साप्ताहिक संवाददाता
२०३६ सालमा बाराबाट काठमाडौंको रात्री बस समातेर काठमाडौं झर्दै गर्दा डा. डिआर उपाध्यायलाई सायदै लागेको होला आजको जस्तो समृद्ध जीवन बाँचौला भन्ने । मनभरी उति साह्रो रंगीन सपना नभए पनि भर्खरै स्कुल लेभलको पढाई सकेर काठमाडौं हानिएका उनमा केहि गर्ने हुटहुटी भने ठूलै थियो । आफ्ना पिताको प्रसस्त सम्पती भएपनि उनलाई आफ्नालागी आफैले गर्नु पर्छ भन्ने भावनाले संघर्षशिल र मेहनती बनायो । त्यहि मेनत र लगावका कारण आज उनी अब्बल ब्यक्तिहरुको सुचिमा आफूलाई उभ्याउन सफल छन् ।
सानैदेखि लेखनमा असाध्यै रुची राख्ने डा. डिआर उपाध्यलाई लेखकका रुपमा समाजमा आउन भने लामो समय लाग्यो । पढाई, जीवन र जागिरलाई समृद्ध बनाउँदा बनाउँदै उनको ध्यान परिवारमा गयो । २ सन्तानका पिता उपाध्ययले लेखनमा घोत्लिएर जिम्मेवार पिताको भूमिका निर्वाह गर्नबाट टाढा रहन पनि सकेनन् । उनी आफ्ना सन्तानको लालन पालन र शिक्षा दिक्षासँगै जागिरमा केन्द्रित भए ।
उनी लेखनमा देखिएरै आएको धेरै भएको छैन् । तर, उनका कृतिलाई हेर्ने हो भने दसकौँदेखि निरन्तर लेखनमा रहेका मान्छेहरुका भन्दा कम छैनन् । उनले एकै पटक सात एल्वम सार्वजनिक गरेरे नेपाली संगीतको इतिहासमै एक रेकर्ड कायम गरेका थिए । लेखन उनको सोख हो । उनी भन्छन् ‘गीत लेखेर म आफूलाई सन्तुष्ट गराउँछु ।’ उनलाई हिजोआज एक दिन लेख्न भ्याएनन् भने एक प्रकारको सकस हुन्छ । नलेखेको दिन उनलाई के छुटाए, के गुमाए जस्तो पिरलोले साताउँछ ।
लेखेनका थुप्रै विधा मध्ये उनलाई गीत निक्कै प्रिय लाग्छ । समाजका विविध घटनाक्रमलाई छोटकरीमा अभिव्यक्त गर्न सक्ने भएर पनि उनलाई गीतले अलि छिटो प्रभावित पारेको हो । त्यसोत उनको गीत लेखनले पनि उनलाई राम्रो साथ दिएको छ । गीत सार्वजनिक गर्न लागेदेखिनै उनको अलग खालको लोकप्रियता छ नेपाली सांगीतिक क्षेत्रमा । वर्ल्ड रेकर्ड कायम गर्ने देखि वर्ष गीत पुरस्कार तथा विभिन्न अवार्डहरुले निरन्तर उनको बाटो पछ्याईरहेका छन् ।
धेरैले आमालाई सम्बोधन गरेर लेखेका गीत लोकप्रिय हुँदै गर्दा उनले पीताको संघर्ष र त्यागलाई समेटेर एक गीत सार्वजनिक गरे ‘सन्तानको शिर उठाउन’ । यो गीतले पनि फरक खालको लोकप्रियता हासिल गर्यो ।
उनको लेखनको विधा गीत मात्रै होईन् । कृतिकै रुपमा पनि उनले अहिले सम्म ९ वटा उपन्यास सार्वजनिक गरिसकेका छन् । ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ उनका प्रकाशित उपन्यास कृति हुन् । आफ्ना सम्पूर्ण उपन्यासका पाक्र र घटनात्रमहरु यथार्थ धरातलका भएको उनको भनाई छ ।
जीवनको लामो समय अर्थ उपार्जनको क्षेत्रमा व्यतित गरेका भएता पनि उनलाई आफूले पाएको यो सम्मान र मायाका अगाडी हिजोआज फिक्का लाग्ने रहेछ आर्थिक पाटो । जीवन त अरुकै रिमोट कन्ट्रोलबाट चल्ने चिज रहेछ । जीवनप्रतिको हाम्रो जिज्ञासामा उपाध्याय भन्छन् –‘हामी त एक रंगमञ्चका कलाकार हौँ । आफ्नो भूमिका निर्वाहा गर्न संसाररुपी रंगमञ्चमा आएका हामीले हर कुनै हातमा आफ्नो जिम्मेवारी पुरा गर्नु पर्छ । आफूले इमान्दार भएर कर्म गर्नु पर्छ । फल त हाम्रो हातमा छैन् ।’ यो जीवन बाँच्ने क्रममा अरुलाई दुःख नदिईकनै कसरी आफू खुशी रहने भनेर कदम चाल्नु पर्ने बताउँदै उनी भन्छन्– ‘हामीले खुशी जीवन बाँच्दै गर्दा हाम्रो खुशी जीवनका लागि अरु कोहि दुःखी हुनु पर्यो भने त्यो भन्दा नमिठो केहि हुन्न जीवनमा ।’
आफ्नै आयु बोकेर हिडेको यो नश्वर शरीरको आयु सक्किनु अघिनै यो समाजका लागि केहि गर्न सके मात्रै जीवनले सार्थकता पाउँने उपाध्यायको भनाई छ । तर, समाजका लागि केहि कृति गर्ने चक्करमा जीवनलाई असहज तरिकाले सोच्न पनि नहुँने रहेछ । यो उनले बाँचेको जीवनको अनुभव हो । उनी भन्छन् ‘सबै मानिसका आ–आफ्नै बाँच्ने, हाँस्ने तरिका हुन्छन् । आफूले बाँचेको जिन्दगी आफूनिरको अर्को मान्छेले बाँचेको जस्तै भएन भनेर सोच्न थाल्यो भन्यो आफ्नो अस्तित्व बाँकीनै रहन्न । आफ्नै फरक अस्तित्वका लागि पनि आफूले फरक जीवन बाँच्नु पर्ने हुन्छ ।’ प्रेमलाई भगवानको अमृत ठान्ने यि गीतकारले थुप्रै मायाका गीत पनि लेखेका छन् । सरल भाषा शैलीमा गीत सिर्जना गर्ने उपाध्यायको प्रेम जीवन पनि निक्कै सरल छ ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सकुलुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड र बज्र वल्ड रेकर्डसको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । उनको लेखनका लागि देशमा पनि विभिन्न सम्मान गरिएको छ । गीतकार संघ नेपालको नवौँ वार्षिकोत्सवमा उनलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत गरिएको थियो ।