साप्ताहिक संवाददाता
सवारी साधनको भव्य मेला अर्थात् नाडा अटो शो–२०१९ भदौ १० गते प्रारम्भ हुँदैछ । भदौ १५ गतेसम्म चल्ने नेपालको सबैभन्दा ठूलो यो अटो शोमा १ सय ६० वटा स्टल तथा ब्लकहरू रहने आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । यो प्रदर्शनीमा सवारी साधनबाहेक तिनका पार्टपुर्जा र विभिन्न सेवाहरूसमेत उपलब्ध हुनेछन् । चाडपर्वको पूर्वार्द्धमा आयोजना हुन लागेको यो शोमा सवारी साधन व्यवसायी, ग्राहक तथा अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराइने बताइएको छ ।
१४ औं संस्करणको यो अटो शोमा २३ ब्रान्डका चारपांग्रे सवारी साधन, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, ९ ब्रान्डका टायर, ५ ब्रान्डका ब्याट्री, १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनी तथा १३ वटा वित्तीय संस्था सहभागी हुँदैछन् ।
नाडा अध्यक्ष शम्भुप्रसाद दाहालले गत वर्ष ७१ ब्रान्ड सहभागी भएकोमा यो वर्ष ९५ ब्रान्ड सहभागी हुने बताए । गत वर्ष स्थान अभावका कारण वित्तीय संस्थाहरू अटो शोमा सहभागी भएका थिएनन् । यसपटक भृकुटीमण्डप बगैंचासमेत प्रदर्शनी स्थलका रूपमा प्रयोग गरिनेछ भने आवतजावतलाई सहज बनाउन अस्थायी ओभरहेड ब्रिजको समेत व्यवस्था गरिनेछ ।
अवलोकनकर्ताहरूका लागि २ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको यो मेलामा विद्यार्थीहरूलाई १ सय ५० रुपैयाँमै टिकट प्रवेश दिइने बताइएको छ ।
यस पटकको अटो शो थप व्यवस्थित हुनेछ
अनुपकुमार बराल
सचिव तथा प्रवक्ता, नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल
यस पटकको अटो शोमा कस्ता सवारी साधन उपलब्ध हुनेछन् ?
नाडा अटो शोमा १ सय ६० वटा स्टल तथा ब्लक रहनेछन् । सवारी साधनबाहेक तिनका पार्टपुर्जा र विभिन्न सेवाहरू समेत उपलब्ध हुनेछन् । अटो शोमा सवारी साधन व्यवसायी, ग्राहक एवं अटोमाबाइलसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा संलग्न सबैलाई उत्साहपूर्वक सहभागी गराउने योजना छ ।
पहिलेका वर्षको तुलनामा यस पटकको अटो शो के–कति कारणले फरक हुनेछ ?
प्रदर्शनीलाई बढी जानकारीमूलक, सेवामूलक एवं ग्राहकमुखी बनाउन विक्तीय सेवा, बित्रीपछिको सेवा तथा बिमासम्बन्धी छुट्टाछुट्टै स्टलहरू रहनेछन् । प्रदर्शनीमा अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता रहनेछ ।
अटो शो कतिले अवलोकन गर्ने अपेक्षा छ ? सहभागीहरूका लागि के–कस्ता सुविधा छन् ?
६ दिनसम्म चल्ने यो शो ७५ हजारले अवलोकन गर्ने अपेक्षा गरेका छौं । प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरू मध्येबाट भाग्यशाली विजेतालाई २०० सीसी क्षमताको जीपीएक्स जेन्टलमेन मोटरसाइकल उपहारको व्यवस्था गरिएको छ ।
विशेष आकर्षणका रूपमा कस्ता सवारी साधन हुनेछन् ?
यस पटक विभिन्न कम्पनीले नयाँ सवारी साधन प्रदर्शन गर्नेछन् । विभिन्न नयाँ कम्पनी पनि भित्रिएका छन् । विभिन्न कम्पनीले ल्याउने विद्युतीय सवारी पनि मेलाका आकर्षण हुनेछन् ।