साप्ताहिक संवाददाता
गत साता थिएटरमा तीन चलचित्र ‘साइनो’, ‘रे’ तथा ‘काँचुली’ प्रदर्शनमा आए । दुई चलचित्र ‘रे’ र ‘काँचुली’लाई छाडेर हेर्दा चलचित्र ‘साइनो’ले केही हदसम्म दर्शकलाई हलसम्म तान्यो । नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेको यो चलचित्रले प्रदर्शनको अघिल्लो दिन प्रिमियर शो गरेको थियो जहाँ चलचित्र हेर्न चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति थियो । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रका बारेमा केहिले सकारात्मक प्रतिक्रिया दिएपछि ‘माउथ पब्लिसिटी’का कारण हलमा केही दर्शक देखिए । दर्शकले विशेष गरी चलचित्रकी नायिका मिरुना मगरको अभिनय मन पराए ।
वितरक व्यान्केट्सका अनुसार यो चलचित्रले तीन दिनमा देशभरबाट झन्डै ७० लाख ग्रस कलेक्सन गरेको थियो । झन्डै एक करोडको बजेटमा निर्माण भएको चलचित्र साइनोले अर्को सातासम्म लगानी उठाउने निर्माण पक्षको दाबी छ । निर्माण पक्षले चलचित्र साइनोले काठमाडौं उपत्यकाका गोपीकृष्ण चाबहिल, अष्टनारायण बालाजु, गुण सिनेमा ग्वार्को तथा मल्टिप्लेक्स थिएटरहरू सहित उपत्यका बाहिरका चितवन, नेपालगन्ज, बुटवल, धरान, पोखरा, दमक, बिर्तामोड आदि स्थानमा राम्रो व्यापार गरेको जनाएको छ । रमेश थापाद्वारा निर्देशित यो चलचित्रमा राज कुमार, मिरुना मगर, निता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ आदि कलाकारले अभिनय गरेका छन् ।
चलचित्र ‘साइनो’ बाहेकका दुई चलचित्र ‘रे’ र ‘काचुली’ भने दर्शक तान्न असफल भए । दिनेश पौडेलको लेखन तथा निर्देशनको चलचित्र ‘रे’ले प्रेमकथासँगै एक्सनलाई पनि प्राथमिकता दिएको थिए तर त्यसमा दर्शकले खासै चासो देखाएनन् । एक हल सञ्चालकका अनुसार ‘साइनो’मा केही हदसम्म दर्शक देखिए पनि बाँकी चलचित्रलाई सुख्खा नै लाग्यो । चलचित्र रेमा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, क्रान्ति रसाइली, पूर्णिमा लामा, रक्षा गुरागाईं आदिको अभिनय छ ।
चलचित्र ‘काचुली’को अवस्था पनि ‘रे’ को जस्तै रह्यो । शंकर अधिकारी घायलद्वारा निर्देशित चलचित्र काँचुलीले दर्शकको मन जित्न सकेन । यो चलचित्रमा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल तथा शर्मिला शर्मा आदि अभिनय गरेका छन् ।