साप्ताहिक संवाददाता
गायक रामकृष्ण ढकाल तथा उनकी पत्नी नीलम शाहले करिव ५ करोड रुपैयाँ ऋण नतिरेको भन्दै ललितपुरस्थित श्री लालीगुराँस सहकारीले एक दैनिक पत्रिकामा सार्वजनिक सूचना निकालेपछि गायक ढकाल सञ्चारमाध्यममा आएका छन् ।
गायक ढकालले ४ वर्षअघि नै उक्त ऋण सल्टाइसकेकाले अहिले आएर पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको गुनासो गरेका छन् । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्ने खालको सन्देश छैन । उक्त मुद्दामा अदालतबाट ऋण तिर्न बाँकी नरहेको फैसलासमेत भैसकेको गायक ढकालको जिकिर छ । गायक ढकालकी श्रीमती नीलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट १ करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् ।
उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि २०७० सालमा सहकारीले धितोमा राखिएको घर १ करोड ५० लाख रुपैयाँमा लिलाम गरेको बताइए पनि सहकारीको सूचनाअनुसार ढकालका नाममा अहिले २ करोड ३० लाख ९७ हजार ७ सय ६१ रुपैयाँ तथा उनकी श्रीमती नीलमको नाममा २ करोड ६२ लाख २४ हजार ८९ रुपैयाँ गरी करिब ५ करोड रुपैयाँ ऋण देखिन्छ ।