गाईजात्रा (रंगमण्डल–३)

- किशोर नेपाल

भाद्र १, २०७६

 

उमेरका अधिकांश दिन बितिसकेपछि बाँकी केही रहँदैन । जीवन थाक्दैमा बितिहाल्ने पनि के हुँदो रहेछ र ? आजबाट प्रारम्भ भएको विखण्डन र विस्थापनमा हिजोका ती दिन हराउनेछन् । म आफैंसँग प्रश्न गर्न सक्दिनँ, मलाई कहाली लागेर आउँछ । हुनसक्छ भने म कुनै यस्तो अचुम्बकीय क्षेत्रमा रहूँ जहाँ उभिन वरपर, यता–उताको कुनै आधार चाहिँदैन । 

मोहिनी, अष्टमंगल, वकिल, नीलु, दुर्गी, इश्वरी र म । म ती तमाम मानिसका आँखा सम्झन्छु– ती आँखा जो–जोसँग मैले दुई मिनेट गफ गरेको छु, चिया पिएको छु अथवा मात्तिएको छु । नशाका उन्मादहरूपछि पनि जो मेरो स्मृतिमा जीवन्त छन् । 

मैले कति अन्धकार प्रश्नको जवाफ दिन सकेको छैन । जस्तो कि एउटा हातले ठर्राको गिलास उठाएर, अर्को हातले मुड्की उज्याऊँदै गरिने राजनीति र त्यसको व्याख्यान, न्याय–अन्याय, क्रमको निर्माण र त्रमहीनता । मार्क्स, हेगल, लेनिन, नित्से । मसँग यी कुनैको पनि जवाफ छैन । नसाले मातेका अनुहारहरूमा देखा पर्ने पीडाको मुखुण्डो कति सार्थक र सक्कली हुन्थ्यो– मलाई थाहा छैन । तथाकथित राजनीतिका सक्रिय कार्यकर्ताहरूले देश, गाउँ र सामान्य जीवनको मैलो र फाटेको राष्ट्रिय कपडालाई कति सुकिलो र महँगो बनाएर पहिरेका छन्– म त्यसको पनि लेखाजोखा गर्न तयार छैन । 

हो, यति नै बेला, म अनेक श्रीमान्हरू सम्झन्छु । सम्झनाले मेरो सर्वाङ्ग घीनको हिलोमा पछारिन्छ । सम्झना त्यस्तो घाउ हुन सक्छ, जुन बाहिरबाट निको भएको देखिन्छ । भित्रभित्रै पाकेर पछि संगीन पल्टिन सक्छ । म साँझ बितेको बहुमूल्य साढे तीन घण्टा सम्झिन्छु । घरमा पस्नेबित्तिकै झरीले निथ्रुक्क भिजेको कमिज फुकालेर निचोर्छु । यौटा छाता किन्न कहिल्यै सकिएको होइन । म वकिललाई सम्झन्छु– जो सनक चढेका बेला दस रुपियाँको कडक नोट बालेर चुरोट सल्काउँथ्यो । हो त, हेड ड्राइभर पनि यस्तै सनकी थियो । भोक लागेकाहरूलाई पेटभर दही–च्यूरा ख्वाएपछि– जब उसको जयजयकारले पशुपतिको ढोकामा निश्चित प्रतिध्वनि उत्पन्न हुन्थ्यो, त्यतिबेला आफ्नो लठ्ठिएको जिब्रोले ऊ सम्पूर्ण इमान्दार शब्द उद्घोषित गर्थ्यो– ‘ए पाजी हो, के भनेको त्यस्तो ? सरकारको जय मनाऊ, सरकारको ! सस्तो दरको सरकारी पेट्रोल साविक दरमा नबेचेको भए म मोरो भाग्यहारा नै रहन्थें । तिमीहरूका बाबुले पनि दही–च्यूरा सुँघ्न पाउँदैनथ्यो, बुझ्यौ ?” 

थाकेको शरीरलाई ओछ्यानमा फ्याँकेर म जबर्जस्ती निदाउने प्रयास गर्छु । प्रयास मात्र हो, अनिद्रा रोगले केही दिनयता ग्रस्त पारेर राखेको छ । यो कोठामा एकदमै मुस्किलले रात बित्छ । जिन्दगी अनावश्यक नांगो र अपवित्र बोझजस्तो लाग्छ । कति उचाल्ने हो बोझको यो भारी । 

