साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘पानीफोटो’ यहि भदौ १३ गतेबाट छायांकनमा जाने भएको छ । खगेन्द्र लामिछानेले निर्देशन गर्ने यो चलचित्र अहिले हामी प्रि–प्रोडक्सनको अन्तिम चरणमा रहेको छ । भदौको १३ गतेबाट सुटिङ् सुरु गर्ने निर्देशक खगेन्द्रले बताएका छन् ।
काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा छायांकन हुने यो चलचित्रले छोराको पर्खाइमा बसेका बाबु–आमाको भावनालाई पर्दामा प्रस्तुत गर्ने छ । खगेन्द्र भन्छन्– ‘ द्वन्द्वकालको पृष्ठभूमिमा बन्ने यो चलचित्रले १५ वर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बुवा–आमाको कथा बोकेको छ ।’
‘बदशाला’, ‘टलकजङ भर्सेस टुल्के’, ‘पशुपति प्रसाद’, ‘धनपती’, ‘डमरुको डन्डिबियो’, ‘जय भोले’ लगायतका चलचित्रमा अब्बल अभिनय गरेको खगेन्द्रले यहि चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्र ‘पानीफोटो’को कथा पनि खगेन्द्रलेनै लेखेका हुन् ।
चलचित्रमा रविन्द्र बज्रचार्य र रोजिना सिटौलाले लगानी गर्ने छन् । खगेन्द्रसहित सुनिल पोखरेल, निशा शर्मा, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, आशान्त शर्मा, माओत्से गुरुङ्ग लगायतले चलचित्रको शिर्ष भूमिकामा रहेर अभिनय गर्ने तय भएको छ ।