साप्ताहिक संवाददाता
भाद्र २, २०७६
यस वर्षको मदन पुरस्कार ‘रणहार’ पुस्तकका लागि योगेश राजलाई प्रदान गरिने भएको छ । आईतबार बसेको मदन पुरस्कार गुठीको साधारणसभाले उक्त निर्णय गरेको पत्रकार कुन्द दीक्षितले आफ्नो ट्विट मार्फत जानकारी गराएका छन् ।
त्यसैगरी यस वर्षको जगदम्बाश्री पुरस्कार वरिष्ठ साहित्यकार वैरागी काइँलालाई प्रदान गरिने भएको छ ।
मदन पुरस्कारका लागि गुठीले सानु शर्माको एकादेशमा, विन्दु शर्माको ओक्कल दोक्कल पिपल पात, कुमार नगरकोटीको ज्ञ, छुदेन काविमोको फातसुङ, महेश थापाको मरीचिका, योगेश राजको रणहार र ध्रुव सापकोटाको विचारको लाशलाई मदन पुरस्कारका लागि सम्भावित कृतिका रुपमा सूची प्रकाशित गरेको थियो । गुठीलाई प्राप्त २५७ कृतिहरुबाट छानिएका ति कृति मध्येबाट रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको गुठीले जनाएको छ ।