आधुनिकता भनेको सोच हो, पहिरन होइन । लुगा फुकाल्दैमा र जुल्फी पाल्दैमा मोडल भइँदैन । मकै–भटमास र ढिँडो खाँदैमा पाखे भइँदैन । लोकदोहरी गाउँदैमा गाउँले र डिस्को जाँदैमा सहरिया भइँदैन । अरूको पनि चाखौं, तर आफ्नोलाई रछ्यानमा नफालौं । शरीरमा मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन ल्याऊँ । अरूको देखासिकी गर्दागर्दै ऐनामा आफ्नै अनुहार नचिनिएला, बेलैमा होस गरौं ।
समय परिवर्तनशील छ । हिजो जे कुरा सुनेर देखेर ओहो ! भनेर जिब्रो काढिन्थ्यो त्यो कुरा आज सामान्य लाग्छ । मानिस र समाजको पाचनशक्ति समयसँगै बढ्दै जान्छ । भूमण्डलीकरण, प्रविधिको प्रयोग, सञ्चारमाध्यमको तीव्र विकास एवं स्थानान्तरण आदिका कारण मानिसको जीवनशैलीमा व्यापक परिवर्तन देखा पर्न थालेको छ ।
गाउँघरमा हिजो छोरीलाई समेत पाइन्ट लगाउन नदिनेहरू आज बुहारीले लगाएको समेत सहने भएका छन् भने जिन्दगीभर धोती बेरेका आमा–काकीहरूसमेत कुर्ता–सुरुवालमा सजिन थालेका छन् । समयसँगै मानिसमा चेतनाको विकास हुन्छ । कहिले देखेर सिकिन्छ भने कहिले भोगेर । पहिले छोराछोरी बा–आमा भेट्न विदेश वा सहरबाट गाउँ जान्थे भने अचेल बा–आमाहरू छोराछोरी भेट्न सहरबजार र देशविदेश आउजाउ गर्नुपर्ने बाध्यताको सिर्जना भएको छ । त्यसरी डुल्दा–हिँड्दा बा–आमाहरू वा अघिल्लो पुस्ताको पनि चेतनामा, सोचमा परिवर्तन आउँछ । सहरतिर यस्तो हुँदो रै’छ, विदेशतिर यस्तो लाउँदा रै’छन्, खाँदा रै’छन्, यस्तो सोच्दा रै’छन् भन्ने कुराको प्रभावले उनीहरूको पनि दृष्टिकोण बदलिन्छ । आफूले सबै कुरा अवलम्बन गरिहाल्ने हिम्मत नगरे पनि पछिल्लो पुस्ताले गरेको, लाएको, खाएको कुरालाई सहज रूपमा लिने तथा स्वीकार गर्ने बानी बस्छ ।
हाम्रो समाजको आफ्नै खाले विशेषता र सुन्दरता छ । सबै अरूकै राम्रो, हाम्रोचाँहि सबै पुराना तथा रुढिवादी भन्ने हुँदैन । अरूको देखासिकी गर्नेजति आधुनिक, आफ्नो संस्कार मान्नेजति पाखे, पुरातनवादी भन्ने भूल गर्नु हुँदैन । लुगा छोटो लगाउँदैमा, प्वाल परेको, टालेको लगाउँदैमा आधुनिक र शरीर ढाक्ने, तडकभडक नगर्ने जति पछौटे भन्ने हुँदैन । कसले के–कस्तो लगाउने भन्ने कुरा उसको निजी चाहना र स्वतन्त्रताको कुरा हो । कसैलाई छोटो सुहाउँछ, कसैलाई लामो, यो शरीरअनुसार पनि हुन्छ । सामाजिक सञ्जालमा धेरैले ख्याल गरेको हुनुपर्छ त्यही मान्छे आफ्नो गाउँठाउँमा हुँदा साधारण पहिरन र सोझो तवरको रहनसहनमा देखिँदै आएकोमा विदेश पुगेपछि अनौठा, छोटा र समाजको आँखामा भद्दा लाग्ने पहिरनमा प्रस्तुत हुन हिचकिचाउँदैन ।
ए यो पनि सोझो, सोझी भनेको त उस्तै पो रै’छ, ओहो ! यो बुढेसकालमा पनि के ला’को होला, कस्तो लाज पचा’को होला भनेर कुरा काटेको सबैले सुनेकै हुनुपर्छ । खासमा धेरै मानिसले आफ्ना कारणले असहज परिस्थित ननिम्तियोस् र अनावश्यक आलोचना सहनु नपरोस् भनेर पनि समाजको पाचन क्षमताअनुसारकै पहिरन लगाइदिन्छन् र आफनो समाजभन्दा पर पुगेपछि आफूले दबाएर राखेको इच्छा पूरा गर्छन् । अरूले पनि उस्तै लगाएको र कुरा काट्ने मानिस पनि नभएपछि आफूमा पनि हिम्मत बढ्छ र उनीहरूले सजिलै त्यसलाई वरण गर्छन् ।
