साप्ताहिक संवाददाता
साउन महिनामा धेरै हिन्दू धर्मावलम्बीले शाकाहारी भोजन मात्र गरे, त्यसमा पनि विशेषतः महिलाहरू शिवको आराधना एवं व्रत–पूजापाठ आदिमै तल्लीन भए । यद्यपि भदौ लागेसँगै तिनै हिन्दू नारीलाई तीजको चटारोले छोपिसक्छ । अब महिलाहरूको ध्याउन्न भनेकै तीजको व्रत–पूजापाठसँगै तीजको दर खाने–ख्वाउने हुन्छ । यसपटकको तीजको अवसरमा कस्तो दर खाने भन्ने योजना धेरैले बनाइसकेका पनि होलान् । यदि तीजको दरमा यी दुई परिकार बनाएर खाने–ख्वाउने प्रयास गर्नुभयो भने कतै यो परिकारको स्वाद बिर्सन नसक्ने र चर्चा गर्न लायक हुन्छ कि ?
ढावा मटन करी
मटनको जुनसुकै करी पनि स्वादिलो हुन्छ, त्यसमा पनि यो तीजमा तपाईं ढावा मटन करी तयार गर्न सक्नुहुन्छ । ढावा मटन करी बनाउन एक किलो खसीको मासुलाई आधा किलो पातलो गरी काटिएको प्याज तथा तेलसँग मोल्ने । त्यसमा जिरा, धनियाँ, बेसार, खुर्सानीको धूलो, मिट मसला तथा नुन स्वादअनुसार हालेर थप केही बेर मोली आधा घण्टा म्यारिनेट हुन दिने ।
अब कराही वा कुकरमा तेल तताएर जिरा, सुकेको खुर्सानी, मरिच, लसुन तथा अदुवाको टुक्रा भुट्ने अनि गोलभेंडाको टुक्रा हालेर केही बेर चलाउने । जब गोलभेंडा पाकेजस्तो हुन्छ त्यसमा म्यारिनेट गरिएको मटन हाल्ने र छोपेर सानो आँचमा पकाउने । ढावा मटन करी पकाउने क्रममा बेला–बेलामा चलाइरहनुपर्छ । प्याजबाट आएको पानीका कारण यो मासु हत्तपत्त सुख्खा हुन पाउँदैन । खसीको मासुको स्वादलाई अझ चहकिलो बनाउन मिट मसला ३–४ चम्चा थप्ने र चलाउने । जब मासु पाक्छ तब पहिले हालेको तेल तैरिएर मटनको माथिल्लो भागमा आउँछ । यो मासुको परिकार मसलेदारका साथै त्यत्तिकै स्वादिष्टसमेत हुन्छ । यसलाई रोटी, भात, चिउरा आदिसँग खान सकिन्छ ।
लेमन पिपर चिकेन
तपाईंले कुखुराको मासुका सयौं परिकार खानुभएको होला । यद्यपि यो मुसलमानी परिकार धेरैले घरमा नपकाएका हुन सक्छन् । यो परिकारको स्वाद चिकेनका अरु परिकारको तुलनामा फरकसमेत हुन्छ ।
लेमन पिपर चिकेन बनाउन कुखुराको मासुको ठूला–ठूला टुक्रालाई बीचमा मसला राम्रोसँग छिरोस् भनेर हल्का चिर्ने । यसरी चिरिएको कुखुराको मासुमा दही, कागतीको रस, मरिचको धुलो, अदुवा र लसुनको पेस्ट, नुन तथा धनियाँ हालेर राम्रोसँग मोल्ने अनि आधा घण्टा छोपेर राख्ने । प्यानमा ४–५ चम्चा तेल तताउने र त्यसमा मरिचको १०–१५ गेडा, दालचिनीको टुक्रा, ल्वाङ अनि सुकुमेल फुराउने । अब त्यसमा स–साना टुक्रा बनाइएको लसुन, अदुवा तथा हरियो खुर्सानी हाल्ने । केहीबेर चलाउँदै पकाएपछि म्यारिनेट गरिएको चिकेन हाल्ने । छोपेर पकाएको १०–१५ मिनेट भएपछि मासुलाई फर्काउँदै पकाउने । यसरी पकाउने क्रममा चिकेन रोस्ट हुन्छ र गोल्डेन ब्राउन कलरको देखिन्छ ।
त्यसपछि त्यसमा एक कचौरा पानीमा दुई चिया चम्चा कर्नफ्लोर घोलेर हाली पकाइरहने । त्यसक्रममा दुई चम्चा फ्रेस क्रिम, मरिचको धूलो, ठाडो गरेर काटिएको खुर्सानी र एक चम्चा बटर पनि हालिदिने अनि अन्त्यमा हरियो धनियाँ छर्कने । कागती र दहिले हल्का अमिलो बनाएको चिकेनको यो परिकार रोटी, भात तथा चिउरासँग खान मिल्छ ।