपटक आयोजित प्रतियोगितामा सातै प्रदेशबाट उत्साहजनक सहभागिताका साथ १ सय ३२ भिडियोहरु प्राप्त भएका थिए । त्यसमध्येबाट १० विधागत अवार्डका लागि ४७ भिडियो अन्तिम प्रतिस्पर्धामा छनौट गरी काठमाण्डौंस्थित होटल अन्नपूर्ण दरबारमार्गमा भव्य समारोहका बीच अन्तिम प्रतिष्पर्धा आयोजना गरिएको थियो । भ्रमण वर्ष लक्षित २०२० को प्रतियोगीता यसै वर्ष डिसेम्बरबाट सुरु हुने र एकसय दिनको समय दिइने बताइएको छ । १० वटा विधामा दिइने अवार्डको पुरस्कार ५ देखि १ लाख रुपैयाँ सम्म हुने आयोजकले जनाएका छन् ।