पहिले बुहारीहरूले सासू–ससुराको अगाडि तल कुर्कुच्चासम्म र माथि टाउकोसम्म ढाकेर बस्नुपर्थ्यो, तर आजकाल बुहारीहरूले हाफ पाइन्ट लगाएर हिँडेको र काम गरेको तिनै सासू–ससुराले हेर्नुपरेको छ । आजकाल तेल भिसामा अर्थात् छोराछोरीका सन्तान हेर्न–स्याहार्न धेरै आमाबाबु, सासू–ससुरा विदेश पुग्छन् जहाँको जीवनशैली र आफ्नै छोराबुहारी, छोरीज्वाइँको जीवनशैली एवं लवाइख्वाइ देखेर छक्क पर्दै फर्कन्छन् । घरमा हुँदा सिन्को नभाँच्ने छोरो वा ज्वाइँ विदेशको आफ्नो घर–कोठामा भाँडा सफा गरिरहेकोदेखि लिएर हरकुरामा बुहारीलाई सघाइरहेको भेटिन सक्छ, त्यसैगरी छोरी–बुहारी आधारातमा काम गरेर फर्किरहेकी, छोटा लुगा लगाइरहेकी र सबैका अगाडि खुलेआम सहजै रक्सी पिइरहेकी फेला पर्न सक्छे । यस्तो दृश्यले बा–आमाको सनातन मान्यता तथा शास्त्रीय सोचमा ठूलो घनले बेस्मारी हिर्काउँछ, तर केही समय बस्दा, अरूको पनि देख्दा त्यो त त्यहाँ त जसले पनि गर्ने रै’छन्, आफ्नाले मात्र होइन रै’छ भन्ने पर्छ र सामान्य लाग्दै जान्छ ।
नेपालबाट विदेशमा पढ्न गएका वा काम गर्न गएका धेरै युवायुवती सहजै एउटै फ्ल्याटमा विवाह नगरी खर्चबर्च बाँडेर खुला सम्बन्धमा बसेको पाइन्छ । एक्लै बस्दा आर्थिक भार पर्ने तर सँगै बस्दा सजिलो हुने तथा विचार मिलेपछि सुख–दुःख बाँडेर बस्न पनि सजिलो हुने भएपछि सहज हुन्जेल सँगै बस्नु विदेश र सहरबजारमा समेत अनौठो कुरा रहेन । महँगी र सहरिया जीवनशैलीमा टिक्न यो कतिको रहर होला भने कतिपयको बाध्यता पनि हुन्छ । विवाहअघि नै अन्तरंग सम्बन्ध रहनु अब कुनै आश्चर्यको कुरा रहेन । सहरमा अब त २० वर्ष पुगेको कसैले म कुमार वा कुमारी छु भन्यो भने हँसीमजाकको पात्र र असक्षमता वा अयोग्यताको नजरले हेर्लान् भन्ने पिरलो भैसकेको छ ।
नाम चलेका तर अविवाहित नारी कलाकार वा अरूले समेत म कुमारी छैन भनेर अन्तर्वातामा बिनाहिचकिचाहट भन्न सक्नु र समाजले त्यसलाई सजिलै पचाउनु समाजमा आएको ठूलो बदलाव हो । पहिले भए अब यसको विवाह हुँदैन, यसले घर–परिवारको इज्जत फाली भनेर रँडाको चल्थ्यो । आफ्नै घरकाले, आफ्नै छोराछोरी र बुहारीहरूले गरेपछि अरूको कुरा काट्दै हिँड्नु पनि भएन । सहरीकरण र भूमण्डलीकरणको प्रभावले अघिल्लो पुस्तालाई तैं चुप मैं चुप बनाइदिएको छ । पहिले विवाहपछि मधुमास मनाइन्थ्यो तर अहिले प्रेमी–प्रेमिका नै खुलेआम विदेश वा देशभित्रै घुम्न जाने र सामाजिक संजालमा प्रदर्शन गर्ने कुरा पनि सामान्य भैसकेको छ । विवाहअगावै केटी केटाकोमा गएर बस्ने र केटा पनि केटीकोमा गएर बस्ने चलन पनि भित्रिइसकेको छ । यी सबै खुला समाजका उपज हुन् ।
मानिसहरू उदाङ्ग हुँदैछन् र समाज मानी–नमानी, जानी–नजानी उदार हुँदैछ । छोटो लगाउनु नै आधुनिक हुनु हो, अरूको जस्तै खाना खानु र देखासिकी गर्नु नै सहरिया, सभ्य भएँ भन्नु हलो काटेर मुङ्ग्रो बनाएजस्तै हो । आफ्ना पहिरन र संस्कारजति सबै मासेर, नासेर आफ्नोपनलाई हेंला गरेर, पुरातन भनेर अरूको राम्रो भन्दै हिँड्दा हामी एक दिन नाङ्गेझार हुनेछौं । न हामी उनीहरूजस्तो देखिनेछौं, न आफूजस्तो हुनेछौं । आफ्नो भन्ने केही बाँकी नभएपछि केही पुस्तापछि हाम्रा सन्तति पहिचानविहीन हुनेछन् । हाम्रा संस्कार, रहनसहन, खानेकुरा, लाउने कुरा सबै लोप हुनेछन् र हामी बजारका दास हुनेछौं ।
आधुनिकता भनेको सोच हो, पहिरन होइन । लुगा फुकाल्दैमा र जुल्फी पाल्दैमा मोडल भइँदैन । मकै–भटमास र ढिँडो खाँदैमा पाखे भइँदैन । लोकदोहरी गाउँदैमा गाउँले र डिस्को जाँदैमा सहरिया भइँदैन । अरूको पनि चाखौं, तर आफ्नोलाई रछ्यानमा नफालौं । शरीरमा मात्र होइन, सोच र व्यवहारमा पनि परिवर्तन ल्याऊँ । अरूको देखासिकी गर्दागर्दै ऐनामा आफ्नै अनुहार नचिनिएला, बेलैमा होस गरौं ।
उदार हुने नाममा यति उदाङ्ग पनि नबनौं ताकि देखिन बाँकी र देखाउन लायक केही बाँकी नरहोस् !