विचारले थकित मस्तिष्क एकछिन आँखासँगै झपकिन्छन्– त्यसपछि दिन हुन्छ : होइन बिहान हुन्छ । खण्डित समय भोग्ने मान्छेको यो प्रचलनले बिहान, दिन र साँझ बनाएको छ । ओहो, तस्बिरमा मान्छे कति राम्रो देखिन्छ । तस्बिरमा मान्छे साँच्चै अप्रतिम देखिन्छ । एकनासको उरन्ठेउलो दिन बित्छ । झमझम झम्केर पानी पर्छ । नील काँडाका घारीहरूलाई छिचोलेर हिँडनु असाध्यै दुरुह बन्छ । साँझ पर्ने बेलामा पश्चिमतिरका बादलका गुच्छा डढेर आकाश पहेंलो भएको हुन्छ । एकैछिनपछि बादल फाट्छ । साँझको घाम चारैतिर छितरिन्छ । घामको किरण झ्याल–ढोकाहरूको प्वाल र चिराबाट कोठामा छिरेर भित्तालाई बुट्टे पर्दाजस्तो बनाइदिन्छ । म सहरको थकाइमा सामेल हुन्छु । 

‘के छ ?’ कसैको आवाजले झस्किन्छु । टाउको फर्काएर हेर्छु । ‘थाहा पायौ– बुढिया मरिछन्,’ मेरा लागि ऊ खबर दिन्छ । मलाई एकैपल्ट बिजुलीको नांगो तारमा हात राखेझैं हुन्छ, तर मन बुझाउँछु । ढिलोचाँडो मर्नु त थियो नै, मरिन् । मैले के गर्न सक्छु ? बुढियाले कहिल्यै सुख पाउन सकिनन् । उनको छोरो उत्तम हाम्रो साथी थियो । आमाचाहिँ आँखाभरि आँसु भरेर मूक टोल्हाएकी थिइन् । उनका ती आँसु स्वीकृति, अस्वीकृति, कुन्नि के थिए ! 

आठ महिनासम्म उत्तम फर्केन, न उसको चिठी आयो । अब उसको चिठी आए पनि वा ऊ आफै फर्के पनि त्यसको अर्थ रहनेछैन । अस्ति बुढियालाई उत्पात ज्वरो आएको थियो । त्यसैले पनि हिजो म वकिलसँग पराजित हुन गएको थिएँ कि बुढियाका लागि केही गर्न सकूँ । मैले केही गर्न पाउनुभन्दा अघि नै उनी बितिन् । बुढियालाई अस्पताल लगेर भर्नासम्म गरिदिएको हुँ । बुढिया मरिन्, सायद उनके लास अस्पतालमै छ अथवा अस्पतालबाट घाटमा पुगिसक्यो । 

उत्तम पनि सायद मरिसक्यो, ब्रिटिस सेनामा भर्ती भएको गुर्खा बटालियनको सिपाही आयरल्यान्डको दंगामा मर्‍यो कि अथवा भर्ती नै हुन नपाइ मर्‍यो ? ऊ जीवित भए पक्कै चिठी लेख्दो हो । सम्भवतः उत्तम अझै जीवित छ र खल्तीमा हवाईपत्र किन्ने पन्ध्र पैसासम्म नभएर चिठी लेख्न पाएको छैन अथवा फर्स्ट डिभिजनमा बी.ए. पास भएको उत्तम भैरहवाको कुनै थकाल्नीको होटलमा वेटर भएको छ । 

मैले लास छोपेको कात्रो पल्टाएर हेरिनँ । यसै पनि मलाई मात्र होइन, कसैलाई पनि लास हेर्न राम्रो लाग्दैन । मैले बुढियाको चाउरी परेको अनुहार हेरेर केही चमत्कार हुने पनि होइन । म एकैछिन त्यहाँ उभिएर सोच्न थालें, तर के सोच्दैछु– त्यो म आफैंलाई थाहा थिएन । मेरो सट्टामा उत्तम भएको भए के सोच्थ्यो ? मान्छेका बारेमा केही पनि सोच्न सकिँदैन । बाँचुन्जेल पनि र मरेपछि पनि । ग्यालरीबाट दुइटी नर्स निक्लेर आएपछि म पलङको छेउबाट हटेर अलि पर उभिएँ । कतै यस्तो नहोस् कि तिनीहरूले बुढियाको संरक्षक मलाई ठानून् र यो लास मेरो हिस्सा लागोस् । म चाहेर पनि यस्तो होस् भनेर सोच्न सक्दिनथेँ । मेरो खल्तीमा चार पैसा थिएन । यो वर्षादमा, यो महँगीमा एउटा लास मसानसम्म बोकाउनु र पोल्नु लगाउनु मजस्तो बेरोजगार, लम्फू र फन्टुसका लागि सम्भव नै थिएन । भाग्य नै मानौं, ती नर्सहरूले न त म तिर हेरे, न बुढियातिर नै कुनै ध्यान दिन सके । तिनीहरू सायद माया–प्रेमका कुरा गर्दै थिए, यौवनको उभारमा रहेका तरुनी नर्सहरूले गर्न सक्ने कुरा त्यही हो । 

