साप्ताहिक संवाददाता
भाद्र ६, २०७६
चिनियाँ प्रविधि कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम हार्मोनी ओएस सार्वजनिक गरेको छ । उक्त अपरेटिङ सिस्टमलाई चीनमा होङमेङ भनिए पनि यसको ग्लोबल नाम भने हार्मोनी ओएस राखिएको छ । अमेरिकी कम्पनी गुगलले एन्ड्रोइड चलाउन प्रतिबन्ध लगाएसँगै हुवावेले चीनमा सम्पन्न डेभलपर कन्फ्रेन्समा आफ्नै अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो ।
प्रतिबन्धसँगै हुवावेले अमेरिकी बजारमा आफ्ना कुनै उत्पादन बेच्न पाएको छैन । हुवावेले हार्मोनी ओएस बहु डिभाइस कनेक्ट हुने बताएको छ । यो सिस्टम स्मार्टफोन तथा अन्य होम डिभाइसमा पनि प्रयोग गर्न सकिनेछ । हार्मोनी ओएस इन्टरनेट अफ थिङ्सको एक भागका रूपमा उपलब्ध हुने कुरा बताउँदै कम्पनीले यो सिस्टम इन्टरनेटबाट चल्ने हरेक डिभाइसमा प्रयोग हुने जानकारी दिएको छ ।