साप्ताहिक संवाददाता
महाभारतको लडाइँस्थल मानिन्छ जहाँ कौरव र पाण्डवका सेनाले निकै लामो समय लडाइँ लडे । यो लडाइँको चर्चा अहिले पनि उत्तिकै हुन्छ । राजधानीको सर्वनाम थिएटरमा गत साउन २४ गतेदेखि नयाँ कुरुक्षेत्रका रूपमा नाटक ‘अर्को कुरुक्षेत्र’ को मञ्चन भैरहेको छ । फरक यत्ति हो, महाभारतमा कौरव र पाण्डवको लडाइँ चलेको थियो । सर्वनाममा चाहिँ देवगण र राक्षसगणको नभै लेखक र उसले जन्माएको पात्र दाबी गरिएको एक महिलाबीच लडाइँ चलिरहेको छ ।
सर्वनाममा चलिरहेको ‘अर्को कुरुक्षेत्र’की प्रमुख पात्र उषा रजक हुन् जो नाटकको शुरुवातदेखि अन्त्यसम्मै छाएकी छिन् । नाटकको सुरुवातमा हल्का सेतो वस्त्रमा देखिएकी उषा डोरीले बाँधिएकी छिन् । आफू कुनै अन्धकार कोठामा रहेको जनाऊ दिन उनी ‘म को हुँ ? कसले रच्यो मलाई ? कसले यो बन्द पर्खालभित्र बन्दी बनायो मलाई ? कुन युग, कालखण्डको अस्तित्व हुँ म ?’ भन्दै बर्बराउँछिन् । उषा त्यो बन्द कोठामा कहिले आफूलाई सीता, कहिले निर्मला त कहिले दौपदीसँग तुलना गर्छिन् । यही तुलनाका बीच उनी उद्धारकर्ताको प्रतिक्षामा ‘कृष्ण आउने प्रतीक्षामा कतिन्जेल चीरहरण सहेर बसिरहनुपर्ने ?’ भन्दै कराउँछिन् ।
उषाको जीवनमा यस्तो उतारचढाव आउने कथा लामै छ । बाल्यकालमा उषा जति सुन्दर थिइन्, उत्तिकै चञ्चले पनि । बाल्यकालमा उफ्रिँदै गाउँघरमा रमाइरहँदा उनले साथीहरूबाट आफ्नो घरमा आगलागी भएको र आगलागीबाट पिताको मृत्यु भएको सुनेपछि उनी विक्षिप्त हुन्छिन् । आगलागीबाट पिता गुमाएको केही समय पछि उषाकी आमाले आत्महत्या गर्छिन् । आमाको शव उनैले दाहसंस्कार गर्छिन् ।
समाजले बुबाआमा नै गुमाएर एक्लिएकी उषालाईसमेत मर्न प्रोत्साहित गर्छ, तर उनी मर्न डराउँछिन् । उनीमाथि आक्रमणको प्रयास हुन्छ । त्यस्तो प्रयासमा एक युवकले उनलाई जोगाउँछ र उषा उनीसँगै प्रेममा पर्छिन् । यद्यपि त्यो प्रेम पनि लामो समय टिक्दैन किनभने ती युवकको पनि हत्या हुन्छ । युवकको हत्यापछि मात्र उषा नाटकका खलपात्रको फन्दामा पर्छिन् ।
नाटकमा एक लेखकलाई खलपात्रको नाइकेका रूपमा प्रस्तुत गरिएको छ । जो उषालाई आफ्नो कथाको प्रमुख पात्र मान्छ र आफूले भने अनुसार नै चल्न उसले आदेश दिइरहेको हुन्छ, तर उषा भने लेखकलाई ‘तिमी को हौ मेरो कथा लेख्ने ? मेरो कथा म आफैं लेख्छु । किन नाचिरहूँ म तिम्रो इच्छामा ?’ भन्दै लेखकको प्रतिवाद गरिरहन्छिन् । यो वाद–प्रतिवादबाट नै उषा र लेखकको कुरुक्षेत्रको लडाइँ सुरु हुन्छ । त्यो कुरुक्षेत्रको लडाइँमा जीत त उषाकै हुन्छ, तर उषा कसरी जीतकी भागिदार हुन्छिन् भन्ने कुरा थाहा पाउन नाटक हेर्नै पर्ने हुन्छ ।
यो नाटकमा परिकल्पना, लेखन तथा निर्देशक अशेष मल्लको छ । नाटकमा उषाको अभिनय सशक्त छ । उनको शारीरिक हाउभाउ, आक्रामक रूपदेखि नाटकका खल चरित्रसँगको लडाइँ पनि कमसल छैन । नाटकका सहायक चरित्रले पनि आफ्नो क्षमताअनुसार अभिनयमा न्याय गरेका छन् ।
यो नाटकमा उषासहित मनोज महर्जन, मुकेश हमाल, बिन्दु बीएम, रिया भारती, पासलाक्पा शेर्पा, हीरा हमाल, धीरज थापामगर, शोमा कार्की, कसिना बोखिम लिम्बू आदिको अभिनय छ । यो नाटक आगामी भदौ २१ गतेसम्म चल्नेछ । निर्देशक मल्ल झन्डै चार वर्ष पछि यही नाटकमार्फत निर्देशनमा फर्किएका छन् । उनले पछिल्लोपटक निर्देशन गरेको नाटक ‘शकुनीका पासाहरू’ थियो ।