म त्यहाँ धेरै बेर उभिइनँ । मलाई रिंगटा छुटेर आयो । म फर्किएँ । अब अस्पतालका अधिकारीहरूकै काम हो कि उनीहरू यो लासलाई फ्याकुन, पोलुन् या राखून् । सायद डाक्टरहरूले डेथ सर्टिफिकेट लेख्न बिर्सिएको हो अथवा जाँच्नै बिर्सिएको हो । त्यसो हो भने पनि भरे राउन्डमा आएर जाँचोस्– स्टेथेस्कोप लगाएर र लेखोसः एडमिटेड, इन हस्पिटल आफ्टर डेथ । डाक्टरलाई त्यति फुर्सद होला–नहोला । अस्पतालका महँगो क्याबिनमा सुतेर उपचार गराइरहेका बिरामी बरन्डामा लडाइएका र जनरल वार्डमा राखिएका बिरामीभन्दा ज्यादा महत्वपूर्ण हुन्छन् । क्याबिनका बिरामीको राम्ररी उपचार गर्न सकियो भने अस्पतालबाट घर गएपछि पनि उनीहरूले फेमिली डाक्टर बनाउने सम्भावना शतप्रतिशत रहन्छ । जेसुकै होस् । म फर्किएँ । 

‘तर तैंले र मैले मात्रैले यतिबेला लास उठाउन सम्भव छ र ?’ म सोध्छु । सायद म यो दायित्ववाट पन्छिन खोजिरहेको छु । ‘होइन अरूलाई पनि बोलाएको छु । अस्पतालले लास उठाउनु भनेर चौरमा लडाइराखेको छ,’ उसले भन्यो । 

‘लाससँग हाम्रो सम्बन्ध थियो भनेर कसले भन्यो र ?’ 

‘हेर्न जाँदा म सँग सोधेका थिए, मैले विचार गरें– उत्तमकी आमा आफ्नै आमाजस्तो त हो ।’ रामबहादुर वनमान्छे होइन । दायित्व काँध थापेर आएछ । रिन जुटाएछ । मेरा लागि ‘नाइँ’ भन्ने बाटो थिएन । रामबहादुर र म अस्पतालमा पुग्दा विजय, रामेश्वर र हरिचा लासको छेउमा उभिरहेका थिए । हामीमध्ये लासलाई यौटै बाँसमा बेर्न जान्ने पनि कोही थिएन । जसरी पनि हामीले लास उचाल्यौं । आलोपालो गरेर मसानमा पुर्‍यायौं । बिनाकुनै वैदिक विधान लास आगोलाई सुम्पिदियौ । उत्तमकी आमा बलिरहेकै बेला हरिचा रोयो । हरिचाले आफ्नी आमालाई यसैगरी पोलेको एक वर्ष पनि त भएको थिएन । 

हामी मसानघाटबाट फर्कंदा राति दुई बजिसकेको थियो । पानी छिट्याउन थालेको थियो । हरिचाले भन्यो, ‘तिमीहरू मैकहाँ बस । अलिअलि ‘वासा’ खाउँला । हामी कसैले नाइँ भनेनौं । म त अझै नाइँ भन्न सक्ने स्थितिमै थिइनँ । मनमा लास, धूवाँ, चिताको राँको र सम्झना के–के नै आइरहेको थियो, यद्यपि मेरा बाबु मरिसके, आमा मरिसकिन्, तर पनि मसानमा यसरी आधारातसम्म बसेको थिइनँ ।

जहाँसम्म मेरो कुरा छ, मेरो आफ्नो सम्बन्धमा असाधारण भनेर देखाउन मसँग केही पनि छैन । म जन्मिएको बेला पुष्पवृष्टि भएको थिएन । मेघको गर्जन वा शंखध्वनि पनि सुनिएको थिएन । म पहाडमा जन्मिएको हुँ– सहरका मान्छेहरूको कल्पनामा पहाड भन्नेबित्तिकै मृग नाच्ने उपवन, गुराँस, झरना र मन्द पवनका दृश्य आँखाका अगाडि आउँछन्, तर म जन्मेको ठाउँमा गुराँस, उपवन र झरनाजस्ता कुरा केही थिएनन् । पानीसमेत पेटभरि पिउन मुस्किल पर्ने त्यो ठाउँमा अहिले पनि केही छैन ।

मानिसहरू लँगौटी र दौराजस्तो लामो भोटो लगाउँछन् । आइमाईहरू चोलो लगाउँदैनन् । यौटै फरियाले पूरै शरीर छोपेर हिँड्छन् । यो नेपाल हेर्न आउने पर्यटकलाई देखाउनका लागि आयोजना गरिएको होइन । साहूलाई ब्याज बुझाउँदा–बुझाउँदै मेरो गाउँका मानिसहरूसँग स्वास्नीको छाती छोप्ने कपडा किन्ने पैसासमेत जोगिँदैन । त्यसैले यो आफैं प्रचलन बनेको छ । 

प्रकाशित :भाद्र १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्